गीत भावमा झंकारको राग

समीक्षा

गीत भावमा झंकारको राग
सुन्नुहोस्

गीतसंगीतको सुरुवात कहिलेदेखि भयो, भन्न कठिन छ। तर, गीतको त्यो राग र आलाप जीवनको अभिन्न अंग बनेको छ। यो एक रोमाञ्च, पीडा वा विछोडमात्र होइन, हाम्रो गायन कलाको अद्भुत चमत्कार पनि हो। जहाँ नचाहेर पनि हराउँछन् मानिसहरू प्राकृतिक संगीतको घना जंगलभित्र। जहाँ हरेक शब्दले बोल्छन् भोगाइका विम्बहरू आफैंलाई झंकृत गरेर।

शब्दमा अर्थको महत्त्व हुन्छ। ‘रिस’ शब्दलाई उल्टो बनायो भने ‘सरी’ हुन्छ। फरक छ नि हैन ? यस्तै शब्दको खेलमा अर्थको मिहिन भूमिका खोज्ने लेखकबारे हो यो पुस्तक। जो मैले बाल्यकालमा जुँगाको रेखी केलाउँदै गर्दा ‘फैलियो माया दूबोसरी’ गीतबाट सर्वाधिक चर्चा कमाएका गीतकार थिए। उनै त्रिविक्रम पाण्डेको पछिल्लो गीतसंग्रह हो, अंशियार। पढ्नु र शब्दलाई बुझ्नु फरक कुरा हुन्। कतै मिथक। कतै बक्रोक्ति। कतै भावभंगी। अहो ! म त आफैं हराउँछु शब्दको महासागरमा। जीवनको परिधि कसरी आउँछ, भन्न सकिन्न। तर, बहारको प्रतीक्षा गरिरहेको मनलाई बहारले नै लुट्यो भने कहाँ गुनासो गर्ने कहाँ गएर न्याय माग्ने ?
खडेरीले कुट्यो मलाई झरीले नि कुट्यो

पतझरको के कुरा मलाई बहारले लुट्यो 

संघर्ष एउटा निरन्तर प्रक्रिया हो। मानिस एउटा प्रक्रियामा पुगेपछि विगतलाई बिर्सन्छ। अनि एकाएक सुगन्धित फूलमा रूपान्तरित हुन्छ र बिर्सन्छ काँडाको बेरबारबाट सुगन्धमा रूपान्तरण भएको। 
यही विचारलाई यहाँ प्रस्तुत गरिएको छ।
सफलता नै जीवन ठान्ने मान्छे गर्छ भूल
कति सुन्दर काँडाबीच फुलेको त्यो फूल

प्रविधिको दुनियाँमा बजारमा पाइने सुगन्धहीन प्लास्टिकका फूलजस्तै जताततै आडम्बरी र देखावटीपनको प्रभुत्व बढिरहेको छ। योबाट सचेत हुन धनको नाता र कागजी फूल चिन्न गरिएको अनुरोध साँच्चै गजवको छ। मानिस सामाजिक प्राणी अझ चेतनाका हिसाबले भन्ने हो भने सर्वश्रेष्ठ पनि फेरि हाम्रो स्वभाव कस्तो छ ? यी शब्दबाट बुझौं :–
अजर–अमर नाता हुन्छ मनसँग मनको
टिक्दैन नाता दिगो स्वार्थी साइनो धनको 

 प्रकृतिको आफ्नै रीत हुन्छ। उसले आफ्नो पराया कसैलाई चिन्दैन। चिन्दछ भने केवल आफ्नो समयचक्रलाई हो। फेरि यही चक्रमा जन्मिएको मानिस किन स्वार्थी र अमानवीय बन्छ ? आफ्नो स्वार्थपूर्ति गर्दा हुने परपीडनबारे किन अनभिज्ञ बन्छ मान्छे। हेर्दा सामान्य लाग्ने शब्दले बोकेको भाव र यसको गाम्र्भीय उसैले बुझ्छ, जो सधैं शब्दको साधनामा लिन होस्।
आकाश उही धरती यही बदलियो मान्छे 
संवेदना गुमाई यान्त्रिक ठहरियो मान्छे  

बाँच्न त हरेक जीव बाँच्छन्, सास फेर्न बाँच्नु र औचित्य सावित गर्नका लागि बाँच्नु फरक कुरा हो। कसैको मनमा रहेर बाँच्नु साँच्चै 
मरेर पनि बाँच्नु हो। सास नफेरि पनि बाँच्नु हो।
सास फेरे पनि लाग्छ यहाँ जीवित छैन
सास फेर्नु मात्रै त यो जिन्दगानी होइन 

घरको शोभा परिवार हो। जसरी मझेरी परिवारको साझा चिन्तनस्थल। अर्को तरिकाले भन्ने हो भने मझेरी परिवारको दुःखसुख बाँड्नेस्थल पनि हो। फेरि यही मझेरी सम्पत्तिका नाममा दाजुभाइमा बाँड्दा परिवार बिखण्डनको बाटोमा गएका उदाहरण धेरै छन्। यही उदाहरणलाई यो गीतले उजागर गर्छ। यो गीतको शक्ति शक्तिमान भएर होला कृतिको शीर्षक पनि यही गीतबाट राखिएको छ।
दुःख सुख नबाँड्ने दाजुभाइ सम्पत्ति बाँड्छन्
अंशबन्डा विवाद मच्चाई भारचारा छाड्छन् 

परदेश हाम्रा लागि रहर हैन, कहर बन्दै गएको छ। यहाँ गाउँ सोध्ने मान्छे परदेशमा देश सोध्छ। यो देशमात्र होइन, जहाँ भावना, आत्मीयपन र न्यास्रोपनको आभास भेटिन्छ। यो हाम्रो साझा कथा हो। जुन कथा हरेक नेपालीले भोगिरहेका छन् र देशका लागि पठाइरहेका छन् पसिनाको विम्ब (रेमिट्यान्स) विप्रेषण। यो देश प्रेम र प्रवासी माया के बराबर छ त ? कि राज्यले नागरिक नचिन्ने तर रेमिट्यान्स चिन्ने भए जस्तै हो ? प्रश्न आफ्नै घाँटीमा आएर अड्किन्छ। फेरि पनि परदेशीको आत्मीय झलक मीठो लाग्छ।
मरुभूमिमा पसिनाले कति प्यास मेट्छौ ?
स्वदेशी माया प्रवासमा भन कहाँ भेट्छौ ?

प्रेम सधैं सुखदायी हुँदैन। कहिलेकाहीँ यसले अनेक चोट र पीडा दिएर जान्छ। यो सबै जीवनका अमूल्य निशानी हुन्। जसलाई अप्राप्य भए पनि आफ्नो मनको सोकेस र मस्तिष्कमा सधैं सजाएर राख्न सकिन्छ। 
दुनियाँ निदाउँदा मलाई निद्रा लाग्दैन
तिमीले छोडे झैं यादले किन छोड्दैन।

स्वार्थीहरूको चंगुल कस्तो हुन्छ ? देख्दा त फूलजस्तै देखिए पनि ती विषाक्त हुन्छन्। हामी भने त्यसलाई फूल हो भनेर भ्रम पालेर बस्छौं। स्वार्थले भरिएकाहरू स्वार्थ पूरा भएपछि संसार जिते जसरी उत्साह मनाउँछन् तर उनीहरूको अन्तर मन भने सधैं आफूलाई दोषी करार गरिरहेको हुन्छ।
हाँस्ने रुने मान्छेहरू, जितेँ हारेँ भन्छन्
कोही नरम फूल कोही तिखो काँडा बन्छन्।

यसरी हेर्दा पाण्डेका गीतले समभावको चाहना राख्छन्। स्वाभिमान र जागरण उनका गीतको सौन्दर्य हो। विषयका दृष्टिले हेर्ने हो भने उनका गीतले प्रकृति, मानवीय प्रेम, घृणा, मिलन बिछोडलाई ब्याख्या गर्छ। गीतमा वसन्त, वहार, मौसम, फूल, उज्यालो, अँध्यारो, ऋतुको विषयले प्रधानता पाएको छ। म भावको माध्यबाट जीवनबोधको समीक्षा वा आत्मबोधको गुण सकारात्मक हुन अभिप्रेरित गर्छन्।

संरचनाका हिसाबले हेर्ने हो भने लामा, मध्यम र छोटा छन्। उखानको समेत प्रयोग गरेका कारण गीतको आञ्चलिक शक्ति बलियो भएको छ। धेरै गीतले प्रेमको विषयलाई अंगीकार गरेका छन्। जहाँ मिलन बिछोडको अभिव्यक्ति पाइन्छ। यसको अलावा संग्रहमा राष्ट्रगीत छन्। गीत सिद्धान्तले गीतबारे धेरै कुरा बोल्छ। विचार र भावले फेरि कहिलेकाहीँ त्यो नियमको उल्लंघन गर्छ। पाण्डेका गीतमा यी दुवैको मीठो सम्मिश्रण छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.