मध्यपूर्वको द्वन्द्वः कतारको सन्तुलित कूटनीति

सक्रिय सन्तुलनको शक्ति र नेपालको भान्सासम्मको असर

मध्यपूर्वको द्वन्द्वः कतारको सन्तुलित कूटनीति
कतारको रास लाफान औद्योगिक क्षेत्रमा रहेको ‘कतार इनर्जी’ को तरल प्राकृतिक ग्यास (एलएनजी) उत्पादन केन्द्र । रोयटर्स

दोहा : मध्यपूर्वमा द्वन्द्वको ज्वाला उर्लिरहेको छ र त्यसको केन्द्रबिन्दुको घुम्तीमा कतार पनि परिरहेको छ–कहिले प्रत्यक्ष, कहिले अप्रत्यक्ष रूपमा। अमेरिका–इजरायलको प्रतिकार गर्दै इरानले हाल मध्यपूर्वका साउदी अरब, यूएई, कतार, बहराइन, कुवेत, जोर्डन र ओमानलगायतका मुलुकमा उच्च आधुनिक क्षमताका मिसाइल निरन्तर प्रहार गरिरहेको छ।

इजरायलद्वारा इरानको दक्षिणमा पर्ने साउथ पार्स ग्यास क्षेत्रमाथि गरिएको प्रहारले सुरु भएको नयाँ तनाव इरानको प्रत्याक्रमणले खाडीका संवेदनशील ऊर्जा पूर्वाधारसमेत निशानामा पर्न थालेको छ। मिसाइल आक्रमणले कतारको रस लफ्फानस्थित तरल प्राकृतिक ग्यास (एलएनजी) पूर्वाधारमा परेको क्षतिले कतारको ऊर्जा निर्यात क्षमतामा मात्र होइन, विश्व ऊर्जा बजारमै हलचल ल्याएको छ।

यसरी तातेको वातावरणबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्ति—इजरायलले साउथ पार्समा फेरि प्रहार नगर्ने आश्वासन र कतारमाथि इरानी आक्रमण दोहोरिए ‘अभूतपूर्व शक्ति’ प्रयोग गर्ने चेतावनीले खाडीको भू–राजनीतिक तनावलाई झनै डरलाग्दो बनाइदिएको छ। इरानकै शीर्ष सैन्य तथा राजनीतिक संरचना लगातार आक्रमणको निशाना बन्दै गइरहँदा त्यहाँको सत्तासन्तुलन कमजोर बन्दै गएको अनुमान गरिन्छ। इरानले युद्धमा ठूलो नेताकै क्षति झेलिसकेको छ। अब गुमाउन बाँकी केही रहेन भन्ने मनोविज्ञानले अघि बढेमा यस क्षेत्रका आगामी दिनहरू झनै जोखिमपूर्ण हुन सक्छन्।

कतारदेखि नेपालसम्मः भान्साको अर्थशास्त्र 

कतारमा करिब ४ लाख नेपाली श्रमिक कार्यरत छन् र उनीहरूले पठाउने रेमिट्यान्स नेपालका लागि आर्थिक मेरुदण्डकै रूपमा रहेको छ। यसैले मध्यपूर्वमा बढ्दो अस्थिरता केवल खाडीको राजनीतिक खबर होइन– नेपालको भान्सा, बजार र रोजगारीसँग सिधै जोडिएको चुनौती हो।तनाव बढ्दै जाँदा रोजगारी अस्थिर हुन सक्छ, तलब कटौतीको जोखिम बढ्छ, उडान बन्द वा ढिलाइ हुन सक्छ र नेपाली कामदार स्वदेश फर्किनुपर्ने अवस्थासमेत आउन सक्छ। यस्तो परिदृश्यले रेमिट्यान्स प्रवाहमा बाधा पुर्‍याउँछ, जसको प्रभाव विदेशी मुद्रा सञ्चिति घट्ने, आयात महँगिने र समग्र अर्थतन्त्रमा दबाब बढाउन सक्छ। 

कतारको ऊर्जा आपूर्तिमा अवरोध आयो भने यसको प्रभाव विश्व बजारमै तुरुन्त देखिन्छ—तेल र ग्यासको मूल्य बढ्छ। भारतले मूल्य समायोजन गरेपछि त्यसको प्रतिफल नेपालमा झनै चर्को रूपमा महसुस हुन्छ। एलपी ग्यास, पेट्रोलियम, यातायात खर्च र खाद्यान्न ढुवानी सबै महँगिन्छन्।अन्ततः कतारको स्थिरतामा आएको कुनै पनि हलचल नेपाली घरपरिवारको दैनिक जीवनमा प्रत्यक्ष रूपमा झल्किन्छ। चुलोमा बालिने ग्यासदेखि बजारमा किनिने खाद्यान्नसम्म कतारको तनावको तरंग नेपालका भान्सासम्म आइपुग्छ। यसले दर्शाउँदै कि आजको विश्वमा आर्थिक दूरीहरू भौगोलिक दूरीभन्दा धेरै नजिकिसकेका छन्।

कतारको भूराजनीतिक प्रभावः सानो भूभाग, ठूलो रणनीति

विश्व नक्सामा सानो देखिने कतार मरुभूमिको सानो प्रायद्वीप हो– उत्तर, पूर्व र पश्चिम तीनैतिर समुद्रले घेरेको, दक्षिणमा केवल साउदी अरेबियासँग जोडिएको। भूभाग सानो, जनसंख्या करिब ३० लाख, तिनमा पनि आफ्ना नागरिक करिब ३ लाख मात्र छन्। तर, यी विवरणहरू कतारले विश्व राजनीतिमा खेलेको प्रभावका अगाडि गौण ठहरिन्छन्। कतारको भू–परिस्थिति कठोर छ– तातो, सुक्खा, नदी–पहाडविहीन मरुभूमि। यही कठोरताले यसलाई ऊर्जा–आधारित अर्थतन्त्रतर्फ अघि बढायो। ‘नर्थ फिल्ड’ नामक विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डारको खोजपछि कतारको आर्थिक इतिहासले नयाँ मोड लियो। मोती संकलनमा निर्भर सानो अर्थतन्त्र केही दशकभित्रै विश्वकै प्रमुख ग्यास निर्यातकर्तामा रूपान्तरण भयो। आज कतार ग्यास निर्यातका कारण विश्व ऊर्जा बजारको अनिवार्य केन्द्र बनेको छ।

मोतीबाट ग्याससम्मः एक अद्भुत रूपान्तरण 

कतारको समकालीन कथा दुई स्पष्ट अध्यायमा विभाजित हुन्छ– पहिलो, मोती संकलनमा आधारित पुरानो अर्थतन्त्र, दोस्रो, ग्यास–समृद्ध भविष्यको यात्रा। एक समय खाडीको किनारमा बसेका गोताखोरहरूको श्रमले सीमित आय ल्याउने कतार २०औं शताब्दीको मध्यतिर प्राकृतिक ग्यासको विशाल भण्डार पत्ता लागेसँगै एकाएक विश्व ऊर्जामार्गको केन्द्र बन्न पुग्यो।

‘नर्थ फिल्ड’ को खोजले कतारको अर्थतन्त्र मात्र बदलेन, यसले राष्ट्रको राजनीतिक आत्मविश्वास, कूटनीतिक दायरा र विश्व­स्तरीय महत्वाकांक्षा सबैलाई नयाँ रूप दियो। ग्यास–आम्दानीले शिक्षा, स्वास्थ्य, पूर्वाधार र अन्तर्राष्ट्रिय लगानीमा अभूतपूर्व विस्तार सम्भव बनायो। छोटो अवधिमै कतारले आफूलाई क्षेत्रीय सीमाबाट निकालेर विश्वमञ्चमा उभ्यायो। तर, कतार केवल ऊर्जा बेच्ने राष्ट्र होइन। उसले ऊर्जा स्रोतलाई कूटनीतिक ‘कार्ड’ जस्तै चलायो– जहाँ ऊर्जा–आयातमा निर्भर मुलुकहरूका लागि कतार विश्वासिलो आपूर्तिकर्ता र खाडी भूराजनीति बुझ्ने विश्लेषकका नजरमा प्रभावशाली शक्ति बन्यो। आज कतारको शक्ति ग्यासको भण्डार मात्र होइन, त्यसलाई रणनीतिमा रूपान्तरण गर्ने क्षमता हो। मोतीको सानो चमकबाट सुरु भएको यात्रा आज विश्व ऊर्जा नक्सामा चम्किने अद्भुत रूपान्तरण बनिसकेको छ।

सफ्ट पावरः शक्ति देखिँदैन तर महसुस हुन्छ

कतारको अर्को महत्वपूर्ण पक्ष यसको ‘सफ्ट पावर’ हो। फिफा विश्वकप २०२२ को आयोजनाले कतारलाई विश्वव्यापी ध्यानको केन्द्र बनायो। यसले कतारलाई केवल खेलकुद आयोजक होइन, अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने राष्ट्रका रूपमा स्थापित गर्‍यो। त्यसैगरी अल जजिरा जस्तो प्रभावशाली सञ्चार माध्यममार्फत कतारले विश्व जनमत निर्माणमा महत्वपूर्ण प्रभाव पार्दै आएको छ। यो केवल समाचार माध्यम नभई कूटनीतिक छवि निर्माण गर्ने उपकरण हो। मानवीय सहायता, पुनर्निर्माण प्रयास र संकटग्रस्त मुलुकमा सहयोगले कतारलाई एक जिम्मेवार र विकासमैत्री शक्ति राष्ट्रका रूपमा उभ्याएको छ। यी सबै प्रयासहरूले कतारलाई ‘ग्लोबल एक्टर’ का रूपमा स्थापित गरेका छन्।

कतारः बफर होइन, सक्रिय सन्तुलनकारी राष्ट्र

राजनैतिक रूपमा कतारलाई प्रायः क्षेत्रीय शक्ति–ध्रवबीचको ‘बफर’ मानिन्छ। तर वास्तविकतामा कतार एक सक्रिय सन्तुलनकारी राष्ट्र हो। उसको सन्तुलित कूटनीतिले ‘सबैसँग सम्बन्ध तर कसैसँग निर्भरता होइन’ भन्ने रणनीति अंगालेको छ। यसले अमेरिकासँग घनिष्ठ सैन्य सम्बन्ध कायम राख्दै आफ्नो भूमिमा अल उदैद एयरबेस सञ्चालन गर्न दिएको छ। अर्कोतर्फ इरानसँग साझा ग्यास भण्डारका कारण सम्बन्ध पनि कायम राखेको छ। टर्की, चीन र युरोपसँग समेत कतारले बहुआयामिक सम्बन्ध विस्तार गरेको छ। कतार कसैको प्रभावमा समर्पित नभई सबैसँग सम्बन्ध राखेर आफ्नो रणनीतिक स्वतन्त्रता जोगाउँदै आएको छ। यो नै यसको सबैभन्दा ठूलो शक्ति हो। कतारले इरानसँग दुश्मनी लिन चाहँदैन। यसमा कतारको कुनै लुकेको स्वार्थ छैन, बरु यो उसको बाँच्ने रणनीति हो। 

विश्वका ठूला शक्तिराष्ट्रबीच चल्ने तनाव र प्रतिस्पर्धा पहिल्यै उच्च छ र त्यही सन्दर्भमा कतारले अपनाएको कूटनीति स्पष्ट छ– सबैसँग दूरी नटुट्ने, कसैसँग सम्बन्ध नछुट्ने, तर कुनै एक ध्रुवमा झुकाव पनि नदेखिने। साना राष्ट्रका लागि यो नै टिक्ने तरिका हो। कतारले अमेरिकासँगको सैन्य भागीदारीलाई पनि जोगाउँछ र इरानसँग साझा ग्यास भण्डारका कारण आर्थिक तथा भूराजनीतिक निकटता समेत कायम राख्छ। शक्ति सन्तुलनका यिनै सूत्रमाथि उभिएर कतारले आफूलाई संकटबाट जोगाउँदै आएको छ। यसैले कतारको कूटनीति कहिले लचिलो जस्तो देखिन्छ, कहिले ‘दुवै पक्ष सम्हाल्ने’ प्रयासजस्तो। तर वास्तवमा यो सन्तुलनमै आधारित अस्तित्व–रणनीति हो। कतारलाई थाहा छ—दुश्मनीले जोखिम बढाउँछ तर सन्तुलनले बाँच्ने ठाउँ बनाउँछ।

२०१७ को नाकाबन्दीः संकटबाट आत्मनिर्भरतातर्फ 

सन् २०१७ मा साउदी अरेबिया, यूएई, बहराइन र इजिप्ट लगायतका राष्ट्रहरूले कतारमाथि अचानक लगाएको नाकाबन्दीले देशलाई एकै झट्कामा क्षेत्रीय रुपमा अलग्याइदियो। हवाई, स्थल र समुद्री मार्ग बन्द भएपछि खाद्यान्नदेखि औषधिसम्मको आपूर्ति संकटको आशंका उत्पन्न भयो। प्रारम्भिक दिनहरू तनावपूर्ण थिए—बजारमा अनिश्चितता, जनस्तरमा चिन्ता, र अन्तर्राष्ट्रिय स्तरमा कूटनीतिक दबाब।

तर, कतारले यो संकटलाई पराजय होइन, रूपान्तरणको अवसरका रूपमा एउटै वर्षभित्र प्रयोग गर्‍यो। टर्की र इरानसँग तत्काल वैकल्पिक आपूर्ति सम्झौता गरियो, जसले आवश्यक वस्तुको निरन्तरता जोगायो। त्यससँगै देशभित्रै कृषि, दुग्ध उत्पादन, खाद्य उद्योग र आपूर्ति सञ्जालमा अभूतपूर्व लगानी गरियो—दैनिक उपभोग्य वस्तुमा विदेशी निर्भरता घटाउँदै आत्मनिर्भरता निर्माणतर्फ ठोस कदम चाल्यो।

वैकल्पिक व्यापार मार्ग खोलिँदै गए, अन्तर्राष्ट्रिय साझेदारी विविधिकृत भयो र कतारले आफ्नो कूटनीतिक दायरा अझ फैलायो। नाकाबन्दीले थोपर्न खोजिएको दबाब कतारको आर्थिक, राजनीतिक र कूटनीतिक परिपक्वतामा उल्टै योगदान बन्न पुग्यो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.