आयुर्वेद अस्पतालतिर बढ्दैछ भिड
दाङ : दाङ जिल्लामा आयुर्वेदिक उपचारप्रति नागरिकको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ। अन्य उपचारमा बढिरहेको आकर्षण अहिले बालबालिकाले सेवन गर्ने ‘स्वर्णविन्दु’ सेवाप्रति अभिभावकहरूको चासो तीव्र रूपमा वृद्धि भएको देखिएको छ ।
दाङका दुई प्रमुख आयुर्वेदिक अस्पताल राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर र प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमा स्वर्णविन्दु सेवा नियमित रूपमा सञ्चालन हुँदै आएको छ। यी दुवै संस्थामा प्रत्येक महिनामा झन्डै १० हजार बढी बालबालिकाले स्वर्णविन्दु सेवन गर्ने गरेका छन्। जसले आयुर्वेद उपचार पद्धतिका थप टेवा र लोकप्रियता बढाइरहेको चिकित्सकको भनाइ छ।
राप्ती आयुर्वेद चिकित्सालयका प्रमुख मदन बुढाथोकीका अनुसार पछिल्लो समय नागरिकमा आयुर्वेदप्रतिको विश्वास बढ्दै गएको छ। ‘स्वर्णविन्दु कार्यक्रम’ विस्तारसँगै सेवा लिन आउनेहरूको संख्या पनि उल्लेख्य रूपमा बढेको उनले बताए। स्वर्णविन्दु कार्यक्रम सञ्चालन भएको दिन सेवाग्राहीहरू बिहान ५ बजेदेखि नै चिकित्सालयको बाहिर लाइनमा बस्ने गरेको यलले बताए। ‘एक दिनमा हामीले झन्डै पाँच हजार जनासम्मलाई स्वर्णविन्दुको सेवा दिएका छौं’, उनले भने, ‘सेवाग्राही यति धेरै आउनुहुन्छ भन्ने हामीले सोचेका थिएनांै।’ डा. बुढाथोकीले टार्गेट कमै भएको भए पनि आएका जति सबैलाई थप व्यवस्थापन गरेर सेवा दिइरहेको बताए।
डा. बुढाथोकीका अनुसार दैनिक करिब एक सयभन्दा बढी बिरामीहरू आयुर्वेद उपचारका लागि राप्ती आयुर्वेदमा आउने गरेका छन्। ‘अहिले धेरै नागरिक एलोप्याथिक उपचारभन्दा आयुर्वेदतर्फ आकर्षित भइरहेका छन्। हामीले पनि सेवालाई गुणस्तरीय बनाएका छौं। प्राकृतिक र दीर्घकालीन प्रभावका कारण आयुर्वेदप्रति विश्वास बढेको उनले बताए। अहिले दोघरे आयुर्वेद केन्द्रमा प्राकृतिक चिकित्सा, थेरापी, ‘स्वर्णविन्दु तथा ओपीडी सेवा सञ्चालनमा रहेको चिकित्सालयका सूचना अधिकारी डा. कैलाश न्यौपानेले जानकारी दिए। उनले थपे, ‘सेवाअन्तर्गत प्रयोगशाला (ल्याब) सेवा समेत उपलब्ध गराइएको भन्दै यसले उपचार थप प्रभावकारी बनाएको छ।’
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आयुर्वेद चिकित्साप्रति बढेको आकर्षणलाई सरकारले ध्यान दिएर कार्यक्रम र योजनाहरू बनाउनुपर्ने बताए। अस्पताल अवलोकनमा पुगेका पूर्वमुख्यमन्त्री चौधरीले आयुर्वेदमा रहेका जनस्वास्थ्य र चिकित्सकीय सेवालाई प्रभावकारी रूपमा अघि बढाउन दुवै निकायबीचको सहकार्य र समन्वय अनिवार्य भएको बताए।
अस्पताल विकास समितिका अध्यक्ष नारायणकुमार आचार्यले चिकित्सालयलाई जनतासँग नजिक बनाएर सेवा सुधार गर्दै लगिएको बताए। उनले समितिले सके जति सुधारको प्रयास गरिरहेको बताए।
के हो स्वर्णविन्दु ?
स्वर्णविन्दु (स्वर्णप्राशन) विशेषगरी बालबालिकाको लागि उपयोगी मानिने आयुर्वेदिक औषधि हो, जसको उद्देश्य बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नु, स्मरण शक्ति र बौद्धिक विकासमा सहयोग पुर्याउनु तथा शारीरिक विकास सुदृढ बनाउनु हो। विशेषज्ञहरूका अनुसार नियमित रूपमा निश्चित समयमा दिइने स्वर्णविन्दुले बालबालिकामा सर्दी–खोकीजस्ता सामान्य रोगहरूबाट बच्न सहयोग गर्नुका साथै उनीहरूको एकाग्रता र सिकाइ क्षमतामा पनि सकारात्मक प्रभाव पार्न सक्छ।
हालको जीवनशैली, बढ्दो प्रदूषण, असन्तुलित खानपान तथा बालबालिकामा देखिँदै आएका स्वास्थ्य समस्याका कारण स्वर्णविन्दुजस्ता आयुर्वेदिक सेवाको आवश्यकता झनै बढ्दै गएको छ। यसले दीर्घकालीन रूपमा स्वस्थ र सक्षम पुस्ता निर्माणमा योगदान पुर्याउने विश्वास गरिएको छ। दाङमा आयुर्वेद र स्वर्णविन्दुप्रति बढ्दो आकर्षणले स्वास्थ्य क्षेत्रमा वैकल्पिक उपचार प्रणालीप्रतिको विश्वास बढ्दै गएको छ। आयुर्वेद प्राचीन चिकित्सा प्रणाली हो, जसको मुख्य उद्देश्य शरीर, मन र आत्माबीच सन्तुलन कायम गर्दै दीर्घकालीन स्वास्थ्य सुनिश्चित गर्नु हो। प्राकृतिक जडीबुटी, जीवनशैली सुधार र रोगको मूल कारण हटाउने सिद्धान्तमा आधारित आयुर्वेद चिकित्साको आवश्यकता बढ्दै गएको छ।
प्रतिक्रिया दिनुहोस !