स्थिरता र निजी क्षेत्रको अपेक्षा

स्थिरता र निजी क्षेत्रको अपेक्षा
सुन्नुहोस्

अस्थिरता यो मुलुकका लागि ठूलो रोग बनेको दसकौं भइसक्यो । यही कारणले विकास र समृद्धि ओझेल परेको एवं जनतामा चरम निराशा थपेको हो । झन्डै दुईतिहाइ बहुमतको नयाँ सरकार गठनसँगै मुलुकमा स्थायित्व आउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठन भएको बहुमतसहितको सरकार र त्यसले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीले निजी क्षेत्रका लागि नयाँ आशा र उत्साह सिर्जना गरेको छ । सञ्चार क्षेत्रमा भेदभावपूर्ण र कानुनविपरीतको एउटा पत्र सार्वजनिक भएपछि त्यो उत्साहमा शंका चाहिँ पैदा भएको छ । भएभरका सबै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र प्रदान गरिने भनी उल्लेख भएको पत्र विवादित छ । त्यसको पनि छिनोफानो होला । नेपालको अर्थतन्त्र लामो समयदेखि सुस्त गतिमा रहेको छ । उत्पादन घट्दो, रोजगारी सिर्जना न्यून र वैदेशिक लगानी आकर्षित गर्न कठिनाइ भइरहेको अवस्थामा निजी क्षेत्रको मनोबल उच्च बनाउनु अत्यन्त आवश्यक छ ।

लगानी भए मात्र उत्पादन बढ्छ, उत्पादन भए मात्र रोजगारी सिर्जना हुन्छ र त्यसैबाट समग्र अर्थतन्त्र चलायमान हुन्छ । सरकारले निजी क्षेत्र संरक्षण एवं प्रवर्धन रणनीति (पीएसपीपी) कार्यान्वयन गर्ने निर्णय गरेको छ, जुन सकारात्मक कदम हो । १५ वटा पुराना तथा असान्दर्भिक कानुन खारेज गर्ने प्रक्रिया सुरु गर्नु, वान डोर बिजनेस प्लेटफर्म ४५ दिनभित्र सञ्चालन गर्ने लक्ष्य राख्नु र सार्वजनिक सेवा प्रवाहलाई डिजिटल बनाउने घोषणा गर्नुले लगानीकर्ताको विश्वास बढाउने संकेत दिएको छ । यस निर्णयबाट नेपालको निजी क्षेत्र उत्साहित रहेको छ । मुलुकमा संरचनागत सुधार भएमा ठूलो आर्थिक सम्भावना खुल्न सक्छ । निर्माण क्षेत्रले मात्रै दुई वर्षभित्र करिब १२ लाख रोजगारी सिर्जना गर्न सक्ने दाबी गरिएको छ । यसका लागि समयमै भुक्तानी, ठेक्का प्रक्रिया सुधार र रुग्ण आयोजनाको पुनरावलोकन आवश्यक हुन्छ ।

हाल देशभर हजारौं आयोजना सञ्चालनमा भए पनि ढिलासुस्ती र प्रशासनिक जटिलताले तिनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सरकारले १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । यदि, यो लक्ष्य हासिल गर्न निजी क्षेत्रलाई सहभागी गराउँदै प्रसारण, वितरण र निर्यातसम्मको स्पष्ट नीति ल्याइयो भने ऊर्जा क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउन सक्छ । दुई वर्षदेखि रोकिएका विद्युत् खरिद सम्झौता १ सय ८० दिनभित्र खुलाउने निर्णयले लगानीकर्तामा आत्मविश्वास थपेको छ । पर्यटन क्षेत्र पनि उत्तिकै महत्त्वपूर्ण छ । नेपालसँग वार्षिक ३५–४० लाख पर्यटक धान्ने क्षमता भए पनि हाल करिब १२ लाख पर्यटकमात्रै भित्रिन्छन् । यसको मुख्य कारण पूर्वाधार र ‘कनेक्टिभिटी’को अभाव हो । सरकारसामु चुनौतीहरू पनि कम छैनन् । नीतिगत अस्थिरता, प्रशासनिक झन्झट, भ्रष्टाचार र प्रक्रियागत ढिलाइले लगानीकर्तालाईनिरुत्साहित गर्ने गरेको विगतको अनुभव छ ।

‘डेलिभरी बेस्ड गभर्नेन्स’को अवधारणा प्रभावकारी रूपमा लागू गर्न सके मात्र जनताले परिणाम महसुस गर्न सक्नेछन् । आगामी बजेट यस दृष्टिले अत्यन्त महत्त्वपूर्ण हुनेछ । बजेटले निजी क्षेत्रको उत्साह बढाउने, उद्योग स्थापना प्रोत्साहन गर्ने, सहुलियतपूर्ण ऋण र कर छुटको व्यवस्था गर्ने तथा पूर्वाधारमा लगानी बढाउने स्पष्ट योजना ल्याउनुपर्छ । विशेषगरी उत्पादनमूलक उद्योग र युवा उद्यमशीलतालाई प्राथमिकता दिन सके रोजगारी सिर्जनामा ठोस योगदान पुग्नेछ ।

लगानीमैत्री वातावरण निर्माण गर्नु आर्थिक नीतिमात्र होइन, राष्ट्रिय आवश्यकता हो । सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच सहकार्यको वातावरण बनाएर अघि बढ्न सके मात्र वर्तमान उत्साह दिगो बन्न सक्छ । दीर्घकालीन प्रभाव र असर पुर्‍याउने निर्णय हतासमा हुनुहुँदैन । जस्तै, अर्बाैंको विज्ञापन कारोबार हुने विषयलाई पनि निजी क्षेत्रलाई बाहिर राख्नुहुँदैन । यसअघि देखिएका चुहावट र भ्रष्टाचारका समस्या सुल्झाउन थुप्रै विकल्प छन् । चुहावट रोक्न मूल नै थुनिदिने जस्ता नीति, नियम अस्वाभाविक हुनेछन् । 
यस विषयमा सरकारको गम्भीरता अपरिहार्य छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.