पाठेघरको मुखको क्यान्सर परीक्षणमा स्थानीय तहको बेवास्ता

पाठेघरको मुखको क्यान्सर परीक्षणमा स्थानीय तहको बेवास्ता
महोत्तरीको एकडारा गाउँपालिकाले फिर्ता गरेका भीटीएम किटहरू । तस्बिर : मनिका झा

जनकपुरधाम : मधेसका महिलामा देखिएको प्रमुख क्यान्सर हो– पाठेघरको मुखको क्यान्सर । एक अध्ययनअनुसार प्रदेशका रौतहट, महोत्तरी र सर्लाहीका महिलाहरू पाठेघरको मुखको क्यान्सरको उच्च जोखिममा छन् । त्यसकै लागि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले तीन जिल्लाका महिलाको पाठेघरको मुखको क्यान्सको परीक्षणका लागि ठूलो संख्यामा किट उपलब्ध गराएको थियो ।

मन्त्रालयले ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षणका लागि ५१ हजार ३०० को संख्यामा भीटीएम किट (एचपीभी भाइरस परीक्षण किट) उपलब्ध गराएको थियो ।यी किटहरूको प्रयोग गरी महिलाहरूमा पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि शिविर सञ्चालन गर्न प्रत्येक पालिकामा दुई लाखका दरले बजेट र दुई जना तालिम प्राप्त स्वास्थ्यकर्मीसमेत सरकारले उपलब्ध गराएको थियो । तर, मधेस प्रदेशका अधिकांश पालिकाहरूमा न त क्यान्सको परीक्षणका लागि शिविर सञ्चालन भएका छन् न त केन्द्र सरकारले पठाएको बजेट र जनशक्तिको सदुपयोग भएको छ । 

पालिकाहरूले यस कार्यक्रमलाई बेवास्ता गर्दै अधिकांश भीटीएम किट स्टोरहरूमा थन्क्याएर राखेका छन् भने कतिपयले त प्रयोग नै नगरी फिर्ता पठाउन थालेका छन् । तथ्यांकअनुसार नेपालमा प्रत्येक दिन करिब ४ जना महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने गर्दछ ।

प्रदेशको महोत्तरी जिल्लाका लागि ७ हजार ६५०, सर्लाहीका लागि ८५०० र रौतहट जिल्लाका लागि ९ हजार ५ सय भीटीएम किट पठाईएका थिए । प्रदेश आपुर्ति केन्द्रमा २५ हजार ६५० थप किट पठाइएका छन् । जबकि, महोत्तरीको लोहरपट्टी नगरपालिकाले ५०० भीटीएम किट प्रयोग नै नगरी फिर्ता पठाएको छ । त्यसैगरी, एकडारा गाउँपालिकाले आफूसँग रहेका ४ सय किटको प्रयोग नै नगरी सबै फिर्ता पठाएको छ ।

महोत्तरी गाउँपालिकामा रहेको ४ सय किट पनि प्रयोगविहीन छन् । केही पालिकाहरूले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि केन्द्रबाट आएको दुई लाख रुपैयाँ अरू नै कार्यक्रममा खर्च गरेका छन् । भीटीएम किट प्रयोगका लागि शिविर सञ्चालन नगरी उनीहरूले आएको रकम खर्च गरिसकेका छन् । ‘पालिकाहरूले गम्भीर विषयलाई निकै हलुका रूपमा लिएका छन्,’ मातृ तथा नवशिशु शाखा मधेस प्रदेशकी प्रमुख प्रतिभा सिंह भन्छिन्, ‘निजी स्तरमा यदि एचपीभी परीक्षणका लागि यही भीटीएम किटमार्फत जाँच गराइयो भने २० देखि २५ हजार रुपैयाँसम्म शुल्क पर्छ तर सरकारले निःशुल्क उपलब्ध गराइरहेको सेवालाई तदारुकताका साथ लागू गराउन स्थानीय तहलाई मतलबनै छैन । ’

सर्लाही र रौतहटमा पनि हालसम्म सबै पालिकामा किटको प्रयोग गरी जाँच हुन सकेको छैन । रौतहट जिल्लाका लागि पठाइएको ९ हजार ५ सय भीटीएम किटहरू सबै पालिकाहरूमा वितरण भइसकेको र तीनवटा पालिकाहरू परोहा नगरपालिका, ईशनाथ नगरपालिका र यमुनामाई नगरपालिकामा महिलाहरूको पाठेघर स्क्रिनिङको काम पनि सम्पन्न भएको जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहले जानकारी गराए । ‘अहिले तीनवटा पालिकामा काम भएको छ । तर, वैशाख महिनाको पहिलो सातासम्म सबै पालिकाहरूमा सक्ने गरी हामी लागिपरेका छौं । यसका लागि पालिकाहरूसँग सहकार्य भइरहेको छ,’ सिंहले बताए ।

सर्लाही जिल्लामा पनि सबै पालिकाहरूले भीटीएमको प्रयोग सम्पन्न गर्न सकेका छैनन् । ‘पालिकाहरूसँगको समन्वयमा शिविरहरू सञ्चालनको तयारी भएको छ । हामी सबै किट प्रयोग हुन्छ भन्नेमा विश्वस्त छौं,’ जनस्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झा भन्छन्, ‘यस जिल्लाबाट किट फिर्ता नजाओस् त्यसका लागि सक्दो काम भइरहेको छ ।’

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण (एचपीभी) को संक्रमण हुनु हो । एचपीभी भाइरस २०० भन्दा धेरै प्रजातिहरू हुन्छन् । तीमध्ये हालसम्म मानव शरीरमा क्यान्सर गराउने जोखिम १२ प्रकारका प्रजातिहरूबाट हुन्छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर हुन्छ र यसबाट प्रत्येक वर्ष १ हजार ३१३ जना महिलाहरूको मृत्यु हुन्छ भन्ने अनुमान छ । यो क्यान्सर रोकथाम गर्न सकिने रोग हो । यो रोगविरुद्धको खोप लगाएमा एचपीभी भाइरसको संक्रमण हुनबाट सुरक्षित हुन सकिन्छ । यो खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा बढी प्रभावकारी हुन्छ । विश्व स्वास्थ्य संगठनले यो रोगलाई जनस्वास्थ्य समस्याका रूपमा नरहेको अवस्थामा पुर्‍याएर निवारण गर्ने लक्ष्य लिएको छ, जसअनुसार यो रोगका नयाँ बिरामीप्रति एक लाख महिलाहरूमा प्रतिवर्ष ४ भन्दा कम संख्यामा सीमित राख्नु हो । 

यसका लागि सन् २०३० सम्म तीनवटा स्वास्थ्यसेवाको निश्चित गन्तव्य निर्धारण गरिएको छ, जसमा १० देखि १४ वर्ष उमेरभित्रका किशोरीहरूलाई यसविरुद्धको खोप दिने, ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरूको परीक्षण गर्ने र पाठेघरको मुखको क्यान्सर निदान भएका महिलाहरूको उपचार गर्ने निर्धारण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.