यूएईमा जागिर गयो ? यी पाइन्छन् सुविधा

यूएईमा जागिर गयो ? यी पाइन्छन् सुविधा
सुन्नुहोस्

दुबई : संयुक्त अरब इमिरेट्स (यूएई)लगायत खाडी राष्ट्रहरूमा इरानले मिसाइल र ड्रोनले आक्रमण गरिरहेको छ । यस्तो अवस्थामा कतिपय कम्पनीहरू अप्ठ्यारो आर्थिक परिस्थितिबाट गुज्रिँदै छन् । युद्ध कहिले समाप्त हुन्छ भन्न सकिने अवस्था छैन । यो स्थिति लामो समयसम्म लम्बिए धेरै नेपालीले रोजगारी गुमाउन पनि सक्छन् ।

रोजगारी गुमाउनु धेरै श्रमिकका लागि मानसिक र आर्थिक दुवै हिसाबले चुनौतीपूर्ण अवस्था हो । तर, यस्तो कठिन परिस्थितिमा पनि श्रमिकहरू पूर्णरूपमा असहाय भने हुँदैनन् । यूएईको श्रम कानुनले कामदारलाई विभिन्न अधिकार र सुविधाहरू सुनिश्चित गरेको छ, जसले रोजगारी गुमेपछि न्यूनतम आर्थिक सुरक्षाको आधार तयार गर्छ ।

ग्र्याचुइटी (उपादान)

यूएईको श्रम कानुनअनुसार कुनै पनि कामदारले कम्तीमा एक वर्ष सेवा पूरा गरेको अवस्थामा ग्र्याचुइटी (उपादान) स्वरूप निश्चित रकम पाउने हकदार हुन्छ ।

पहिलो पाँच वर्षसम्म प्रत्येक वर्षका लागि २१ दिनबराबरको आधारभूत (बेसिक) तलब र त्यसपछि प्रत्येक वर्ष ३० दिनबराबरको तलब ग्र्याचुइटीका रूपमा दिइन्छ । यद्यपि, कुल ग्र्याचुइटी रकम दुई वर्षको तलबभन्दा बढी हुन पाउँदैन । यो व्यवस्था श्रमिकको दीर्घकालीन योगदानको कदरका रूपमा लिइन्छ । उदाहरणका लागि कुनै कामदारले १० वर्ष काम गरेको छ भने पहिलो ५ वर्षका लागि २१ दिनका दरले १०५ दिन र बाँकी ५ वर्षका लागि ३० दिनका दरले १५० दिन गरी जम्मा २५५ दिनको आधारभूत तलब पाउनेछ ।

बक्यौता भुक्तानी र समयसीमा
जागिर समाप्त भएपछि कम्पनीले १४ दिनभित्र सबै बक्यौता भुक्तानी गर्नुपर्ने कानुनी प्रावधान छ । यसमा तलब, ग्र्याचुइटी, प्रयोग नभएको बिदाको रकम (लिभ स्यालरी)लगायत समावेश हुन्छन् । यदि, कम्पनीले समयमै भुक्तानी नगरेमा श्रमिकले श्रम मन्त्रालयअन्तर्गतको कार्यालयमा उजुरी दर्ता गर्न सक्छन् ।

नोटिस पिरियड र हवाई टिकट
कम्पनीले कामबाट निकालेमा ‘नोटिस पिरियड’ पनि श्रमिकको महŒवपूर्ण अधिकार हो । सामान्यतया ३० देखि ९० दिनसम्मको नोटिस अवधि तोकिन्छ, जसमा श्रमिकले पूर्ण तलब पाउने व्यवस्था छ । यस अवधिले कामदारलाई नयाँ रोजगारी खोज्न केही समय उपलब्ध गराउँछ । यदि, कम्पनीले श्रमिकलाई बर्खास्त गरेको हो भने घर फर्किने हवाई टिकट उपलब्ध गराउने दायित्व पनि कम्पनीकै हुन्छ । 

तर, श्रमिकले स्वेच्छिक राजीनामा दिएको अवस्थामा यो सुविधा नपाइने हुन सक्छ । नेपाल सरकारसँग गरिएको सम्झौतापत्रअनुसार भने नेपाल फर्कने टिकट श्रमिकले पाउनुपर्दछ । यसैगरी, कम्पनीले कामदारलाई अनुभव प्रमाणपत्र (एक्सपिरियन्स सर्टिफिकेट) दिन अनिवार्य छ, जसले भविष्यमा नयाँ रोजगारी खोज्न सहयोग पुर्‍याउँछ ।

भिसा रद्द र ग्रेस पिरियड
कम्पनीले कामदारसँग सबै हिसाब–किताब मिलाएको पुष्टि नगरी भिसा रद्द गर्न पाउँदैन । व्यवहारमा कतिपय श्रमिकहरूले दबाबमा परेर कागजमा हस्ताक्षर गर्ने समस्या पनि देखिन्छ, जसले उनीहरूको अधिकार कमजोर बनाउँछ ।

भिसा रद्द भएपछि श्रमिकलाई निश्चित ‘ग्रेस पिरियड’ दिइन्छ, जसमा उनीहरू नयाँ काम खोज्न वा देश छोड्न सक्छन् । सामान्यतया श्रमिकका लागि यो अवधि ३० दिनको हुन्छ तर केही माथिल्लो पदमा काम गर्ने भिसा भएकाहरूलाई ६० दिन वा सोभन्दा बढी समय पनि दिइन सक्छ । यो व्यवस्था श्रमिकलाई तुरुन्तै गैरकानुनी अवस्थामा धकेलिन नदिन बनाइएको हो ।

बेरोजगारी बिमा (अनएम्प्लोयमेन्ट इन्स्योरेन्स)
पछिल्लो समय यूएईले ‘अनएम्प्लोयमेन्ट इन्स्योरेन्स’ योजना पनि लागू गरेको छ, जसअन्तर्गत योग्य श्रमिकहरूले तीन महिनासम्म आर्थिक सहयोग पाउन सक्छन् । तर, यो सुविधा सबैलाई स्वतः लागू हुँदैन । यसका लागि योजनामा आबद्ध भएको हुनुपर्छ । साथै, स्वेच्छिक राजीनामा दिएका वा अनुशासनहीनताको कारण हटाइएका श्रमिकले यो सुविधा पाउँदैनन् ।

चुनौती र सचेतना
यद्यपि, कागजमा स्पष्ट देखिने यी अधिकारहरूको व्यावहारिक कार्यान्वयन सधैं सहज छैन । विशेष गरी कम तलबमा काम गर्ने श्रमिकहरू कानुनी प्रक्रियाबारे जानकारी नहुँदा वा डरका कारण आफ्नो हक दाबी गर्न सक्दैनन् । भाषा, कानुनी जटिलता र आर्थिक सीमितताले उनीहरूलाई अधिकारबाट वञ्चित गरेको देखिन्छ ।

यस सन्दर्भमा सरोकारवाला निकायहरूले सचेतना अभिवृद्धि र सहज पहुँचमा जोड दिनुपर्ने देखिन्छ । श्रमिकहरूले पनि आफ्नो अधिकारबारे जानकारी राख्नु र आवश्यक परे कानुनी माध्यम अपनाउनु अपरिहार्य छ । कुनै पनि मुलुक जानुअघि प्रदान गरिने अभिमुखीकरण तालिममा यस्ता विषयहरू पनि समेटिनु जरुरी छ । आवश्यक परेमा नेपाली दूतावास, कन्सुलर सेवा विभाग, गैरआवासीय नेपाली संघ, नेपाली समाज र अन्य संघसंस्थाको सहयोग लिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.