लाखौं खर्चेर कुवेत पुगेका सन्दीप उद्धार र न्यायको पर्खाइमा
रौतहट : उज्ज्वल भविष्यको सपना बुनेर कुवेत उडेका रौतहटका एक युवक अहिले विदेशी भूमिमा अलपत्र बनेका छन् । वैदेशिक रोजगारीको चम्किलो सपना देख्दै कुवेत पुगेका रौतहट युवक अहिले निराशा र पीडाको कठोर यथार्थसँग जुधिरहेका छन् । विदेश पठाई दिने एजेन्टको झुटो आश्वासन र समस्या पर्दा बेवास्ताका कारण उनी चार महिनादेखि कामविहीन अवस्थामा कोठामै सीमित हुन बाध्य भएका छन् ।
कटहरिया नगरपालिका–३, बिर्ती प्रष्टोकाका २४ वर्षीय सन्दीप यादवले करिब २ लाख ८९ हजार रुपैयाँ तिरेर ६ महिना अघि कुवेत उडे । आकर्षक तलब, सहज काम र राम्रो सुविधा दिने प्रलोभनमा उनीसहित पाँच जना युवकहरुलाई यसरी फसाइयो कि राज्य उनीहरुका लागि छैन वा हुँदै भएन ।
केही पर्यो भने राज्यले हेर्ला नि ! भन्ने विश्वाससहित यादब विदेश पुगेको केही दिनमै उनको सपना चकनाचुर भयो ।

सुरुमा वाचा गरिएको कामभन्दा फरक, उनलाई शौचालय सफा गर्ने र फोहोर व्यवस्थापन जस्ता काममा खटाइयो । अझ विडम्बना, काम गर्दा आवश्यक सुरक्षाका सामग्री समेत उपलब्ध गराइएन । ‘कमाइ कम छ, खर्च धान्नै गाह्रो छ’, सन्दीप भन्छन्, ‘महिनाको १०० दिनारमध्ये आधाभन्दा बढी खर्चिएपछि बचत नाममात्र हुन्थ्यो त्यो पनि काम नभएपछी खानबस्न समस्या छ ।’
निराशा बढ्दै जाँदा उनले नेपाल फर्किन एजेन्टसँग पटक–पटक आग्रह गरे । सुरुवातमा घर पठाई दिने आश्वासन दिइएको भए पनि पछि थप ४५० दिनार माग्दै उल्टै दबाब दिइयो । रकम जुटाउन नसकेपछि एजेन्ट सम्पर्कविहीन भएको उनी बताउँछन् ।

कुवेतस्थित ग्लोबल पावर फेसिलिटी सेक्युरिटी कम्पनीको नेपालस्थित प्रतिनिधि नमो बुद्ध रिक्रुट्मेन्ट प्रालिका एजेन्ट सुजन भट्टमार्फत कुवेत गएका थिए । भट्टको ९८५१२०२७३५ नम्बर अहिले अफ हुने गरेको छ । दुई महिना काम गरेपछि काम छोडेका सन्दीप अहिले चार महिनादेखि बेरोजगार छन्।
पाउनु पर्ने तलब समेत नपाएको उनले गुनासो गरेका छन् । उनीसहित पाँचै जना एउटै कोठामा न्यूनतम सुविधा बिना बसिरहेका छन्–ओछ्यान छैन, पर्याप्त खाना छैन भने घर फर्कने कुनै निश्चितता छैन । कम्पनीले सुरुवातमा केही महिनाभित्र घर फर्काउने आश्वासन दिएको भए पनि अहिले उनीहरूको कुरा सुन्ने कोही छैन । सम्बन्धित मेनपावर कम्पनी र एजेन्ट दुवै सम्पर्क बाहिर छन् ।

यो घटना केवल एक व्यक्तिको पीडा मात्र होइन, वैदेशिक रोजगारीको नाममा हुने ठगी र गैरजिम्मेवारीको प्रतिनिधि उदाहरण हो । लाखौं रुपैयाँ असुलेर युवाहरूलाई अलपत्र पार्ने प्रवृत्तिमाथि नियन्त्रण कहिले हुने भन्ने प्रश्न फेरि उठेको छ । पीडित सन्दीप र उनका साथीहरू भने अहिले पनि आशामा छन्-नयाँ सरकारको पहलले आफ्नो उद्धार र न्याय हुनेछ भन्ने अपेक्षामा बसिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !