गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–३ मा गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य र पोषण अवस्थालाई सुदृढ बनाउने उद्देश्यले पोषण सामग्री वितरण गरिएको छ । वडाभित्र रहेका सुनौलो हजार दिनका आमा तथा शिशुको पोषण सुधारलाई प्राथमिकता दिँदै पोषण सामाग्री प्रदान गरिएको हो ।
वराहनेटा आधारभूत स्वास्थ्य केन्द्रको आयोजना तथा सन्धिखर्क नगरपालिका–३ कार्यालय को समन्वयमा सम्पन्न कार्यक्रममा २१ जना गर्भवती र ३१ जना सुत्केरी आमा गरी ५२ जनालाई पोषण सामग्री प्रदान गरिएको स्वास्थ्य केन्द्रका प्रमुख धर्मराज पन्थीले बताए ।
सुनौलो हजार दिन अवधिलाई लक्षित गर्दै आमाहरूलाई एक क्यारेट अण्डा, चना, साबुन र नेल कटर वितरण गरिएको थियो । गर्भावस्था र सुत्केरी अवस्थामा सन्तुलित आहार, सरसफाइ र व्यक्तिगत स्वास्थ्य सुरक्षाले आमा र नवजात शिशुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस्ता सामग्री वितरण गरिएको वडा अध्यक्ष जम्शेर मियाँले बताएका छन् ।
गर्भवती र सुत्केरी अवस्थामा पोषणको महत्वबारे समुदायमा सचेतना फैलाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै वडा अध्यक्ष मियाँले विशेष गरी ग्रामीण क्षेत्रमा अझै पनि पोषणसम्बन्धी जनचेतनाको अभाव देखिएकाले स्थानीय सरकार र स्वास्थ्य संस्थाबीचको सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए । ‘आमाको स्वास्थ्य राम्रो भए मात्र स्वस्थ शिशुको जन्म र समुचित विकास सम्भव हुन्छ’, उनले बताए ।
कार्यक्रममा वडा अध्यक्ष जम्शेर मियाँसहित वडा सदस्यहरू कुलदिप राना र टेकलाल गिरी, बराहनेटा आधारभुत विद्यालयका प्रधनाध्यापक कृष्णप्रसाद आचार्य, स्वास्थ्य केन्द्र प्रमुख धर्मराज पन्थी, स्वास्थ्यकर्मीहरु गोमा थापा, कल्पना खनाल लगायतको उपस्थिति रहेको थियो । स्थानीय तहले स्वास्थ्य संस्थासँग समन्वय गरेर गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गरेका यस्ता कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
पोषण सामग्री वितरणसँगै स्वास्थ्य शिक्षा र सरसफाइसम्बन्धी सन्देश पनि दिइएकाले यसले समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । विशेष गरी सुनौलो हजार दिनभित्रको पोषणमा गरिएको लगानीले भविष्यमा बालबालिकाको शारीरिक तथा मानसिक विकासमा दीर्घकालीन लाभ पुग्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !