साउदीबाट जुट्यो क्यान्सर पीडित किशोरका लागि आर्थिक सहयोग
साउदी : बैतडीको दोगडाकेदार गाउँपालिका–१, रिम का १६ वर्षीय हरिस भुलको उपचारका लागि साउदीबाट आर्थिक सहयोग जुटाइएको छ। गम्भीर रोगसँग संघर्ष गरिरहेका भुललाई राहत पुर्याउने उद्देश्यले साउदी अरबमा क्रियाशील नेपाली साझा मञ्चले सहयोग अभियान सञ्चालन गरेको हो।
पारिवारिक आर्थिक अवस्था कमजोर रहेका भुल विगत केही समयदेखि खुट्टामा देखिएको जटिल समस्याका कारण उपचाररत छन्। हाल उनको उपचार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा भइरहेको छ। चिकित्सकहरूले उनको अवस्थालाई जटिल रहेको उल्लेख गर्दै आवश्यक परे शल्यक्रिया गरी खुट्टा काट्नुपर्ने सम्भावना रहेको बताएका छन्।
उपचार खर्च जुटाउन कठिनाइ भएपछि मञ्चले सहयोग संकलन अभियान अघि बढाएको थियो। उक्त अभियानबाट नगद तथा बैंकमार्फत गरी कुल ७० हजार ४६९ रुपैयाँ संकलन भएको जानकारी दिइएको छ। संकलित रकममध्ये मञ्चमार्फत उठेको नगद सहयोग चितवनस्थित अस्पतालमै पुगेर पीडित परिवारलाई हस्तान्तरण गरिएको मञ्चले जनाएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा बिरामीका अभिभावक तथा आफन्तको उपस्थिति रहेको थियो।
मानवीय भावनाबाट प्रेरित भई सहयोग गर्ने सबैप्रति मञ्चले आभार व्यक्त गरेको छ। साथै, आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै पीडित किशोरको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
प्रतिक्रिया दिनुहोस !