मुम्बई सार्दुलको सातौं आइपीएल टिम, उनीभन्दा धेरै टिम परिवर्तन गर्ने खेलाडी को ?
काठमाडौं : हाल १९ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) चलिरहेको छ । विभिन्न टिमले खेलाडी अनुबन्ध गरेका छन् । केहीले खेलाडी फेरबदल पनि गरेका छन् । हाल १० टिमहरुले कम्तीमा २ खेल खेलिसकेका छन् । केहीले ३ खेल पनि खेलिसकेका छन् । हाल ३ खेलबाट २ जित र एक खेलमा अंक बाँडेर ५ अंकसहित पन्जाब किंग्स शीर्ष स्थानमा रहेको छ ।
पन्जाबलाई रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी) ले २ जितसहित ४ अंकसहित पछ्याइरहेको छ । यसमा धेरै खालका नयाँ इतिहास बनिरहेका छन् । प्रतियोगिता चलिरहँदा भारतीय क्रिकेट टिमका दायाँ हाते बलिङ अलराउन्डर सार्दुल ठाकुरले यस पटकको आइपीएलमा सातौं टिमसँग आइपीएल खेल्दै छन् । उनी हाल मुम्बई इन्डियन्सको टिममा आवद्ध छन् । सन् २०१५ मा पहिलो पटक किंग्स ११ पन्जाबबाट आइपीएलमा डेब्यू गरेका उनले २०२५ सम्म ६ वटा टिममा खेलिसकेका छन् । आइपीएलमा सन् २०१५ यता उनले आइपीएलमा जम्मा १०७ खेल खेलेका छन् ।
जसमा सन् २०१५ मा किंग्स ११ पन्जाबमा खेलेर आइपीएलमा डेब्यू गरेका थिए । सन् २०१७ मा राइजिङ पुणे सुपर जायन्टबाट १२ खेल खेले । सन् २०१८ मा चेन्नइ सुपर किंग्स खेले । सन् २०२२ मा दिल्ली क्यापिटल्सका लागि १४ खेल खेले । सन् २०२३ मा कोलकाता नाइट राइडर्समा रहेर ११ खेल खेले । उनी सन् २०२४ मा पुनः चेन्नइमा फर्किए । उनले चेन्नइमा रहेर कुल ५७ खेल खेले । सन् २०२५ मा उनले लखनउ सुपर जायन्ट्सबाट १० खेल खेले ।
सार्दुल बाहेक हालसम्म सबैभन्दा धेरै टिममा रहेर आइपीएल खेल्ने अन्य खेलाडी पनि छन् । ७ वटा टिममा आइपीएल खेल्ने सार्दुल तेस्रो खेलाडी हुन् । अन्य दुई खेलाडीमा इशान्त शर्मा र मनिष पाण्डे हुन् । बायाँ हाते तीव्र गतिका बलर जयदेव उनाद्कटले ८ वटा टिमबाट आइपीएल खेलेका छन् । तर सबैभन्दा धेरै टिममा आवद्ध भएर आइपीएल खेल्ने खेलाडीको रेकर्ड भने अष्ट्रेलियन ओपनर एरोन फिन्चको नाममा रहेको छ ।
उनले आइपीएलमा ९२ खेल ९ वटा फरक–फरक टिमबाट खेलेका छन् । उनले गुजरात लायन्सबाट २६, पुणे वारिर्यसबाट १४, सनराइजर्स हैदराबादबाट १३, रोयल च्यालेन्जर्स बेंग्लोरबाट १२, किंग्स ११ पन्जाबाट १०, दिल्ली डेयर डेविल्सबाट ८, कोलकाता नाइट राइडर्सबाट ५, मुम्बई इन्डियन्सबाट ३ र राजस्थान रोयल्सबाट १ खेल खेलेका छन् । राजस्थान रोयल्सबाट सन् २०१० मा उनले आइपीएलमा डेब्यू गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !