‘हसगिरी’ले बिग्रेको एमाले

ओली घेर्ने एमालेको ‘ग्याङ फोर’

ओली घेर्ने एमालेको ‘ग्याङ फोर’

अध्यक्ष ओलीको पहिलो घेरामा महासचिव शंकर पोखरेल, पूर्वउपमहासचिव विष्णु रिमाल, सचिव भानुभक्त ढकाल र डा. राजन भट्टराई छन् । जसले ओलीलाई प्रभावमा पार्ने, आफ्नो स्वार्थअनुसार ओलीलाई निर्णय गर्न लगाउने, नेता–कार्यकर्ताका कुरा ओलीसँग लगाएर फाटो ल्याइदिने, लाभका पदमा आफैं हालीमुहाली गर्ने र ओलीलाई गुमराहमा राख्ने गरेका छन् । आफ्नो स्वार्थका लागि ओलीको हदैसम्मको ‘चाकरी र चाप्लुसी’ गर्ने यो घेराले सकभर नेतृत्वसामु अरू नेताहरू नपरून् भन्ने सोचबाट सक्रिय भइरहेको आरोप छ ।

काठमाडौं : चुनावमा पार्टीको ‘शर्मनाक हार’ पछि एमाले संसदीय दलको नेतामा युवा नेता सुहाङ नेम्बाङले दाबी गरे। तर, महासचिव शंकर पोखरेल, सचिव भानुभक्त ढकाललगायतका नेताहरू एकाएक ‘सक्रिय’ बने।

सुहाङलाई दलको नेता बन्न समर्थक र प्रस्तावक पनि नजुट्ने अवस्था सिर्जना गरेर माओवादी पृष्ठभूमिका रामबहादुर थापा ‘बादल’लाई निर्विरोध दलको नेता बनाइयो। युवालाई नेतृत्वमा रोक लगाएको भन्दै एमालेमा व्यापक असन्तुष्टि सिर्जना भयो। केही युवा नेताहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर चलाए। फेरि एमालेमा शंकर पोखरेलहरू सक्रिय बने। हस्ताक्षर बन्द गर्न दबाब दिइरहेका छन्। यद्यपि, जेन–जी आन्दोलनमा भएको मानवीय क्षतिमा गौरीबहादुर कार्की आयोगले दोषी ठहर गरेपछि अनुसन्धानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली थुनामा छन्।

२०७९ को निर्वाचनमा एमालेले सबैभन्दा बढी २८ लाख ४५ हजार ६ सय ४१ मत समानुपातिकमा पाएको थियो। तर, यसपटक त्यो मत ह्वात्तै घटेर १४ लाख ५५ हजार ८ सय ८५ मा सीमित बन्यो। ७८ सिटबाट एमाले २५ सिटमा झ¥यो। चुनावमा भएको यो शर्मनाक हारमा नेतृत्वको मात्र नभई नेतृत्वलाई घेराबन्दी गर्ने समूह (ग्याङ) को पनि उत्तिकै हात रहेको भन्दै एमालेमा तीव्र असन्तुष्टि छ। त्यसैकारण अध्यक्ष केपी ओलीको ‘चौघेरा’लाई नभत्काएसम्म पार्टी उँभो लाग्न नसक्ने युवा नेताहरूको भनाइ छ।

एमाले अध्यक्ष ओली वरिपरि २ वटा घेरा छन्। पहिलो घेरामा महासचिव शंकर पोखरेल, पूर्वउपमहासचिव विष्णु रिमाल, सचिव भानुभक्त ढकाल र डा. राजन भट्टराई छन्। जसले ओलीलाई प्रभावमा पार्ने, आफ्नो स्वार्थअनुसार ओलीलाई निर्णय गर्न लगाउने, नेता–कार्यकर्ताका कुरा ओलीसँग लगाएर फाटो ल्याइदिने, लाभका पदमा आफैं हालीमुहाली गर्ने र ओलीलाई गुमराहमा राख्ने गरेका छन्। यो समूहका नेताहरूले ‘सामाजिक सञ्जालमा लेखिएका टिप्पणी र भनाइका स्क्रिनसट जम्मा गरेर नेता–कार्यकर्ताका कुरा ओलीसँग लगाएर पार्टी बनाउने भन्दा सम्बन्ध बिगारिदिने गरेको भुक्तभोगी एमालेका नेताहरू बताउँछन्। आफ्नो स्वार्थका लागि ओलीको हदैसम्मको ‘चाकरी र चाप्लुसी’ गर्ने यो घेराले सकभर नेतृत्वसामु अरू नेताहरू नपरून् भन्ने सोचबाट सक्रिय भइरहेको आरोप छ।

‘अध्यक्ष कमरेडलाई गुमराहमा राख्ने र गलत रिपोर्टिङ गरेर पार्टीलाई रसातलमा पु¥याउन उहाँहरू चार जनाको मुख्य भूमिका छ,’ ओली निकट एक नेताले अन्नपूर्णसँग भने, ‘उहाँहरू जनताबाट बहिष्कृत जस्तै हो। तैपनि, नेतृत्वलाई गुमराहमा पारेर आफ्नो स्वार्थको रोटी सेक्न माहिर हुनुहुन्छ।’ चुनावमा प्रायजसो हार व्यहोर्ने चारै जनाको गलत रिपोर्टिङका कारण ओलीले ‘गलत’ निर्णय लिने गरेको ओली निकट नेताहरू नै बताउँछन्। ६ लाखभन्दा बढी संगठित सदस्य रहेको ‘क्याडर बेस’ पार्टी एमालेको चुनावमा भएको क्षतिमा नेतृत्व मात्र नभई ‘ग्याङ फोर’ पनि उत्तिकै जिम्मेवार रहेको नेताहरू बताउँछन्।

ओलीको दोस्रो घेरामा छन्– उपाध्यक्षद्वय विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ तथा केन्द्रीय सदस्य प्रदीप ज्ञवाली। यी नेताहरूले ओलीका गलत निर्णयविरुद्ध फरक मत राख्ने गरे पनि ‘निर्णयविरुद्ध बोल्ने हिम्मत’ भने गर्दैनन्। ओलीलाई गलत निर्णयबाट रोक्न यी नेताहरूले पटक–पटक प्रयास त गर्छन्, तर विद्रोह नगरेका कारण ओली आफ्ना निर्णयमा अडिग रहने गरेको नेताहरूको अनुभव छ। यो घेरामा सचिव महेश बस्नेत र पूर्वअर्थमन्त्री युवराज खतिवडा पनि छन्। खतिवडा त ओलीलाई गुमराहमा राख्न माहिर नै मानिन्छन्। त्यसैकारण उनले पटक–पटक लाभको पद लिइरहेका छन्।

सचिव बस्नेत भने ओलीका जुनसुकै निर्णयमा सतिसाल झैँ उभिएर ‘बचाउ’ गर्ने गर्छन्। बस्नेतले लाभ लिनेभन्दा पनि ‘सही–गलत नछुट्याई एकोहोरो’ बचाउमा उत्रिने गरेको आरोप छ।

गुटको राजनीति
अध्यक्ष ओली समूहकै उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेलका आआफ्ना गुट पार्टीमा सक्रिय छन्। ओली समूहभित्रै रहेर पनि उनीहरूबीच आन्तरिक प्रतिस्पर्धा चर्कै छ। २०७१ सालमा काठमाडौंमा भएको नवौं महाधिवेशनदेखि नै उनीहरूबीच आन्तरिक प्रतिस्पर्धा सुरु भएको हो। त्यो बेला पौडेल र पोखरेल दुवै जना उपमहासचिवमा लडेका थिए। पौडेल निर्वाचित भए, पोखरेल पराजित भए।

नेकपा कार्यकालमा पौडेल पार्टीको शक्तिशाली महासचिव बने। पोखरेललाई प्रदेशमा नै चुनाव लड्न लगाएर मुख्यमन्त्री बनाएर थन्क्याइयो। २०७८ मा चितवनमा भएको १०औं महाधिवेशनमा पौडेल र पोखरेल दुवै महासचिवका दाबेदार थिए। तर, ओलीको रोजाइमा पोखरेल परे। पौडेल उपाध्यक्ष भए। ११औं महाधिवेशनमा पनि पोखरेल नै महासचिव भए। पौडेल उपाध्यक्षमै दोहोरिए। पार्टीमा पछिल्लो समय पोखरेल समूहको प्रभुत्व रहँदै आएको छ। तर, पनि पौडेलको सल्लाह पनि ओलीले लिने गरेका छन्।

पोखरेल समूहमा पूर्वउपमहासचिव विष्णु रिमाल, सचिवहरू भानुभक्त ढकाल र राजन भट्टराई छन्। पछिल्लो समय पोखरेल, रिमाल, ढकाल र भट्टराईको घेराबन्दीमा ओली परेको पनि एकथरीको आरोप छ। विभिन्न स्थानमा हुने राजनीतिक नयाँ नियुक्ति, जनवर्गीय संगठनको नेतृत्व चयन, पार्टीको नेतृत्व चयन, उम्मेदवारी चयनमा उनीहरूकै हालीमुहाली हुने गरेको छ। पार्टी र नेतृत्वबारे जनतामा के प्रभाव पर्ला भनेर विश्लेषण गर्नेभन्दा आफू र आफू निकटको भूमिका कहाँ हुन्छ भनेर उनीहरूले हस्तक्षेप गर्ने गरेका कारण पार्टीको अवस्था कमजोर बनेको नेताहरू बताउँछन्। यतिसम्म कि उनीहरूकै घेराबन्दीका कारण अध्यक्ष ओलीसँग अरू नेताको भेटघाटमा पनि यो समूहले ‘नियन्त्रण’ गर्ने गरेको आरोप छ।

महासचिव शंकर पोखरेल
दाङका शंकर पोखरेल एमालेको दोस्रोपटक महासचिव बनेका हुन्। अध्यक्षपछिको सबैभन्दा शक्तिशाली पद नै महासचिव हो। २०७८ मा चितवनमा भएको १०औं महाधिवेशनबाट पोखरेल पहिलोपटक महासचिव बनेका थिए। २०८२ मंसिरमा भएको ११औं महाधिवेशनबाट पनि पुनः पोखरेल नै महासचिवमा निर्वाचित भए। उनलाई अन्तर्मुखी स्वभाव भएको नेताका रूपमा चिनिन्छ।

पोखरेल जनताको बहुदलीय जनवाद (जबज) का व्याख्याता पनि मानिन्छन्। अर्थशास्त्रमा स्नातकोत्तर गरेका पोखरेल अर्थ–राजनीतिमा पनि राम्रो दख्खल राख्छन्। अध्यक्ष ओलीका सबैभन्दा विश्वासपात्रका रूपमा मानिएका पोखरेल संसदीय राजनीतिमा भने खासै सफल छैनन्। २०५१ सालको आमनिर्वाचन र २०७४ सालको प्रदेशसभामा मात्रै विजयी भएका थिए। कुनै बेला सशक्त विद्यार्थी नेताका रूपमा स्थापित पोखरेल अनेरास्ववियुका अध्यक्ष र त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापति पनि भए। एक पटक सञ्चारमन्त्री र एकपटक लुम्बिनी प्रदेशको मुख्यमन्त्री भए। २०६६ को माधवकुमार नेपालको कार्यकालमा पोखरेल सञ्चारमन्त्री भएका थिए। 

संसदीय राजनीतिमा खासै सफल नभएका कारण उनले राजकीय सत्ताभन्दा पनि पार्टीको सत्ता चलाए। विद्यार्थी कालदेखि ओली निकट रहेका पोखरेल जुनसुकै परिस्थितिमा ओली समूहबाट बाहिर गएनन्। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेल वैचारिक नेता हुन्। बौद्धिक नेता भए पनि उनको जनसम्पर्क भने अत्यन्त कमजोर रह्यो। अन्तरमुखी स्वभावका कारण बुद्धिजीवी, पत्रकारसँग उनको सम्बन्ध सौहाद्र्र बन्न सकेन। दुईपटक महासचिव भएका पोखरेल ओलीको निर्देशनअनुसार नै पार्टीको जिम्मेवारीमा रहे। उनले पार्टीमा आफ्नै समूह पनि बनाए। उनको समूहमा रहेका पूर्वउपमहासचिव रिमाल, ढकाल र भट्टराईलाई ‘ग्याङ फोर’ को उपमा दिने गरिएको छ। उनीहरूका हरेक गतिविधिले घेराबन्दी गरेका कारण पार्टीमा क्षति बेहोर्दै गरेको आरोप छ।

एमालेले चुनावमा भोगेको क्षतिको दोषी एक जना ओलीलाई मात्र दिएर कोही पनि पन्छिन मिल्दैन। यसमा समग्र नेतृत्वमा रहेका सबै दोषी छन्, विशेषगरी महासचिव, उपाध्यक्षलगायत दोस्रो पुस्ता मुख्य जिम्मेवार हुन्। यत्रो संगठन भएको पार्टीको दुरगामी प्रभावबारे आकलन नै नगर्ने यस्तो दोस्रो र तेस्रो पुस्ताले भोलि नेतृत्व गर्ला भनेर कसरी आशा गर्ने ? यही ‘हसगिरी’ प्रवृत्तिका कारण नै अध्यक्ष ओली र पार्टी दुवै बिग्रिएका हुन्।
प्रा.डा. जनार्दन आचार्य, राजनीतिक विश्लेषक

पूर्वउपमहासचिव विष्णु रिमाल
जनताबाट एकपटक पनि अनुमोदन नभएका रिमाल अध्यक्ष ओलीको रोजाइमा पर्ने गरेका छन्। २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीले रिमाललाई प्रमुख राजनीतिक सल्लाहकार बनाए। दोस्रोपटक २०७४ मा प्रधानमन्त्री हुँदा पनि रिमाल नै प्रमुख राजनीतिक सल्लाहकार भए। २०७८ मा तेस्रोपटक प्रधानमन्त्री हुँदा पनि रिमाल नै राजनीतिक सल्लाहकार थिए। त्यस्तै, २०८१ मा उनी नै भए।

रिमाल लामो समयदेखि अध्यक्ष ओलीको सचिवालयमा रहेर काम गरिरहेका छन्। एमालेका पूर्वउपमहासचिव रिमाल ट्रेड युनियनको नेतृत्वबाट मूलधारको राजनीतिमा आएका थिए। उनी ट्रेड युनियन महासंघ (जिफन्ट) को अध्यक्ष पनि भए।

ओली चारैपटक प्रधानमन्त्री हुँदा बालुवाटारमा रिमालको रजाइँ चलेको आरोप लाग्ने गरेको छ। गुमराहमा राख्ने र अरू नेताहरूका कुरा लगाउने गरेका कारण कैयौं नेताहरूसँग ओलीको सम्बन्ध बिग्रेको नेताहरू बताउँछन्। ओली शक्तिमा भएका बेला कुन नेतालाई भेट्न दिने र कुनलाई ओलीसँग भेट्न नदिने निर्णय पनि उनै रिमालले गर्थे। रिमालको व्यक्तिगत स्वार्थमा ओली अघि बढ्दा पार्टीलाई क्षति पुगेको नेताहरू बताउँछन्। तर, विषयवस्तुलाई सजिलै बुझ्न सक्ने क्षमता र व्यवस्थापकीय कुशलताका कारण उनी ओलीको रोजाइमा परिरहेको ओली निकट नेताहरू बताउँछन्।

शक्ति र सत्तामा रजगज गरिरहे पनि रिमाल नेता–कार्यकर्ताबीच भने अप्रिय छन्। त्यसैकारण संसदीय चुनाव लड्न ‘डराउने’ रिमाल पार्टीको नेतृत्वका लागि हुने निर्वाचनमा पनि पटक–पटक पराजित भएका छन्। नवौं महाधिवेशनमा सचिवमा लडेका थिए, पराजित भए। १०औंमा भने ओलीकै प्रभावमा महाधिवेशन भएका कारण उपमहासचिवमा निर्वाचित भए। ११औंमा पनि पराजित भए।

null

सचिव भानुभक्त ढकाल
सचिव भानुभक्त ढकाल ओलीको विश्वासपात्रमा पर्छन्। ओलीले जस्तोसुकै निर्णय गरे पनि ‘हस’ भन्ने स्वभावका कारण उनी ओलीको रोजाइमा पर्ने गरेका छन्। पार्टीका जनवर्गीय संगठनमा ‘जुझारु र आशलाग्दा युवाहरूलाई आउनै नदिने’ र सम्भावना बोकेका युवा नेताहरूलाई तलबाटै पाखा लगाउने गरेको ढकालमाथि आरोप छ। युवासंघ, अखिल जस्ता पार्टीका नर्सरीका ‘मुना’ फुल्नै नदिई ढकालले चुँडाल्ने गरेका कारण कैयौं युवाहरू पार्टीबाट पलायन भएको र त्यसैकारण युवा–विद्यार्थी संगठनप्रति युवाहरूको आकर्षण घट्दै गरेको युवा नेताहरूको आरोप छ।

जनताको मतबाट टाढिँदै गए पनि ११औं महाधिवेशनबाट ढकाल पार्टी सचिव बनेका थिए। विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा आएका ढकाल पछिल्लो समय एकांकी भए। विवादका बीच उनले लगातार कानुन, स्वास्थ्य र पर्यटन मन्त्री भने। उनको कार्यकालमा मुलुकमा कोरोना महामारी फैलियो। स्वास्थ्य सामग्री खरिद (ओम्नी काण्ड) मा पनि ढकाल जोडिए। तर, ओलीले उनको बचाउ गरे। 

२०७० को दोस्रो संविधानसभामा समानुपातिक सांसद र २०७४ को निर्वाचनमा मोरङ–३ बाट निर्वाचित भई मन्त्रीसमेत बनेका थिए। २०७९ को निर्वाचनमा भने मोरङ–३ मै कांग्रेसका डा. सुनील शर्मासँग २२ हजारभन्दा बढी मतको फराकिलो अन्तरले पराजित भए। यसपटक तेह्रथुममा पराजित भए। उनलाई ओलीले जुनसुकै बेला पनि काखी च्याप्ने गरेको आरोप पार्टीभित्र लाग्ने गरेको छ।

सचिव राजन भट्टराई

चार चुनाव, चारैमा हार। तैपनि ओलीको रोजाइमा पर्ने गरेका छन्– एमाले सचिव डा. राजन भट्टराई। ‘टर्रो बोली, कोठे राजनीति, संकीर्ण विचार र मै हुँ’ भन्ने स्वभावका कारण उनले काठमाडौं–४ मा चारैपटक चुनाव हारे। ओलीको विश्वासपात्र रहेका कारण ११औं महाधिवेशनमा सचिव बने। उनले लामो समय ओलीको परराष्ट्र सल्लाहकारको रूपमा काम गरे।

भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) बाट विद्यावारिधि गरेका भट्टराईको एमाले सत्तामा रहँदा रजगज नै रह्यो। तर, उनी एकपटक पनि जनताबाट अनुमोदित हुन सकेनन्। तर, ओलीको निकट भएका कारण अवसर पाइरहेका छन्। ओलीले जस्तोसुकै गलत निर्णय गरे पनि बचाउ गर्ने र ओलीको आलोचना गर्ने नेताहरूका विरुद्ध ओलीसँग कुरा लगाउने गरेको आरोप डा. भट्टराईमाथि छ।

दोस्रो घेराः विरोध गर्छ, तर समर्पण गर्छ
ओलीको दोस्रो घेरामा छन्— उपाध्यक्षद्वय विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली। यो घेराका नेताहरूले ओलीका गलत निर्णयविरुद्ध आवाज उठाउने गरेका छन्। त्यसैकारण ओलीले बेलाबखत यो घेराका नेताहरूलाई ‘टाढा राख्ने गरेका’ छन्। कुनै बेला पौडेल अत्यन्तै निकट रहे पनि ओलीका एकतर्फी निर्णयमा असहमति जनाउने गरेका कारण ओलीले पौडेलसँग ‘दूरी’ कायम गर्ने गर्छन्।

गुरुङले पनि ओलीविरुद्ध बेलाबखत असहमति राख्ने गरेका छन्। तर, उनका पछिल्ला गतिविधिले पार्टीलाई ठूलै क्षति पु¥याएको छ। गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा सामाजिक सञ्जालमा प्रतिबन्धको निर्णय गरे, त्यहीँबाट जेन–जी आन्दोलनको सुरुवात भयो। त्यसबेला सरकारको प्रवक्ता थिए, उनका अभिव्यक्तिहरू पनि धेरै आलोचित भए। मन्त्री हुँदा उनको बोली, व्यवहारले पनि पार्टीलाई क्षति पुगेको आरोप लाग्ने गरेको छ।

प्रदीप ज्ञवाली शालीन र भद्र नेताका रूपमा चिनिन्छन्। तर, उनी पनि ओलीको वरिपरि रहेर रजगज गर्ने नेताकै रूपमा चिनिन्छन्। ओली निकट रहेर उनले पनि पाउनेसम्म अवसर पाएको पार्टीभित्रै चर्चा हुने गरेको छ। बेलाबखत ओलीसँग फरक मत राख्ने गरेका कारण ज्ञवाली ११औं महाधिवेशनबाट पदविहीन बने। अर्कोतिर, आफूलाई साँच्चिकै अप्ठ्यारो परेका बेला मात्रै ओलीले यो घेराका नेताहरूसँग सहयोग माग्ने गरेको नेताहरूको अनुभव छ। यद्यपि, यो घेराका नेताहरूले पनि ओलीबाट भने फाइदा उठाइरहेका छन्।

‘हसगिरी’ले बिग्रेको एमाले
एमाले ओरालो लाग्नुमा अध्यक्ष ओलीका जुनसुकै निर्णयमा पनि ‘हसगिरी’ गर्ने ग्रुप जिम्मेवार रहेको राजनीतिक विश्लेषकहरू बताउँछन्। राजनीतिक विश्लेषक प्रा.डा. जनार्दन आचार्य एमालेले चुनावमा भोगेको क्षतिको दोषी एक जना ओलीलाई मात्र दिएर पन्छिन कोही पनि नपाउने बताउँछन्। अध्यक्षभन्दा पनि दोस्रो पुस्ता बढी दोषी रहेको उनको ठहर छ। ‘यसमा समग्र लिडरसिपमा रहेका सबै दोषी छन्, महासचिव, उपाध्यक्षलगायत दोस्रो पुस्ता मुख्य जिम्मेवार हुन्,’ उनले भने, ‘चार मात्रै होइन नेतृत्वमा रहेकाहरू सबै जिम्मेवार छन्। उनीहरू अध्यक्षको ‘लाउके’ भएर अघिपछि दौडिए, वरिपरि कम्मर हल्लाएर मात्रै हिँडे। अध्यक्ष ओलीले जे भने ‘हस’ मा मात्रै लाए। न कुनै राम्रो सल्लाह दिए।’

यत्रो संगठन भएको पार्टीको दुरगामी प्रभावको विषयमा आकलन गर्नेले के भोलि नेतृत्व गर्छ भन्ने आशा नगर्ने भन्दै उनले प्रश्न गरे। दोस्रो–तेस्रो पुस्ताको ‘हसगिरी’ले नै अध्यक्ष ओली र पार्टीलाई बिगारेको उनको विश्लेषण छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.