युद्धविरामको सहमतिसँगै कच्चा तेलको मूल्यमा उच्च गिरावट

युद्धविरामको सहमतिसँगै कच्चा तेलको मूल्यमा उच्च गिरावट
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताको युद्धविराम घोषणा गरेसँगै बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको छ । 

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, बुधबार अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा तल ओर्लिएको छ। ट्रम्पले विश्वको झन्डै २० प्रतिशत तेल ओसारपसार हुने 'स्ट्रेट अफ  होर्मुज' इरानले तत्काल र सुरक्षित रूपमा खुला गर्न तयार भएको बताएसँगै तेलमा उच्च गिरावट आएको हो । 

पछिल्लो तथ्यांकअनुसार ब्रेन्ट क्रुडको मूल्य १३.६ प्रतिशत अर्थात् (१४.८४ डलर) ले घटेर प्रतिब्यारेल ९४.४३ डलर कायम भएको छ। त्यस्तै, वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य १४.३ प्रतिशत (१६.१३ डलर) ले ओरालो लाग्दै प्रतिब्यारेल ९६.८२ डलरमा झरेको छ।

इरानले आफ्नो माग पूरा नगरे 'ठूलो क्षति' बेहोर्नुपर्ने चेतावनी दिएका ट्रम्पले अन्तिम समयमा आएर युद्धविरामको बाटो रोजेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'यो दुवै पक्षीय युद्धविराम हुनेछ।' यसअघि उनले माग पूरा नभए इरानी सभ्यता नै समाप्त पारिदिने चेतावनी दिएका थिए।

इरानी विदेशमन्त्री अब्बास अरागचीले पनि एक विज्ञप्ति जारी गर्दै आफूमाथि हुने आक्रमण रोकिए इरानले पनि आक्रमण बन्द गर्ने बताएका छन्। उनले इरानी सशस्त्र बलको समन्वयमा दुई हप्ताका लागि  होर्मुज जलसन्धिबाट सुरक्षित रूपमा ढुवानी गर्न दिइने स्पष्ट पारेका छन्।

युद्धविरामको खबरले मूल्य घटाए पनि बजार विश्लेषकहरू अझै ढुक्क छैनन्। एमएसटी मार्कीका विश्लेषक साउल काभोनिकका अनुसार, शान्ति सम्झौता भए पनि भविष्यमा इरानले पुनः  होर्मुज जलसन्धिमा अवरोध पुऱ्याउन सक्ने जोखिम कायमै रहेकाे बताएका छन्।

यसअघि अमेरिका-इजरायल र इरानबीचको तनावका कारण मार्च महिनामा तेलको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो, जुन इतिहासकै उच्च मासिक वृद्धि हो।

राष्ट्रपति ट्रम्पले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त भएको र त्यो दीर्घकालीन शान्तिका लागि सकारात्मक आधार भएको बताएका छन्। यद्यपि, खाडीका केही देशहरूमा अझै पनि मिसाइल र ड्रोन आक्रमणका चेतावनीहरू जारी गरिएकाले स्थिति पूर्ण रूपमा शान्त भइनसकेको संकेत मिल्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.