आइपीएल : मुम्बई इन्डियन्सलाई पराजित गर्दै राजस्थानको तेस्रो जित
काठमाडौं : राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई २७ रनले पराजित गर्दै आइपीएल २०२६ को संस्करणमा तेस्रो जित दर्ता गरेको छ। भारतीय राष्ट्रिय टोलीको अनुभवी खेलाडीहरूको बाहुल्यता रहेको मुम्बई इन्डियन्सविरुद्ध राजस्थान रोयल्सको युवा टोली रहेको थियो।
जसप्रति बुमराह विकेटविहीन रहे। युवाद्वय यशस्वी जैसवाल र वैभव सूर्यवंशीको आक्रामक सुरुवातले राजस्थान रोयल्सलाई जिततर्फ डोर्यायो।
गुहाटीमा भएको भारी वर्षाका कारण मैदान भिजेको हुँदा टस हुन नै ढिलो भएको थियो। जसका कारण खेल ११ ओभरमा घटाएर खेलाइएको थियो।
बारसापारा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थान रोयल्सले निर्धारित ११ ओभरमा ३ विकेटको क्षतिमा १५० रन बनाएको थियो। जसको जवाफी ब्याटिङमा मुम्बईले निर्धारित ११ ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्रै बनाउन सक्यो।
मुम्बईका लागि नमन धिर र शेर्फान रउरफर्डले समान २५/२५ रन बनाए। तिलक प्रमाणले १४ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
राजस्थान रोयल्सका लागि बलिङ तर्फ नान्द्रे बर्गर, रवि विस्नोइ र सन्दीप शर्माले २-२ विकेट लिए। जोफ्रा आर्चर र तुषार देशपाण्डेले १-१ विकेट लिए।
त्यसअघि, ब्याटिङ गरेको राजस्थानका लागि ओपनर ब्याटर यशस्वी जैसवाल सर्वाधिक ७७ रनको अर्धशतकीय पारी सहित अविजित रहे। उनले ३२ पलमा १० चौका र चार छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि युवा ब्याटर वैभव सूर्यवंशीसँग ८० रनको साझेदारी गर्दै राजस्थान रोयल्सलाई बलियो सुरुवात दिलाएका थिए। वैभव सूर्यवंशीले १४ बलमा १ चौका र ५ छक्का सहित ३९ रनको पारी खेले। कप्तान रियान परागले २० रन बनाए। सिम्रोन हेटमायर ६ रनमा अविजित रहे।
मुम्बईका लागि बलिङतर्फ अलाह गजनफरले २ विकेट लिए। सार्दुल ठाकुरले १ विकेट लिए। राजस्थानको यो तेस्रो जित हो । हालसम्म राजस्थान अपराजित रहेको छ। ३ खेलमा ३ जित सहित ६ अंक जोड्दै राजस्थान रोयल शीर्ष स्थानमा उक्लिएको छ। मुम्बई भने समान ३ खेलमा १ जितसहित २ अंकको साथमा अंकतालिकाको सातौं स्थानमा रहेको छ।
बुधबार आइपीएलमा एक खेल रहेको छ। जसमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सले नेपाली समयअनुसार ७ :४५ मा खेल्नेछन्।
प्रतिक्रिया दिनुहोस !