आईपीएलको पहिलो साता : ‘फ्लप’ भएका यी स्टार
एजेन्सी /नयाँ दिल्ली : इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु भएको एक साता बितिसकेको छ। एक साताको खेल सकिसक्दा केही ठूला नामका खेलाडीको प्रदर्शन फिका देखिएको छ।
करोडौं रुपैयाँमा बिकेका यी खेलाडीले टिमको आशा र भरोसा अनुसार प्रदर्शन गर्न सकेका छैनन्। स्टार खेलाडीको खराब प्रदर्शनले फ्यानसँगै टिम व्यवस्थापकलाई पनि चिन्तित बनाएको छ। प्रतियोगिता सुरु भएको एक सातामै ‘फ्लप’ खेलाडीको सूचीमा परेका केही खेलाडीको चर्चा यहाँ गरिएको छ।
अर्शदीप सिंह
गुजरात टाइटन्ससँगको खेलमा त उनले एक ओभरमै ११ बल गर्नु परेको थियो। जुन आईपीएलको इतिहासमा सबैभन्दा लामो ओभर पनि बन्न पुगेको छ। सोमबार वर्षाका कारण रद्द भएको कोलकाता नाइट राइडर्ससँगको खेलमा पनि उनले दुई ओभर बलिङ गरे पनि कुनै विकेट लिन सकेनन्।
सञ्जु सामसन
विकेटकिपर ब्याटर सञ्जु सामसनले केही समयअघि भारतलाई घरेलु भूमिमा टीट्वेन्टी विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। तर, उनले त्यो प्रदर्शन आईपीएलमा दोहोर्याउन सकेका छैनन्।
चेन्नई सुपर किङ्सका सामसनले आईपीएलमा भने संघर्ष गरिरहेका छन्। चेन्नईले १९औं संस्करणमा हारको ह्याट्रिक गर्दा उनले पछिल्ला तीन खेलमा ६, सात र नौ रन मात्रै बनाउन सकेका छन्। लगातार असफल सामसनको फर्मलाई लिएर पनि आलोचना हुन थालेको छ। चेन्नईका मुख्य खेलाडी महेन्द्रसिंह धोनी अनुपस्थित नभएका कारण पनि विकेटकिपिङमा अवसर पाइरहेका उनको विकल्प व्यवस्थापनले खोज्न थालेको चर्चा पनि हुन थालेको छ।
क्यामरन ग्रिन
कोलकाता नाइट राइडर्सका सबैभन्दा महंगा विदेशी खेलाडी हुन्, क्यामरन ग्रिन। तर, उनले आफ्नो मूल्य अनुसारको प्रदर्शन भने मैदानमा गर्न सकेका छैनन्।
चोटका कारण उनले बलिङ गर्न सकेका छैनन् भने ब्याटिङमा पनि सम्झन लायक प्रदर्शन गर्न सकेका छैनन्। मुम्बई इन्डियन्ससँगको खेलमा १८ रन जोडेका उनले सनराइजर्स हैदरावादविरुद्धको खेलमा दुई रनमै पेभेलियन फर्किएका थिए।
केएल राहुल
दिल्ली क्यापिटल्सका अनुभवी खेलाडी हुन केएल राहुल। आईपीएलका अघिल्ला संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले यस पटक भने त्यो प्रदर्शन दोहोर्याउन सकेका छैनन्। उनले पछिल्लो दुई पालिमा मात्रै एक रन बनाउन सकेका छन्। लखनउ सुपर जायन्टसँगको खेलमा खातै नखोली पेभेलियन फर्किएका उनले मुम्बई इन्डियन्ससँगको खेलमा एक रन जोडेका थिए।
वरुण चक्रवर्ती
कोलकाता नाइट राइडर्सका ‘मिस्ट्री’ स्पिनर हुन्, बरुण चक्रवर्ती। तर, कोलाकाताले खेलेका पछिल्ला दुई खेलमा उनले आफ्नो जादु देखाउन सकेका छैनन्। मुम्बई इन्डियन्ससँगको खेलमा चार ओभरमा ४८ रन खर्चिएका थिए।
यस्तै सनराइजर्स हैदरावादसँगको खेलमा दुई ओभरमा ३१ रन खर्चिएका थिए। त्यही कारण उनलाई कप्तान अजिन्क्या राहनेले त्यसपछि बलिङ नै गर्न दिएनन्। उनको बलिङको धार कमजोर भएको मात्रै होइन, ‘लेन्थ’ र ‘लाइन’ पनि भड्किएको थियो।
प्रतिक्रिया दिनुहोस !