अमेरिका–इरान युद्धविरामले भारतीय शेयर बजारमा उछाल
नयाँ दिल्ली : अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम घोषणा भएसँगै आज भारतीय शेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ। मध्यपूर्वमा जारी तनावका कारण विगत केही समयदेखि दबाबमा रहेको बजारले युद्धविरामको खबरसँगै लय समातेको हो।
बुधबार कारोबार सुरु भएदेखि नै उकालो लागेको सेन्सेक्स ३,००० अंक अर्थात् ३.९५ प्रतिशतले बढेर ७७,६०० को विन्दुमा पुगेको छ। त्यसैगरी, निफ्टी पनि ९,००० अंक अर्थात् ३.८० प्रतिशतको वृद्धिसहित २४,००० को ऐतिहासिक विन्दुमा पुग्न सफल भएको छ।
बीबीसीमा उल्लेख भएअनुसार, बजारमा आज विशेषगरी अटो, रियाल्टी र बैंकिङ समूहका शेयरहरूमा झुकाव देखिएको छ। त्यस्तै अटो र रियाल्टी इन्डेक्स करिब ५ प्रतिशतले वृद्धि भएकाे छ। सरकारी बैंक र मेटल इन्डेक्समा ३ प्रतिशतभन्दा बढीको वृद्धि भएकाे छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा १३ प्रतिशतले गिरावट आएको छ। ब्रेन्ट क्रूड प्रति ब्यारल ९५ डलरमा झरेको छ।
अमेरिका र इरानबीच तनाव सुरु हुनुअघि कच्चा तेलको मूल्य प्रति ब्यारल ७० डलर आसपास थियो, जुन तनावका बीच १२० डलरसम्म पुगेको थियो। मध्यपूर्वको अस्थिरताले भारतीय शेयर बजारले लामो समयदेखि कठिन मोडको सामना गरिरहेको थियो। तर, पछिल्लो युद्धविरामको घोषणाले लगानीकर्ताहरूमा उत्साह भर्दै बजारमा सुधारका संकेतहरू देखिएका छन्।
प्रतिक्रिया दिनुहोस !