सन्दीपको बलिङमा बागमतीलाई राहत, कोशी पराजित
वीरगन्ज : सन्दीप लामिछानेको उत्कृष्ट बलिङसंगै बामगती प्रदेशले कोशीमाथि बुधबार सहज जित निकालेको छ । जनकपुरधामस्थित रामजानकी मैदानमा बागमतीले कोशीलाई सात विकेटले पराजित गरेको हो ।
कोशीले दिएको एक सय रनको सामान्य लक्ष्य बागमतीले ९ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । बागमतीका लागि विवेक मगरले विष्फोटक ब्याटिङ गर्दै २८ बलमा अविजित ६१ रन बनाए । विवेकले दुई छक्का र १० चौका प्रहार गरे । प्रतिश जिसीले पाँच बलमा १७ रन बनाए । उनले दुई छक्का र एक चौका प्रहार गरे ।
यसअघि बागमतीले ओपनर रिङजिन लामा र शुभ कंसकारलाई सस्तैमा गुमाएको थियो । रिङजिङले १७ रन बनाउँदा कंसकार एक रनमै आउट भएका थिए । यसैगरी इशान पाण्डे डकआउट हुन पुगे । बलिङतर्फ कोशीका विपिन महतोले दुई र ज्ञानेन्द्र श्रेष्ठले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको कोशीले २८.२ ओभरमा सबै विकेट गुमाएर ९९ रन मात्रै जोडेको थियो । कोशीका लागि कप्तान सुजन थपलियाले सर्वाधिक २० रन बनाए । यसैगरी अंकित सुवेदीले १९, रोहन साहले १८ र शिवांश बजगाईंले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कोशीलाई सस्तैमा समेट्ने क्रममा बागमतीका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । प्लेयर अफ दि म्याच सन्दीपले ७.२ ओभर बलिङ गर्दै ३३ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी रिजन ढकालले दुई तथा प्रतिश जिसी र इशान पाण्डेले समान एक/एक विकेट चटकाए । जितसँगै बागमती तालिकामा एक स्थान माथि उक्लिएको छ । बागमतीले सात खेलमा ६ अंक जोडेको छ । कोशी भने अंकतालिकाको पुछारमा छ । सात खेल खेलेको कोशीले एक अंक मात्रै जोडेको छ ।
प्रतिक्रिया दिनुहोस !