दोलखाको उच्च हिमाली भेगमा हिमपात
दोलखा: दोलखाको उच्च हिमाली भेगमा हिमपात भएको छ भने तल्लो भेगमा वर्षा भइरहेको छ। प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक,शैलुङ,हनुमन्ते,चेर्दुङलगायतका क्षेत्रमा चैतको तेस्रो साता बुधबार हिमपात भएको हो।
यसअघि सोमबार पनि हिमपात भएको थियो । चैतको अन्तिम सातासम्म हिमपात भएसँगै चिसो बढेको छ । दोलखामा अहिले आलु किसानहरू चिन्तित छन् । गोड्ने बेलाको आलु असिनाले चुटेपछि फल नलाग्ने चिन्तामा किसानहरू छन्।
हिमपातसँगै धार्मिक स्थल कालिञ्चोकमा आन्तरिक पर्यटकको चहलपहल बढेपछि होटल व्यवसायीहरु उत्साहित बनेका छन् । तीन हजार आठ सय ४२ मिटर उँचाईमा रहेको कालिञ्चोकमा यो वर्ष पाँच पटक भन्दा बढी हिमपात भइसकेको छ । कालिञ्चोक क्षेत्रमा यो वर्ष पहिलो पटक माघ १५ गते हिमपात भएको थियो ।
केही समयदेखि कालिञ्चोकमा वर्षमा २/४ पटकमात्र हिमपात हुने गरेकोमा यो वर्ष भने पाँच पटक भन्दा बढी हिमपात भएको हो । प्रत्येक पटक थोरै समय मात्र हिमपात भएकाले धेरै दिनसम्म हिउँ नरहने स्थानीयहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !