भारतीय नागरिकका एकै परिवारले कसरी लिए नेपाली नागरिकता ?
रौतहट : नक्कली नागरिकतासम्बन्धी काण्डमा रौतहटका एक ब्यक्ति पक्राउ परे । मंगलबार रौतहटका बाबुनन चौधरी कलवार काठमाडौंको कलङ्कीबाट पक्राउ परेपछि नागरिता कसरी वितरण भयो भन्ने प्रश्न उब्जिएको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौटहट पठाइएको छ । उनीविरुद्ध गत भदौ २ गते रौटहट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए । नागरिकता जस्तो संबेदनशिल विषयमा राज्य कति लापरवाही बन्न पुगेको रहेछ भन्ने कुरा यो घटनाले पुष्टि गरिदिएको छ ।
भारतीय नागरिक उनी एक्लैले बनाएको नेपाली नागरिकताले उनका पुरै परिवार नेपाली नागरिक बन्न सफल बने । आपराधिक पृष्ठभूमिका भारत बिहार राज्यका चौधरीले २०६३ साल माघ ८ गते लिएको ३२२०८७–१४ नम्बरको नेपाली नागरीकता विरुद्ध उजुरी परेपछि उनी पक्राउ परेका छन् । उनको नागरिकता नक्कली कागजपत्रका आधारमा जारी हुँदा त्यही नागरिकताको आडमा उनका परिवारका सदस्यहरुको समेत नागरिकता बनेको पाइएको छ ।
आफ्नो नागरिकता बनाउन सफल चौधरीले आफ्न २ छोरीसहित श्रीमती र २ छोराको समेत नगरिकता बनाएका छन् । २७–०१–७६–००४४२ रोशन चौधरी, २७–०१–७६–००४४३ अनु चौधरी, २७–०१–७६–००४४४ अर्की छोरी, २७–०१–७६–००४४५ दिपु चौधरीको नाममा समेत नागरिकता जारी भएको छ ।
नेपाल नागरिकता ऐन, २०६३ को दफा १२ ले रद्दसम्बन्धी व्यवस्था गरेको छ । २०७२ वैशाखदेखि ०८१ चैत मसान्तसम्मको अवधिमा तीन हजार नौ सय ५२ वटा नेपाली नागरिकता रद्द भएको देखाउँछ । त्यस्तै, चालु आर्थिक वर्ष २०८२–०८३ को कात्तिक मसान्तसम्म मात्र एक हजार तीन सय ३३ जनाको नागरिकता खोसिएको छ ।
गृह मन्त्रालयका अनुसार झुटो विवरणका आधारमा नेपाली नागरिकता लिने मधेसका जिल्लाका धेरै र स्याङ्जा, चितवन, लमजुङलगायत जिल्ला पर्दछन् । नेपाल नागरिकता ऐन, २०६३ को दफा १३ मा कसैले पनि एक भन्दा बढी नागरिकता लिन नपाइने भनिएको छ भने दफा १४ मा कुनै विदेशी व्यक्तिले झुटो विवरण वा नेपाली नागरिक भएको झुटो बयान दिई नागरिकता लिएमा अभिलेखबाट हटाउने व्यवस्था छ ।
त्यसरी नागरिकता लिएमा कैद र जरिवाना सजाय हुने दफा २१ मा व्यवस्था छ । कुनै विदेशीले नेपाली नागरिक भएको झुटो दाबी र विवरण दिई नागरिकता प्राप्त गरेमा एकदेखि पाँच वर्षसम्म कैद वा पचास हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन्छ । सँगै उसलाई नागरिकता दिलाउन सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई ६ महिनादेखि तीन वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजारसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ । त्यस्तै, नागरिकताको झुटो वा किर्ते प्रमाणपत्र खडा गर्ने–गराउनेलाई एकदेखि पाँच वर्षसम्म कैद तथा २० हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस !