गृहमन्त्री र स्वीट्जरल्यान्डका राजदूतबीच भेट
स्वीस बैंकमा नेपालीहरूले पैसा राखे/नराखेको अनुसन्धानमा सहयोग गर्न आग्रह
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले अवैधरूपमा आर्जन गरेको पैसा नेपालीहरूले स्वीस बैंकमा राखे/नराखेको विषयमाथिको अनुसन्धानमा सहयोग गर्न नेपालस्थित स्वीट्जरल्यान्डका राजदूतावासलाई आग्रह गरेका छन्। गृहमन्त्री गुरुङले बुधबार गृह मन्त्रालयमा नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डेनिएल मैवलीसँगको भेटमा यस्तो आग्रह गरेका हुन्।
नेपाली उच्च पदस्थ व्यक्तिहरुले भष्ट्राचार लगायतका कसूरबाट अवैधरूपमा आर्जन गरेको रकम स्वीस बैंकमा जम्मा गरे/नगरेको विषयमा अनुसन्धानका लागि दुई देशबीच सहकार्य गर्न उनको आग्रह छ।
रकम जम्मा गरेको देखिएमा नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउने व्यवस्था गर्न आवश्यक पहल गरिदिन पनि गृहमन्त्री गुरुङले राजदूतसमक्ष अनुरोध गरे। गैरकानुनी ढंगलबाट आर्जेको रकम केही नेपाली व्यवसायीले स्वीस बैंकमा राखेको भन्ने चर्चा भइरहेका बेला गृहमन्त्रीले औपचारिकरूपमा स्वीस राजदूतसमक्ष आग्रह गरेका हुन्।
त्यस्तै गृहमन्त्री गुरुङले दुई सरकार बीच आप्रवासन मामिलाहरूमा सहकार्य गर्न पनि आग्रह गरे। भेटमा राजदूत मैवलीले नेपालमा जलवायु परिवर्तन र विपद जोखिम न्यूनीकरणका लागि पूर्व चेतावनी प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताएकी थिइन्। उनले त्यसका लागि स्वीस सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाइन्।
प्रतिक्रिया दिनुहोस !