विराट गोल्डकपमा सम्राटको प्रवेश, यस्ता छन् टोली
विराटनगर : विराटनगरमा आयोजना हुन लागेको ‘नोबेल मेडिकल कलेज विराट गोल्डकप’ यस पटक नयाँ उत्साह र प्रतिस्पर्धात्मक संरचनासहित आयोजना हुने भएको छ ।
२०१८ सालदेखि महेन्द्र गोल्डकपको नामबाट सुरु भएको यो ऐतिहासिक प्रतियोगितामा पहिलो पटक मोरङ जिल्ला लिग विजेता स्थानीय क्लबको सहभागिता हुने भएको छ । जसले प्रतियोगितालाई थप रोचक र बहुआयामिक बनाएको छ । आयोजक विराट गोल्डकप ट्रष्टले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
विराटनगरस्थित सहिद रंगशालामा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत ट्रष्टले खेलप्रेमी, दर्शक तथा सरोकारवालालाई प्रतियोगिता सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ । ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार यस पटक प्रतियोगिताको स्वरूपमा केही परिवर्तन गर्दै व्यावसायिक क्लब, विभागीय टोली र स्थानीय एवं अन्तर्राष्ट्रिय क्लबबीच सन्तुलन कायम गरिएको छ ।
चैत्र २८ गतेदेखि सुरु भई २०८३ वैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा करिब एक करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विजेता टोलीले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै, प्रत्येक खेलमा उत्कृष्ट खेलाडी र विभिन्न चार विधामा अतिरिक्त पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने छ । यस संस्करणको सबैभन्दा ठूलो आकर्षणमध्ये एक मोरङ जिल्ला लिग विजेता सम्राट स्पोर्टिङ क्लब विराटनगरको ऐतिहासिक सहभागिता हो । २०५४ सालमा स्थापित यो क्लबले पहिलो पटक विराट गोल्डकपमा स्थान पाएको छ । लगातार आठ पटक जिल्ला लिग जित्दै आएको सम्राट स्पोर्टिङले कोमल खवासको कप्तानीमा विराट गोल्डकपमा प्रवेश पाएको हो । क्लबले उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारी गरेको छ । स्थानीय क्लबले यसरी राष्ट्रियस्तरको प्रतियोगितामा प्रवेश गर्नु मोरङको फुटबल इतिहासका लागि महत्वपूर्ण मानिएको छ ।

प्रतियोगितामा विभागीय शक्तिका रूपमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ एफसीको सहभागिता रहनेछ । आर्मी क्लब २०७१ सालमा झापा–११ सँग फाइनलमा पराजित भए पनि निरन्तर उपाधि दौडमा रहने बलियो टोली मानिन्छ । नेपाल पुलिस क्लबले २०७२ सालमा झापा–११ लाई पराजित गर्दै उपाधि जितेको इतिहास बोकेको छ । तर, पछिल्ला वर्षमा यसको प्रदर्शन उतारचढावपूर्ण रहँदै आएको छ । त्यस्तै, एपीएफ एफसीले २०७७–०७८ सालमा भारतको पञ्जाब पुलिस क्लबलाई हराउँदै उपाधि जितेको थियो । २०७१ सालको विराट गोल्डकप विजेता झापा–११ पनि यसटक प्रतियोगितामा सहभागी हुँदैछ ।
त्यसैगरी, व्यावसायिक क्लबमध्ये चर्च ब्वाईज युनाइटेड र मच्छिन्द्र फुटबल क्लब पनि उपाधिका प्रमुख दाबेदारका रूपमा रहेका छन् । चर्च ब्वाईज युनाइटेड पछिल्लो समय सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेर चर्चामा आएको क्लब हो । जसले यसअघि विराट गोल्डकपमा उपविजेता स्थान हासिल गरिसकेको छ । मच्छिन्द्र फुटबल क्लब पनि पछिल्लो संस्करणमा उपाधि जितिसकेको अनुभवी टोली हो । जसको प्रदर्शन निरन्तर बलियो रहँदै आएको छ ।
अन्तर्राष्ट्रिय सहभागितामा भारत झारखण्डस्थित अल झारखण्ड बिरसा मुन्डा फुटबल एकेडेमी पहिलो पटक विराट गोल्डकपमा सहभागी हुँदैछ । सन् २००९ मा स्थापना भएको यो एकेडेमीले युवा खेलाडी उत्पादनमा सक्रिय भूमिका खेल्दै आएको छ । ऐतिहासिक रूपमा हेर्दा २०१८ सालमा सुरु भएको यस प्रतियोगिताको पहिलो संस्करणमै भारतीय टोली इलेभेन ज्वेल्सले उपाधि जितेको थियो । जसले विदेशी टोलीहरूको प्रभावलाई देखाएको थियो । तर, त्यसयता विराट गोल्डकपको उपाधि दौडमा विदेशी टिम हाबी हुन् सकेका छैनन् ।
आयोजकका अनुसार सहिद रंगशालामा ब्यानर, होर्डिङ बोर्ड, मैदान मर्मत तथा प्रकाश व्यवस्थापनको काम अन्तिम चरणमा छन् । फ्लड लाइट सञ्चालनका लागि आवश्यक जेनेरेटर बिग्रिएको र त्यसको मर्मत आवश्यक रहेको ट्रष्टले जनाएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्ड मातहत रहेको फ्लड लाइट प्रयोगबापत दैनिक शुल्क तिर्नुपर्छ ।
समग्रमा यस पटकको विराट गोल्डकप विभागीय शक्ति, व्यावसायिक क्लब, विदेशी टोली र पहिलो पटक सहभागी स्थानीय क्लबबीचको रोचक प्रतिस्पर्धाको रूपमा अघि बढ्ने ट्रष्टका महासचिव विनेश बस्नेतले बताए । ‘विशेषगरी सम्राट स्पोर्टिङको प्रवेशले प्रतियोगितामा नयाँ ऊर्जा थपेको छ,’ उनले भने, ‘चर्च ब्वाईज, आर्मी, पुलिस, एपीएफ र मच्छिन्द्र जस्ता अनुभवी टोलीहरूले उपाधि दौडलाई अझ कठिन बनाउने निश्चित छ ।’
प्रतिक्रिया दिनुहोस !