मन्दिर निर्माणका लागि महायज्ञ

मन्दिर निर्माणका लागि महायज्ञ
सुन्नुहोस्

भोजपुर : पञ्चकन्या देवी मन्दिर निर्माणका लागि पौवादुङमा गाउँपालिका–३, च्याङ्ग्रेमा विराट ज्ञानमहायज्ञ तथा पौवादुङमा सांस्कृतिक महोत्सव २०८३ आयोजना गरिने भएको छ । वैशाख ९ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महायज्ञका लागि जनस्तरबाटै आर्थिक सहयोग संकलन गरिने आयोजकले जनाएको छ ।

गाउँपालिकाले महायज्ञलाई धार्मिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनसँग जोडिएको अभियानको रूपमा लिएको जनाएको छ । महोत्सव अवधिभर पञ्चकन्या देवीको महायज्ञ हवन, पूजाआरती, नित्यपुजा, झाँकीसहितको कथावाचन, योग तथा स्वास्थ्य शिविरलगायत विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ । महायज्ञमा सहभागी श्रद्धालुहरूले श्रीमद्देवी भागवत महापुराण नवाह धनधान्याञ्चल, गौदान, पितृतर्पण, चण्डीपाठ, तुलादान तथा सामूहिक भजन जस्ता धार्मिक कार्यमार्फत पुण्य आर्जन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको उक्त मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि करिब एक करोड ८३ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। पुरातात्विक शैलीमा बन्ने मन्दिर गजुरसहितको ३१ फिट ४ इन्च चौडाई तथा ७ फिट ३ इन्च उचाई हुने जनाइएको छ । मन्दिर निर्माणमा सक्दो रूपमा मानव श्रम प्रयोग गरी लागत घटाउने रणनीति अपनाइने गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

महायज्ञ आयोजनाका लागि विभिन्न विषयगत समिति गठन गरिनेछ भने निर्माण सहयोगका लागि स्थानीयबासी, गाउँपालिकाबासी तथा जिल्लाबासीसँगै बाहिरी जिल्लामा बसोबास गर्ने पौवादुङमाबासीलाई समेत परिचालन गरिने तयारी छ । यसका लागि झापा, मोरङ, सुनसरी र काठमाडौंमा उपसमिति गठन गरिने उनले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले महायज्ञबाट संकलित कुल रकमको ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने नीति बनाइएको जानकारी दिए । मन्दिर निर्माणमा गाउँपालिका संरक्षकको भूमिकामा रहने उनले बताए । महायज्ञले धार्मिक पर्यटन प्रबर्द्धन, स्थानीय कला–संस्कृतिको संरक्षण, आर्थिक गतिविधि विस्तार र सामाजिक एकता सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ । 

मन्दिर निर्माण सम्पन्न भएपछि यहाँको धार्मिक पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने अपेक्षा लिइएको गाउँपालिका उपप्रमुख ज्योत्सना राईले सुनाइन् । मन्दिर नजिकै रहेको मनमोहक च्याङ्ग्रेपोखरीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने विश्वास लिइएको छ । मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरूको वर्गीकृत नामावली प्रकाशन गरिने आयोजकले जनाएको छ । सहयोग रकमका आधारमा स्मारिका, ताम्रपत्र तथा विभिन्न स्तरका स्मारकमा नाम समावेश गरिने व्यवस्था गरिएको छ ।

एक रुपैयाँदेखि ९ सय ९९ रुपैयाँसम्म सहयोग गर्ने दाताहरूको नाम स्मारिका पुस्तकमा, हजारदेखि ४ हजार ९ सय ९९ रुपैयाँसम्म सहयोग गर्नेहरूको नाम ठुलो स्मारिकामा, ५ हजारदेखि २४ हजार ९ सय ९९ रुपैयाँसम्म तथा २५ हजारदेखि ४९ हजार ९ सय ९९ रुपैयाँसम्म सहयोग गर्ने दाताहरूको नाम ताम्रपत्रमा, ५० हजारदेखि ९९ हजार ९ सय ९९ रुपैयाँसम्म सहयोग गर्ने दाताहरूको नामावलीसहित एकल स्मारक तथा एक लाखदेखि १० लाख रुपैयाँसम्म सहयोग गर्ने दाताहरूको नाम ठूलो आकारको स्मारकमा समावेश गरिने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

साथै विदेशी दाताबाट प्राप्त सहयोगलाई प्रचलित विनिमय दरअनुसार मूल्यांकन गरी अभिलेखीकरण गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । निर्माण सम्पन्नपश्चात ‘च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर संरक्षण समिति’ मार्फत स्थानीयस्तरमै संरक्षण र व्यवस्थापन गरिने योजना रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.