इरानविरुद्ध लड्न अरब देशहरूले किन कोरियाली प्रतिरक्षा प्रणाली प्रयोग गरिरहेका छन्?

इरानविरुद्ध लड्न अरब देशहरूले किन कोरियाली प्रतिरक्षा प्रणाली प्रयोग गरिरहेका छन्?

काठमाडौं : मध्यपूर्वमा इरानसँग जारी तनावपूर्ण युद्धका बीच युएईसहित केही अरब देशहरूले दक्षिण कोरियाको हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेको विषय अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषणको केन्द्रमा परेको छ। परम्परागत रूपमा अन्य मुलुककाे प्रणालीमा निर्भर रहँदै आएका खाडी मुलुकहरूले किन दक्षिण कोरियाली प्रविधिमा भरोसा गरे भन्ने प्रश्नले अहिले विश्वभर चासो बढाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार युएईले प्रयोग गरेको ‘चिओङगुङ-२’ (KM-SAM Block II) प्रणालीले इरानी मिसाइल आक्रमणहरूलाई रोक्ने क्रममा उल्लेखनीय सफलता हासिल गरेको दाबी गरिएको छ। प्रारम्भिक रिपोर्टहरूले यसको अवरोध क्षमता अत्यन्त प्रभावकारी रहेको संकेत गरेका छन्, जसले युद्धमैदानमै यसको विश्वसनीयता प्रमाणित गरेको छ।

खाडी मुलुकहरूले दक्षिण कोरियाली प्रतिरक्षा प्रणाली रोज्नुको प्रमुख कारणमध्ये एक यसको लागत र कार्यक्षमताबीचको सन्तुलन हो। दक्षिण कोरियाको चिओङगुङ-२ प्रणाली सस्तोमात्र होइन, सञ्चालनमा सहज र छिटो तैनाथ गर्न सकिने विशेषता रहेको अन्तर्राष्ट्रिय मिडियाहरूमा उल्लेख छ। दीर्घकालीन सुरक्षा चुनौती सामना गरिरहेका खाडी राष्ट्रहरूका लागि यो व्यवहारिक विकल्पका रूपमा उभिएको सुरक्षा विश्लेषकहरू बताउँछन्।

null

रिपोर्टहरूका अनुसार युएईमा तैनाथ उक्त प्रणालीले इरानले प्रहार गरेको मिसाइलहरूलाई उच्च दरमा अवरोध गर्न सफल भएको थियो। कोरियाली प्रतिरक्षा प्रणालीको 'किल रेट' ९० प्रतिशतभन्दा माथि रहेको दाबी गरिएको छ। 'युद्धमैदानमा प्रत्यक्ष परीक्षण भइसकेको प्रणालीप्रति विश्वास बढ्नु स्वाभाविक मानिन्छ। कोरियाको यो प्रतिरक्षा प्रणाली अन्य देशहरूका लागि पनि उपयोगी बन्नसक्छ,' दी कोरिया टाइम्सले विश्लेषकको भनाइ उद्धृत गर्दै भनेको छ।

दक्षिण कोरियाली प्रतिरक्षा प्रणालीप्रति आकर्षण हुनुको अर्को कारण राजनीतिक लचकता पनि रहेको बताइएको छ।  दक्षिण कोरियाबाट खरिद गर्दा  शर्तहरू तुलनात्मक रूपमा कम हुने समाचारमा उल्लेख छ। त्यही भएर पनि खाडी देशहरूले आफ्नो सैन्य सञ्चालनमा कोरियाली प्रतिरक्षा प्रणाली प्रयोग गरेको हुनसक्ने सुरक्षा विश्लेषकहरूको भनाइ छ।

null

दक्षिण कोरिया अहिले विश्व बजारमा तीव्र रूपमा उदाइरहेको देश हो। पोल्याण्ड, साउदी अरब, युएईलगायत देशहरूसँग उसले रक्षा सहकार्य विस्तार गरिरहेको छ। छोटो समयमा उत्पादन, समयमै डेलिभरी र कडा प्रतिस्पर्धी भएकै कारणले दक्षिण कोरियालाई नयाँ पुस्ताको हतियार आपूर्तिकर्ताका रूपमा स्थापित गरिरहेका छन्। विश्लेषकहरूका अनुसार, ‘के डीफेन्स’ अब केवल क्षेत्रीय होइन, विश्वव्यापी प्रवृत्ति बन्दै गएको छ।

युएई र दक्षिण कोरियाबीच पछिल्लो एक दशकदेखि रक्षा सहकार्य हुँदै आएको छ। उनीहरूबीच संयुक्त तालिम, प्रविधि हस्तान्तरण र दीर्घकालीन सम्झौताले विश्वासको वातावरण निर्माण गरेको बताइन्छ। यही पृष्ठभूमिले संकटको समयमा कोरियाली प्रणालीप्रति युएईको निर्भरता सहज बनाएको विश्लेषकहरूको भनाइ छ।

विश्लेषकहरूका अनुसार खाडी मुलुकहरू अब एउटै शक्तिमा निर्भर रहने रणनीतिबाट बाहिर निस्कँदैछन्। सुरक्षाका मामिलामा यसअघि अमेरिका र रुससँग बढी साझेदारी गर्दै आएको खाडी मुलुकले अब भविष्यमा दक्षिण कोरियाजस्तै अन्य देशहरूसँग  सन्तुलन कायम गर्दै बहुध्रुवीय सुरक्षा नीति अपनाउने प्रयास गर्नेछ। 

null

चिओङगुङ-२ को क्षमता कति?
दक्षिण कोरियाली चेओङगुङ-II नाटो मापदण्ड जत्तिकै बलियो र क्षमतायुक्त रहेको बताइन्छ। यसको मूल्य समेत अन्यकाे तुलनामा झन्डै एक चौथाइ मात्रै पर्छ, जसले गर्दा अरब देशहरू यसतर्फ आकर्षित भएको हुनसक्ने विश्लेषकहरूको भनाइ छ।

दक्षिण कोरियाका अर्थमन्त्री कू युन चिओलका अनुसार हालः मध्यपूर्वका देशहरू दक्षिण कोरियाली मिसाइल किन्न प्रतिस्पर्धामा छन्। उच्च सटीकता र ९० प्रतिशतभन्दा बढी सफलतासाथ ब्यालिस्टिक मिसाइल ध्वस्त पार्नसक्ने क्षमताका कारण खाडीका देशहरूले कोरियाली हतियार मागिरहेको उनको भनाइ छ।

मध्यपूर्वमा इरानका मिसाइल र ड्रोनलाई रोक्न सस्तो र छिटो आपूर्ति हुने दक्षिण कोरियाली प्रणालीतर्फ आकर्षित भएको बताइन्छ। युएईले सन् २०२२ मा ३.५ अर्ब डलर बराबरको सम्झौता गर्दै ‘चेओङगुङ’ प्रणाली आयात गर्ने पहिलो देश बनेको थियो। दक्षिण कोरियाली कम्पनीहरू एलआइजी नेक्स१, हान्वा सिस्टम्स र हान्वा एयरोस्पेससँग १० युनिट खरिदका लागि सम्झौता भएको थियो। त्यसपछि सन् २०२४ मा साउदी अरेबिया र इराकले पनि यस्तै सम्झौता गरेका थिए।

विशेषज्ञहरूका अनुसार इरान-अमेरिका द्वन्द्व अहिले मुख्यतः मिसाइल प्रहार र त्यसको प्रतिरक्षामा केन्द्रित छ, किनकि ठूलो मानवीय क्षतिको डरले भूसैनिक परिचालन गर्न नेताहरू हिच्किचाइरहेका छन्। यसकारण मिसाइल प्रतिरक्षा प्रणालीको महत्त्व झन् बढ्दै गएको छ।

null

‘चेओङगुङ-२’ प्रणालीमा चारवटा लन्चर सवारी साधन हुन्छन्, प्रत्येकमा आठवटा प्रक्षेपण ट्युब हुन्छन्। यसलाई बहुउद्देश्यीय राडार र नियन्त्रण प्रणालीले सहयोग गर्छ। यसको अधिकतम दायरा करिब ४० किलोमिटर र १५-२० किलोमिटर उचाइसम्म लक्ष्य अवरोध गर्ने क्षमता हुन्छ। जुन इरानी मिसाइल र ड्रोनको सञ्चालन उचाइसँग मेल खाने विश्लेषकहरूको भनाइ छ।

यस मिसाइलको लागत करिब १० लाख डलर (१.५ अर्ब वोन) पर्ने बताइएको छ। दक्षिण कोरियाली कम्पनी एलआइजी नेक्स१ ले उत्पादन क्षमता बढाएर ९ देखि १२ महिनामै आपूर्ति गर्नसक्ने बताइन्छ।

स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानका अनुसार दक्षिण कोरिया अहिले विश्वको नवौं ठूलो हतियार निर्यातकर्ता हो, जसको बजार हिस्सा करिब ३ प्रतिशत छ। २०२१ देखि २०२५ सम्मका करिब ६० प्रतिशत रक्षा निर्यात पोल्यान्डमा गएको छ, जसले युक्रेन युद्धपछि सैन्य खर्च तीव्र रूपमा बढाएको छ।

-एजेन्सीहरूको सहयोगमा
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.