इजरायली आक्रमणले लेबनानमा १८२ जनाको मृत्यु, देशभर राष्ट्रिय शोक घोषणा

इजरायली आक्रमणले लेबनानमा १८२ जनाको मृत्यु, देशभर राष्ट्रिय शोक घोषणा
आक्रमणमा भत्किएको भवनको भग्नावशेष नजिकै नागरिक र सुरक्षाकर्मीहरू तस्बिर: सीएनएन बाट

बेरुत :  इजरायल र हिजबुल्लाहबीचको द्वन्द्वले उग्र रूप लिँदा बुधबार लेबनानमा ठूलाे मानवीय क्षति भएको छ। इजरायलले राजधानी बेरुतसहित देशका विभिन्न भागमा गरेको तीव्र हवाई हमलामा कम्तीमा १८२ जनाको मृत्यु भएको छ भने ८९० भन्दा बढी घाइते भएका छन्।

लेबनानी स्वास्थ्य मन्त्रालयले यो तथ्याङ्क प्रारम्भिक भएको र भग्नावशेषहरूमा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार,आक्रमणमा मारिएका 'निशस्त्र र शान्तिप्रिय नागरिक' हरूको सम्मानमा लेबनानी प्रधानमन्त्री नवाफ सलामले बिहीबार देशभर राष्ट्रिय शोकको घोषणा गरेका छन्। प्रधानमन्त्री सलामले हिंसा रोक्नका लागि अरब र अन्तर्राष्ट्रिय अधिकारीहरूसँग निरन्तर संवाद गरिरहेको समेत बताएका छन्।

यसैबीच, स्वास्थ्यमन्त्री राकान नसरेद्दिनले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेका छन्। ठुलो संख्यामा घाइतेहरूको उपचार भइरहेकाले स्वास्थ्य प्रणालीमै समस्या देखिएको छ। 

यो आक्रमण अमेरिका र इरानबीच दुई हप्ताका लागि युद्धविराम सम्झौता भएको भोलिपल्टै भएकाे हो। यसैबिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले युद्धविराम सम्झौतामा लेबनान नपर्ने बताएका छन्।

तर अमेरिका इरानबीचको युद्धविराम सम्झौतामा मध्यस्थता गरेको पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले युद्धविराम लेबनानमा पनि लागु हुने बताएका थिए।  यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई युद्धविराम र युद्धमा एउटा रोज्न भनेका छन्।

बुधबार लेबनानले युद्ध सुरु भएयताकै सबैभन्दा भारी बमबारी खेपेको थियो। मात्र १० मिनेटको अन्तरालमा भएका शृङ्खलाबद्ध आक्रमणले बेरुतका आवासीय क्षेत्रहरूलाई भग्नावशेषमा परिणत गरिदिएको छ। उद्धारका क्रममा भग्नावशेषभित्र अधुरै छोडिएका विद्यालयका गृहकार्य र पारिवारिक तस्बिरहरू भेटिएका छन्।

मंगलबारसम्मको तथ्याङ्क अनुसार यो युद्धमा लेबनानतर्फ १,७३९ जनाको मृत्यु भइसकेको थियो, जसमा बुधबारको १८२ जना थपिँदा मृतकको कुल संख्या १,९२१ पुगेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.