इरानले भन्यो - सम्झौता उल्लंघन भयो अब युद्धविरामको कुनै औचित्य छैन
तेहरान : इरानले अमेरिकासँग भएको युद्धविरामका तीनवटा मुख्य सर्तहरू उल्लंघन भएको आरोप लगाएको छ। विशेष गरी लेबनानमा भइरहेको इजरायली आक्रमण र इरानी हवाई क्षेत्रको उल्लंघनलाई लिएर इरानले कडा आपत्ति जनाएको हो।
बीबीसीका अनुसार, इरानी संसदका सभामुख मोहम्मद बाघर गालिबाफले एक विज्ञप्ति जारी गर्दै वार्ता सुरु हुनुअघि नै १० बुँदे प्रस्तावका तीनवटा सर्तहरू उल्लंघन भएको बताएका छन् । हामीलाई अमेरिकामाथि कहिल्यै विश्वास थिएन, किनकि उसको पुरानो बानी नै वाचा तोड्ने हो,'गालिबाफले भने, 'अहिले फेरि अमेरिकाले त्यही पुरानो ढर्रा दोहोर्याएको छ।'
सभामुख गालिबाफका अनुसार अमेरिकी राष्ट्रपतिले १० बुँदे प्रस्तावलाई वार्ताको 'आधार' माने पनि व्यवहारमा नल्याएको आरोप छ ।
सम्झौताको पहिलो सर्त लेबनानमा युद्धविराम गर्ने भए पनि इजरायलले आक्रमण जारी राखेको छ। जबकि मध्यस्थकर्ता पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफले लेबनानसहित सबै क्षेत्रमा तत्काल युद्धविराम हुनुपर्ने स्पष्ट पारेका थिए । त्यस्तै अर्काे सर्तमा इरानको फार्स प्रान्तस्थित लार सहरमा एउटा घुसपैठ गरी आएको ड्रोन खसालिएको छ। यो इरानको हवाई सीमाको सम्मान गर्ने सर्तको सिधै उल्लंघन हो।
प्रस्तावको छैटौं बुँदामा इरानको युरेनियम संवर्धन गर्ने अधिकारलाई स्वीकार गरिएको भए पनि अहिले अमेरिकाले यसलाई इन्कार गरिरहेको इरानको आरोप छ ।
सभामुख गालिबाफले वार्ता सुरु हुनुअघि नै सर्तहरू तोडिएको अवस्थामा अब दुईतर्फी युद्धविराम वा वार्ता गर्नु तर्कसंगत नहुने बताएका छन् । इरानको यो भनाइले शान्ति प्रक्रियामा ठूलो धक्का पुग्ने देखिएको छ।
यसैबीच, पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफले दुवै देशका प्रतिनिधिहरूलाई आगामी अप्रिल १०( चैत २८) मा थप वार्ताका लागि इस्लामावादमा निमन्त्रणा गरेका छन् । इरानका विदेशमन्त्री अब्बास अराघचीले यसअघि नै अमेरिकालाई 'युद्धविराम' र 'पूर्ण युद्ध' मध्ये एउटा रोज्न चेतावनी दिइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस !