उत्तरी गोरखामा सुरू भयो हेपाटाइटिस बीविरुद्ध तेस्रो चरणको बुस्टरडोज खोप अभियान
गोरखा : गोरखाको हिमालपारि भोटखोलामा हेपाटाइटिस ‘बी’ विरुद्ध तेस्रो चरणको बुस्टर डोज खोप लगाउन सुरू गरिएको छ । किमोलुङ फाउण्डेशन नेपालले गाउँपालिकासँग समन्वय गरी बुधबारबाट चुमनुब्रीको वडा नं. ४ र वडा नं. ५ का विभिन्न गाउँबस्तीमा निशुल्क खोप शिविर सुरू गरेको हो ।
संस्थाले यही साउनको २८ गतेदेखि भदौ ९ गतेसम्म गरेको हेपाटाइटिस रोगको परीक्षण(ट्रेसिङ) शिविरपछि खोप अभियान पनि सुरु गरेको थियो । त्यसयता त्यहाँका एकहजार छसय ८१ जनालाई हेपाटाइटिस बी विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।

पहिलो डोज लगाएका एक हजार ६८१ जनालाई लक्षित गरेर भदौ २९ गतेदेखि असोज सात गतेसम्म दोस्रो डोज लगाइएको थियो । तेस्रो बुस्टरडोज चैत २५ देखि वैशाख १ गतेसम्म सञ्चालन हुने फाउण्डेशनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले जानकारी दिए । पहिलो दिन बुधबार बिहीको राना खोप केन्द्रबाट लगाउन सुरु गरिएको छ । राना खोप केन्द्रमा सञ्चालित खोप शिविरको पहिलो दिन ३८ जनाले दोस्रो डोज लगाएका उनले जानकारी दिए । ‘पहिलो दिन २३ महिला र १५ जना पुरुषले दोस्रो डोजको खोप लगाएका छन्’ उनले भने, ‘आज पहिलो दिन भएर कम उपस्थिति देखिएको हो । बिस्तारै माथिल्लो भेगका मानिसहरु दोस्रो डोज लगाउन आउँदै हुनुहुन्छ ।’

शिविरको पहिलो दिन २५ गते वडा नं ५ को राना र वडा नं. ४ को क्वाकमा, २६ गते बिही स्वास्थ्यचौकी र नुब्री आधारभूत अस्पताल गपमा खोप शिविर सञ्चालन हुनेछ । त्यस्तै, चैत २७ गते वडा नं. ४ को प्रोक र वडा नं. ५ को क्य्राक खोपकेन्द्रमा, चैत २८ गते वडा नं. ४ को हुकुम वृद्धाश्रम, २९ गते वडा नं ४ को नाम्रुङ स्वास्थ्यचौकी र वडा नं. ५ को सेराङगुम्बामा खोप शिविर सञ्चालन हुनेछ । त्यस्तै चैत ३० वडा नं. ४ को वडा कार्यालय गपमा र बैशाख १ गते छुटेकाहरुका लागि बिही स्वास्थ्य चौकीमा खोप लगाइने कार्यक्रम तय भएको फाउण्डेशनका अध्यक्ष लामाले जानकारी दिए ।
हिमाली तथा उच्च पहाडी भेगका मनिसमा हेपाटाइटिस ‘बी’ को संक्रमण बढी मात्रमा देखिन थालेकाले शिविर आयोजना गरिएको फाउण्डेशनका संस्थापक लामाको भनाइ छ । वैदेशिक रोजगारीमा जाने क्रममा गरिने स्वास्थ्य परिक्षणको क्रममा त्यहाँका स्थानीयमा बढी मात्रामा हेपाटाइटिस ‘बी’ को संक्रमण देखिएर रोजगारीमा जान नपाउने गरेको अध्यक्ष लामाले बताए । यसअघि वडा नं.३ सिर्दिबासमा शिविर सम्पन्न गरिसकेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !