साउदीमा ५३ नेपाली अलपत्र, महिनाैदेखि तलब नपाएपछि उद्धारको पर्खाइ
साउदी अरब : साउदी अरबको राजधानी रियादमा ५३ जना नेपाली श्रमिक अलपत्र परेका छन् । हुस्सेन बिन अली अतिफा नामक कम्पनीमा काम गर्दै आएका ती श्रमिकले विगत पाँचदेखि छ महिनासम्म तलब नपाएको, काममा अनियमितता भएको तथा आधारभूत सुविधा समेत नपाएको भन्दै उद्धारको माग गरेका छन् ।
पीडितहरूका अनुसार कम्पनीले लामो समयदेखि श्रमिकको पारिश्रमिक रोक्दै आएको छ । कसैको तीन महिना, कसैको चार महिना र कतिपयको छ महिनासम्मको तलब बाँकी रहेको उनीहरूको भनाइ छ । ‘काम गराउँछ, तर पैसा दिँदैन । कहिले काममा बोलाउँछ, कहिले नआउन भन्छ, बिदामा राखेपछि उल्टै तलब काटिन्छ’, एक श्रमिकले गुनासो गरे ।
नेपालबाट रोजगारीका लागि आउँदा मासिक १५०० साउदी रियाल तलब, दैनिक १० घण्टा काम (९ घण्टा काम र १ घण्टा आराम) हुने भनिएको थियो । तर व्यवहारमा भने ४०० देखि ६०० रियाल मात्रै दिइएको पीडितहरूको दाबी छ । उनीहरू मोबिरा ओभरसिज प्रालि र नेपाल लाइफ प्रालि नामक म्यानपावर कम्पनीमार्फत साउदी पुगेका थिए भने साउदी जाँदा प्रतिव्यक्ति एक लाख ५० हजारदेखि २ लाख ३० हजारसम्म मेनपावरलाई बुझाएको बताए ।
उनीहरूको बसोबासको अवस्था समेत अत्यन्तै कष्टकर रहेको बताएका छन् । एउटै सानो कोठामा १० देखि २० जनासम्म बस्न बाध्य पारिएको छ । कतिपय अवस्थामा पर्याप्त खाना र पिउने पानीको समेत व्यवस्था नभएको उनीहरूको गुनासो छ । समस्या उठाउँदा कम्पनीले धम्की दिने गरेको आरोप समेत लगाइएको छ ।
पीडितहरूका अनुसार कम्पनीले एक महिना काम गराउने, अर्को महिना काममा नआउन भन्ने र बिदामा राखेपछि तलब काट्ने जस्ता अभ्यास गर्दै आएको छ । यसले गर्दा उनीहरूको आर्थिक अवस्था झन कमजोर बनेको छ । लामो समयसम्म समस्या समाधान नभएपछि उनीहरूले अन्ततः हडतालको बाटो रोजेका थिए ।
उनीहरूले नेपालस्थित म्यानपावर कम्पनी, स्थानीय एजेन्ट तथा नेपाली राजदूतावास रियादमा पटक–पटक गुनासो गरेका थिए । तर समस्या समाधानतर्फ ठोस पहल नभएपछि सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै आफ्ना पीडा सार्वजनिक गरेका हुन् । नेपाली राजदूतावासका अनुसार २०८२ चैत १८ गते पीडितहरूले वाट्सएप ग्रुपमार्फत जानकारी गराएपछि कम्पनीसँग सम्पर्क गर्ने प्रयास गरिएको थियो ।
प्रारम्भमा सम्पर्क हुन कठिन भए पनि पटक–पटकको प्रयासपछि कम्पनीका मालिकसँग संवाद भएको दूतावास स्रोतले जनाएको छ ।
कम्पनी पक्षले भने आन्तरिक शेयर धनीबीचको विवाद, कमजोर आर्थिक अवस्था र परियोजनाबाट अपेक्षित नतिजा नआएकाले तलब दिन ढिलाइ भएको दाबी गरेको छ । साथै, केही समयदेखि श्रमिकहरू काममा नगएकाले समस्या थप जटिल बनेको उनीहरूको भनाइ छ ।
तर श्रमिकहरूले कम्पनीले विगत ४–५ महिनादेखि ‘छिट्टै समाधान हुन्छ’ भन्दै आश्वासन मात्रै दिँदै आएको र व्यवहारमा कुनै सुधार नभएको बताएका छन् । विश्वास गुमेपछि उनीहरू करिब दुई महिनाअघि सामूहिक रूपमा काम बन्द गर्न बाध्य भएको जानकारी दिएका छन् ।
यसबीच, दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीसहितको टोलीले श्रमिक बसोबास गरिरहेको स्थानमै पुगेर बाँकी तलब, कागजात (अकामा) को अवस्था तथा उनीहरूको माग सम्बन्धी विवरण संकलन गरेको छ । साथै, दमामस्थित कम्पनीको मुख्य कार्यालयमा प्रतिनिधि खटाई मालिक पक्षसँग छलफल समेत गरिएको छ ।
दूतावासका अनुसार कम्पनीका मालिकले श्रमिकहरूको बाँकी तलब चरणबद्ध रूपमा भुक्तानी गर्ने र एक महिनाभित्र स्वदेश फर्काउने मौखिक सहमति जनाएको छ । यद्यपि, विगतमा पनि यस्तै प्रतिबद्धता कार्यान्वयन नभएको अनुभवका कारण श्रमिकहरू अझै अन्योलमा छन् ।
हाल ती ५३ जना नेपाली श्रमिक असहज अवस्था र अनिश्चितताबीच दिन बिताइरहेका छन् ।
उनीहरूले नेपाल सरकार, दूतावास तथा सम्बन्धित निकायसँग छिटो हस्तक्षेप गरी उद्धार, तलब भुक्तानी र सुरक्षित स्वदेश फिर्ताको व्यवस्था गर्न आग्रह गरेका छन् । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको सुरक्षाबारे पुनः गम्भीर प्रश्न उठाएको यस घटनाले नियमन, अनुगमन र श्रमिक अधिकार संरक्षणमा थप प्रभावकारी पहल आवश्यक रहेको देखाएको छ ।
प्रतिक्रिया दिनुहोस !