गाउँटोलमै सामाजिक सुरक्षा भत्ता
नुवाकोट : उमेर तथा शारीरिक अवस्थाका कारण सेवा लिन जान नसकेकाहरुका लागि नुवाकोटको वेलकोटगढी नगरपालिकाले गाउँटोलमै पुगेर सामाजिक सुरक्षा बापतको भत्ता प्रदान गरेको छ । यसबाट लाभग्राहीहरु निकै खुशी भएका छन् ।
बैंक तथा बडा कार्यालयसम्म पुग्न नसक्ने सेलाग्राहीहरुलाई घर नजिकै रहेको गाउँटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । दुई सातासम्म गाउँघरमै पुगेर पाँच सय ५० भन्दा बढी लाभग्राहीहरुलाई सामाजिक सुरक्षा बापतको भत्ता प्रदान गरेको नपा कार्यालयले जनाएको छ ।
बेलकोटगढी नपाको पञ्जिकरण शाखाको कर्मचारी तथा सानिमा बैंक बाघखोर शाखाको कर्मचारीसहितको टोली दुई सातासम्म गाउँघरमा लाभग्राहीमाझ पुगेर उक्त भत्ता वितरण गरेका हुन् । यसबाट सम्वन्धित वडा तथा वैंकसम्म जान नसकेका सेवाग्राहीहरु लाभान्वित भएको मेयर जगतवहादुर गुरुङको भनाई छ ।
उक्त कार्यलाई निरन्तरता दिइने उनले बताए । सामाजिक सुरक्षा वापतको भत्ता ज्येष्ठ नागरिक, अपांग, दलित, दलित वालवालिका तथा एकल महिलाहरुले पाउँदै आएका छन् । गाउँटोलमा पुगेर चालु आवको दोश्रो त्रैमासिक अन्र्तगत कार्तिक, मंसिर र पुसको रकम वितरण कार्य गरिएको पन्जिकरण शाखाले जनाएको छ । गाउँटोलमा पुगेर ६० लाख रुपैया भन्दा बढी सामाजिक सुरक्षा वापतको भत्ता वितरण गरिएको सो शाखाले जनाएको छ ।
बेलकोटगढी नगरपालिकामा रहेका १३ वटै वडामा पुगेर उक्त भत्ता वितरण गरिएको नपाले जनाएको छ । सो नपामा सामाजिक सुरक्षा वापतको भत्ता पाउने तीन हजार चार सय बढी लाभग्राही रहेका छन् । उनीहरुलाई कुल साँढे चार करोड रुपैयाँ रकम वितरण गरिँदै आएको छ । गाउँटोलमै पुगेर सामाजिक सुरक्षा वापतको भत्ता वितरण गरिँदा सर्वसाधारण निकै लाभान्वित भएको प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेको भनाई छ ।
प्रतिक्रिया दिनुहोस !