पुराना र नयाँ दलको साइनबोर्ड मात्र फरक–फरक : ज्ञानेन्द्र शाही
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले पुराना भनिएका दल र अहिले उदाएका नयाँ दल साइनबोर्डहरु फरक–फरक भए पनि उनीहरुको नीतिगत सिद्धान्त र विचारको नाभी एकै ठाउँ जोडिएको आरोप लगाएका छन् ।
संघीय संसदको संयुक्त वैठकमा पार्टीको तर्फबाट उपसभामुखको उम्मेदवारमा सरस्वती लामाको नाम प्रस्ताव गर्दै शाहीले सत्ताको खेल चलिरहने, सरकारहरु आउने–जाने र यो कुनै नौलो कुरा नभएको बताउँदै पार्टीहरु बन्ने र भत्किने पनि नौंलो कुरा नभएको तर देश र अनुशासन रहनु पर्ने बताए । उनले मुलुकमा चन्द्र–सूर्य चम्किरहनु पर्ने, देशको राष्ट्रियता र राष्ट्रवाद अमर रहिरहनु पर्ने बताए । सांसद शाहीले संसदमा संख्या नभई भूमिका महत्वपूर्ण हुने पनि बताए ।
संख्या केवल सत्ता टिकाइराख्न र सत्ताको गोटी भइराख्न काम लाग्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी वर्तमान व्यवस्थाको विकल्प प्रस्ताव गरिरहेको र राजसंस्थासहितको प्रजातन्त्र, सापेक्ष हिन्दू राष्ट्रको पुनस्र्थापना, आर्थिक रुपमा बोझिलो र मुलुकको आवश्यकता बिना भित्र्याइएको संघीयता खारेजी जस्ता शासकीय स्वरुपमा आमुल परिवर्तनको मुद्दा बोकेको हुँदा एक थान उपसभामुखको पद आफूहरुका लागि प्राथमिकतामा नभएको र नहुने बताए ।
तथापी संसदको सबै भन्दा ठूलो दलबाट नै प्रस्ताव आएपछि अन्य पुराना दल र परिवर्तन खोज्ने आफ्नो दलहरुबीचको ध्रुवीकरणलाई मध्यनजर गर्दै उपसभामुखमा उम्मेदवारी दिने टुङ्गोमा पुगेको बताए । उनले रास्वपा सभापतिकै आश्वासनमा पार्टीले निर्णय गरेर उपसभामुखमा उम्मेदवारी दिएको बताए। उपसभामुखमा राप्रपाको उम्मेदवारीले राजनीतिमा स्पष्ट किता क्लियर बनाएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !