मौन भयो त्यो स्वर, जसले करोडौं हृदय धड्काइरहने छ
काठमाडौं : भारतीय तथा दक्षिण एसियाली संगीत संसारकी अनुपम गायिका आशा भोसलेको आइतबार निधन भएको खबरले सम्पूर्ण संगीतप्रेमीहरू स्तब्ध बनेका छन्। ९२ वर्षीया भोसलेको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा हृदयाघात (कार्डियाक अरेस्ट) भएपछि निधन भएको चिकित्सकहरूले पुष्टि गरेका छन्।
शनिबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी उनी लामो समयदेखि फोक्सो तथा उमेरसँग सम्बन्धित अन्य रोगसँग पनि संघर्ष गरिरहेकी थिइन्। उनको अन्त्येष्टि सोमबार गरिने परिवारले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत उनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए, जसले उनको प्रभाव केवल संगीतमा मात्र होइन, राष्ट्रिय भावनामा समेत गहिरो रहेको देखाउँछ।
८ सेप्टेम्बर १९३३ मा जन्मिएकी आशा भोसलेले सन् १९४३ मा मात्र १० वर्षको उमेरमा गायन सुरु गरेकी थिइन् र करिब ८ दशक लामो यात्रामा १० हजारभन्दा बढी गीतहरूमा स्वर दिइन्। ‘नयाँ दौर’ देखि तिसरी मंजिल, हरे राम हरे कृष्ण, उमराओ जान, इजाजत हुँदै रंगीलासम्मका फिल्महरूमा उनका गीतहरूले समयको सीमालाई तोड्दै पुस्तौंदेखि श्रोतालाई मोहित बनाइरहे। समय बदलियो, पर्दामा नायिकाहरू बदलिए, संगीतको शैली फेरियो, तर आशाको आवाज सधैं युवा र ताजगीपूर्ण रहिरह्यो।
उनको सांगीतिक यात्रामा विविधता नै सबैभन्दा ठूलो शक्ति रह्यो। उनले मोहम्मद रफी, किशोर कुमार, मुकेशजस्ता महान् गायकहरूसँग सहकार्य गरिन् भने आरडी बर्मण, ओपी नैयर, एआर रहमान जस्ता संगीतकारहरूसँग काम गर्दै नयाँ–नयाँ प्रयोगहरू गरिन्। उनका गीतहरूमा भावनाको गहिराइ, शैलीको विविधता र प्रस्तुतिको साहसिकता स्पष्ट देखिन्छ, जसले उनलाई समयभन्दा अगाडि सोच्ने कलाकारको रूपमा चिनायो।
हिन्दी संगीतमा मात्रै होइन, आशा भोसलेले नेपाली संगीतमा पनि अमूल्य योगदान दिएकी छन्। उनले धेरै नेपाली चलचित्र तथा आधुनिक गीतहरूमा स्वर दिँदै नेपाली श्रोताको मन जितिन्। ‘मोहनी लाग्ला है’ र ‘साउने झरीमा’ जस्ता गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्। नेपाली भाषाको उच्चारण, भावनाको अभिव्यक्ति र लयमा उनले देखाएको स्वाभाविकता अद्भुत थियो। पहाडको माथि माथि, किन बढ्दैछ ढुकढुकी, आज हाम्रो भेट भाको दिन, यति धेरै माया दियौ, एउटा मान्छे मन पर्छ, तिम्रो मनमा लुकेको कुरा, म प्यार बेचिदिन्छु, कोपिलामा रंग चढ्योलगायतका सयौं गीतहरू कर्णप्रीय छन्। यही कारण नेपाली श्रोताले उनलाई केवल विदेशी गायिका नभई आफ्नै कलाकारको रूपमा आत्मसात गरेका छन्।
उनको अन्तर्राष्ट्रिय पहिचान पनि उत्तिकै उल्लेखनीय छ। उनले विभिन्न भाषा र शैलीमा गीत गाएर भारतीय संगीतलाई विश्वमाझ पुर्याइन्। संगीत विश्लेषकहरूका अनुसार आशा भोसले कहिल्यै अतीतमा सीमित भइनन् सधैं नयाँपनलाई अंगाल्दै उनी समयसँगै अघि बढिरहिन्, जसले उनलाई दीर्घकालीन रूपमा सान्दर्भिक बनायो।
आशा भोसलेको निधनसँगै संगीतको एउटा स्वर्णिम युगको अन्त्य भएको छ। उनको स्वरले प्रेम, पीडा, उत्सव र जीवनका हरेक रंगलाई संगीतमा ढालेको थियो। आज उनी शारीरिक रूपमा हामीबीच नभए पनि उनका हजारौं गीतहरू सधैं गुञ्जिरहनेछन्। नेपालीदेखि हिन्दी र अन्तर्राष्ट्रिय संगीतसम्म फैलिएको उनको योगदानले उनलाई सधैं अमर बनाइरहनेछ। उनका गीतहरू बजिरहँदा, नयाँ पुस्ताले सुन्दै जाँदा, र पुराना सम्झनाहरू ताजा हुँदा–आशा भोसले सधैं जीवित रहनेछिन्, हाम्रो मन र संगीतको संसारमा।
प्रतिक्रिया दिनुहोस !