तीन लघुवित्त संस्था एक हुँदै, वित्तीय क्षेत्रमा ठूलो संरचनात्मक परिवर्तन

तीन लघुवित्त संस्था एक हुँदै, वित्तीय क्षेत्रमा ठूलो संरचनात्मक परिवर्तन

विराटनगर : नेपालको लघुवित्त वित्तीय क्षेत्र अहिलेसम्मकै सबैभन्दा ठूलो संस्थागत एकीकरणको चरणमा प्रवेश गरेको छ। तीन प्रमुख लघुवित्त संस्थाहरू जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्त वित्तीय संस्थाबीच औपचारिक मर्जर सम्झौता भएको हो।

जीवन विकासको केन्द्रीय कार्यालय मोरङको कटहरी, युनिकको बाँकेको कोहलपुर तथा मानुषीको काभ्रेपलाञ्चोकको बनेपामा छ। एकीकरणलाई कम्पनीगत समायोजनका रूपमा मात्र नभएर नेपालको लघुवित्त संरचनामा दीर्घकालीन प्रभाव पार्ने रणनीतिक पुनर्संरचनाका रूपमा हेरिएको छ। यसले वित्तीय क्षेत्रमा ठूलो संरचनात्मक परिवर्तनको मार्ग देखाउने छ।

सम्झौतासँगै लघुवित्त क्षेत्रमा लामो समयदेखि चर्चामा रहेको समायोजन र सुदृढीकरणको बहसले ठोस रूप लिएको छ। तीनै संस्थाका उच्च नेतृत्वबीच भएको समझदारीले अब नेपालको लघुवित्त प्रणाली ठूलो, एकीकृत र व्यवस्थापनात्मक रूपमा सुदृढ दिशातर्फ अघि बढ्ने संकेत गर्छ। सम्झौताअनुसार मर्जरपछि बन्ने एकीकृत संस्थाको नाम भने पुरानै, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड राखिने छ। 

संस्थागत पहिचानलाई निरन्तरता दिँदै सञ्चालन संरचनालाई एकीकृत गर्ने निर्णय गरिएको छ। यससँगै संस्थाको केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका–२ मै कायम रहनेछ भने बाँके र काभ्रेपलाञ्चोकमा रहेका अन्य दुई संस्थाका केन्द्रीय कार्यालयलाई प्रादेशिक कार्यालयमा रूपान्तरण गरिनेछ। यसले प्रशासनिक विकेन्द्रीकरण कायम राख्दै केन्द्रीय नियन्त्रणलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। 

सम्झौतामा जीवन विकास लघुवित्तका अध्यक्ष विक्रमराज सुवेदी, युनिक नेपाल लघुवित्तका अध्यक्ष शिवबहादुर चौधरी तथा मानुषी लघुवित्तकी सञ्चालक वीणा श्रेष्ठले हस्ताक्षर गरे। उनीहरूको हस्ताक्षरसँगै प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको हो। दीर्घकालीन स्थायित्व, जोखिम व्यवस्थापन सुधार र पुँजीगत सुदृढीकरणलाई केन्द्रमा राखेर एकीकरण अघि बढाइएको संस्थाहरूले जनाएका छन्। 

एकीकृत संस्थाको प्रमुख कार्यकारी अधिकृत जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डल रहनेछन्। उनले हालैको लघुवित्त क्षेत्रको अवस्था, बढ्दो प्रतिस्पर्धा, ऋण असुलीमा चुनौती, ग्राहकको ऋणभार र नियामक दबाबलाई ध्यानमा राख्दै ठूला र सक्षम संस्थागत संरचनाको आवश्यकता अनिवार्य भएको बताए। उनका अनुसार सानासाना संस्थाको तुलनामा ठूलो एकीकृत संरचनाले जोखिम बहन क्षमता बढाउनुका साथै प्रविधिमैत्री सेवा विस्तारलाई पनि सहज बनाउँछ। 

तीन संस्थाको सेवा दायरा पहिले नै देशका विभिन्न भौगोलिक क्षेत्रमा फैलिएको छ। एकीकृत भएपछि यो पहुँच अझ विस्तार हुने अपेक्षा गरिएको छ। हाल जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा १६० भन्दा बढी शाखामार्फत करिब तीन लाख १५ हजारभन्दा बढी सदस्यलाई सेवा दिँदै आएको छ। 

त्यस्तै, युनिकले १० जिल्लामा करिब ८० हजारभन्दा बढी सदस्यलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ। मानुषीले १४ जिल्लामा करिब ३४ हजार ७ सयभन्दा बढी सदस्यलाई सेवा दिइरहेको तथ्यांक छ। तीन संस्थाको ग्राहक आधार एकीकृत भएपछि देशको लघुवित्त क्षेत्रमा ठूलो संरचनात्मक परिवर्तन देखिने अनुमान गरिएको छ।

पुँजी संरचनाका हिसाबले पनि मर्जर उल्लेखनीय छ। जीवन विकासको चुक्ता पुँजी १ अर्ब ७५ करोडभन्दा बढी रहेको छ भने युनिक नेपालको करिब १४ करोड ८५ लाख र मानुषीको करिब १० करोड ९३ लाख रुपैयाँ रहेको छ। एकीकृत भएपछि कुल पुँजी आधार उल्लेख्य रूपमा बढेर ऋण प्रवाह क्षमता विस्तार गर्न र जोखिम व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउन मद्दत गर्ने बताइएको छ। 

मर्जरले वित्तीय आकार बढाउने र संस्थागत सञ्चालन प्रणालीमा पनि परिवर्तन ल्याउनेछ। तीन संस्थाका कर्मचारीलाई समायोजन गर्ने विषयमा प्रारम्भिक सहमति भइसकेको छ। सबै कर्मचारीलाई नयाँ संरचनामा समायोजन गर्ने निर्णयले संस्थागत निरन्तरता कायम राख्ने र आन्तरिक असन्तुलन तथा असन्तोषलाई न्यून गर्ने लक्ष्य राखिएको छ।

मर्जर प्रक्रिया व्यवस्थित रूपमा अघि बढाउन संयुक्त मर्जर समिति गठन गरिएको छ। समितिको संयोजकमा जीवन विकास लघुवित्तका सञ्चालक प्रकाशकुमार श्रेष्ठ रहेका छन्। समितिमा अशोक सिटौला, पुरनप्रसाद चौधरी, सन्तराम थारु, नवीना ढाख्वा शाक्य र ताराकुमार रिजाल सदस्य रहेका छन्। जीवन विकासका नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी सदस्यसचिवको भूमिकामा छन्। समितिले सम्पूर्ण एकीकरण प्रक्रिया, शाखा पुनर्संरचना, नीतिगत समायोजन तथा मानव संसाधन व्यवस्थापनको काममा समन्वय गर्नेछ।

२०८३ साल असार मसान्तभित्र मर्जर प्रक्रिया सम्पन्न गरेर एकीकृत संस्थाले औपचारिक रूपमा पूर्ण कारोबार सञ्चालन गर्नेछ। नेपालको लघुवित्त क्षेत्रमा पछिल्ला वर्षहरूमा देखिएका चुनौतीहरू गम्भीर छन्। ऋण असुलीमा समस्या, ग्राहकहरूको अत्यधिक ऋणभार, संस्थागत प्रतिस्पर्धा, दोहोरो ऋण प्रवाह तथा नियामक दबाबले लघुवित्त संस्थाहरूलाई पुनर्संरचनाको दबाबमा पुर्‍याएको छ। यही पृष्ठभूमिमा भएको मर्जरलाई सुधारको दिशामा गरिएको ठोस पहलका रूपमा विश्लेषण गरिएको छ।

मर्जरले ठूलो पुँजी, एकीकृत व्यवस्थापन र व्यापक सेवा सञ्जालले वित्तीय स्थायित्व बढाउने संस्थाहरुको दाबी छ। तर, ग्राहक केन्द्रित सेवा, पारदर्शिता र जिम्मेवार ऋण प्रवाह प्रणाली कायम राख्न उत्तिकै चुनौतीपूर्ण हुनेछ। मर्जर सफल भएपछि वित्तीय संस्थाहरु ठूलो, व्यवस्थित र प्रविधिमैत्री संस्थामा रूपान्तरण हुनेछन्। समग्र वित्तीय प्रणालीलाई स्थिर र सुदृढ बनाउन मर्जरले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.