दक्षिण कोरियामा मूर्तिलाई चुम्बन गर्ने अमेरिकी युट्युबरलाई जेल सजाय
दक्षिण कोरिया : दक्षिण कोरिया सरकारले एक अमेरिकी युट्युबरलाई ६ महिनाको जेल सजाय गरेको छ । अमेरिकी लाइभस्ट्रिमर जोनी सोमालीलाई दक्षिण कोरिया सरकारले जेल सजाय गरेको हो ।
जसले दोस्रो विश्वयुद्धका समयमा यौन दास बनाइएका महिलाहरूको स्मृतिमा बनाइएको मूर्तिमा चुम्बन गरेको र यसले दक्षिण कोरियामा ठूलो आक्रोश पैदा गरेको बताइएको छ । सियोलका अधिकारीहरूले उनलाई नोभेम्बर २०२४ मा सार्वजनिक अशान्तिको आरोप लगाएका थिए । उनले दक्षिण कोरिया भ्रमणका क्रममा उक्त मूर्तिलाई चुम्बन गर्दै र अशोभनीय व्यवहार गर्दै भिडियो पोस्ट गरेको आरोप लगाइएको छ ।
२५ वर्षका यी व्यक्तिको वास्तविक नाम इस्माइल र्याम्सी खालिद हो । उनी विवादास्पद सामग्री बनाउने कारणले परिचित छन् र पहिले नै धेरै स्ट्रिमिङ प्लेटफर्महरूबाट प्रतिबन्धित भइसकेका छन् । उनले जापान र इजरायल भ्रमणका क्रममा पनि मानिसहरूलाई दुर्व्यवहार गरेको आरोप छ । बुधबार दक्षिण कोरियाको एक अदालतले उनलाई सार्वजनिक अशान्ति फैलाउने र यौनिक डीपफेक सामग्री वितरण गर्ने लगायतका धेरै आरोपमा दोषी ठहर गरेको छ ।
अदालतले भन्यो, ‘प्रतिवादीले युट्युबबाट नाफा कमाउनका लागि आम नागरिकहरू विरुद्ध बारम्बार अपराध गरेका थिए र कोरियाली कानूनको बेवास्ता गर्दै सामग्री वितरण गरेका थिए ।’ अभियोजकहरूले उनलाई ३ वर्ष जेल सजाय माग गरेका थिए, तर अदालतले ‘पीडितहरूलाई गम्भीर क्षति नभएको’ भन्दै कम सजाय दिएको द कोरिया हेराल्डले जनाएको छ ।
खालिदलाई पछि बालबालिका तथा अपाङ्गता भएका व्यक्तिसँग काम गर्ने संस्थाहरूमा काम गर्न पनि प्रतिबन्ध लगाइएको छ । दोस्रो विश्वयुद्धका समयमा करिब २ लाख महिलाहरूलाई जापानी सैनिकहरूले यौन दासका रूपमा प्रयोग गरेका थिए । तीमध्ये धेरै कोरियाली थिए भने अरू चीन, फिलिपिन्स, इन्डोनेसिया र ताइवानबाट आएका थिए ।
खालिदसँग करिब ५,००० युट्युब फलोअर्स छन् । उनले नोभेम्बर २०२४ मा माफी माग्दै आफूले उक्त मूर्तिको महत्व नबुझेको बताएका थिए, तर धेरै प्रयोगकर्ताले उनको माफीलाई अप्रामाणिक भनेका थिए । अनुसन्धान जारी रहँदा उनले स्थानीय मानिसहरूलाई झगडामा आउन चुनौती दिएका भिडियोहरू पनि देखिएका थिए र उनलाई सडकमा कुटपिट र पछ्याइएको दृश्यहरू पनि सार्वजनिक भएका थिए ।
प्रतिक्रिया दिनुहोस !