रोयल इनफिल्डको २०२६ गोवन क्लासिक ३५० नेपालमा सार्वजनिक
काठमाडौं : मिड–साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी रूपमा ख्याति कमाएको रोयल इनफिल्डले नेपाली बजारमा आफ्नो नयाँ मोडल '२०२६ एडिसन गोवन क्लासिक ३५०' सार्वजनिक गरेको छ।
स्वतन्त्र र मुक्त जीवनशैलीलाई प्रतिनिधित्व गर्ने बोबर–इन्स्पायर्ड डिजाइनमा आधारित यो मोटरसाइकल नयाँ राइडर–केन्द्रित सुविधाहरूका साथ बजारमा ल्याइएको हो।
नयाँ गोवन क्लासिक ३५० मा ३४९ सीसीको एयर–अयल कुल्ड सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ। यस इन्जिनले ६,१०० आरपीएममा २०.२ बीएचपी पावर र ४,००० आरपीएममा २७ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्दछ।
कम्पनीका अनुसार यो इन्जिनलाई विशेष गरी 'लेड–ब्याक बोबर स्टाइल' अनुरूप ट्युन गरिएको छ, जसले सहरको व्यस्त सडकदेखि खुला राजमार्गसम्म अत्यन्तै स्मूथ र आरामदायी यात्राको अनुभव प्रदान गर्दछ। यसमा ५–स्पिड गियरबक्सका साथै नयाँ 'असिस्ट–एन्ड–स्लिपर क्लच' र अपग्रेड गरिएको 'यूएसबी टाइप–सी' चार्जिङ पोर्ट समेत उपलब्ध गराइएको छ।
डिजाइनको कुरा गर्दा यस मोटरसाइकलले आफ्नो सिग्नेचर सिंगल–सिट बोबर स्टाइलिङलाई कायम राखेको छ। यसमा फ्लोटिङ राइडर सिट, ह्वाइटवाल एज–टाइप आल्मुनियम ट्युबलेस स्पोक ह्विल्स, चोपर–स्टाइल फेन्डर्स, स्ल्यास–कट एग्जस्ट र मिड–एप ह्यान्डल बारहरू रहेका छन्, जसले यसलाई प्रिमियम र बोल्ड लुक दिएका छन्।
लन्चका अवसरमा रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले गोवन क्लासिक ३५० ले नेपालका राइडरहरू माझ विशेष आकर्षण पाउने विश्वास व्यक्त गरे। उनले यो मोडलले स्वतन्त्र जीवनशैली रुचाउनेहरूका लागि ब्रान्डको लाइन–अपमा एउटा फरक र विशिष्ट पहिचान बनाउने बताए। यो मोटरसाइकल नेपालभरका सबै आधिकारिक रोयल इनफिल्ड शोरुमहरूमा उपलब्ध हुने जानकारी दिइएको छ।
कम्पनीले यसको मूल्य रङ्ग अनुसार दुई समूहमा विभाजन गरेको छ। 'सैक ब्ल्याक' र 'पर्पल हेज' रङ्गको मूल्य ५ लाख ९८ हजार रुपैयाँ तोकिएको छ भने 'ट्रिप टिल' र 'रेभ रेड' भेरियन्टको मूल्य ६ लाख २ हजार रुपैयाँ कायम गरिएको छ।
सन् १९०१ देखि 'प्योर मोटरसाइकलिङ' को दर्शन बोकेको रोयल इनफिल्ड विश्वकै पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो। आइकर मोटर्स लिमिटेड अन्तर्गतको यो ब्रान्डले नेपालमा सीकेडी एसेम्बली फ्यासिलिटीमार्फत स्थानीय रूपमै मोटरसाइकल उत्पादन गर्दै आएको छ। हालसालै कम्पनीले शहरी गतिशीलताका लागि 'फ्लाइङ फ्ली' नामक इलेक्ट्रिक ब्रान्ड समेत घोषणा गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस !