माता तिर्थ औँसीको त्यो बिहान...
आमा,
तिमी त्यो उज्यालो जून हौ
जसले अँध्यारो रातमा पनि
थाहा छ¸ तिमी त्यो न्यानो घाम हौ
जुन कठ्याङ्ग्रिने चिसोमा पनि
आत्मा तताइदिन्छ…
जब संसारले अस्वीकार गर्यो,
तिमीले अंगालो हाल्यौ
भन्यौ, 'मेरो बच्चा कहिल्यै हार्दैन'
आमा, तिम्रो माया नदी जस्तै थियो
जसको किनार कहिल्यै सकिएन
माता तिर्थ औँसीको त्यो बिहान
सबैले आफ्नी आमाको
अनुहार हेरीरहँदा
मेरा परेली भिजेर
आँखा खोल्न दिँदैन
आँसु लुकाउने प्रयासमा
अँध्यारो मनपर्न थाल्या छ
कतै तिमीलाई खोज्दै
बन्द नयनले आफैँभित्र नियाल्छु
ए आमा... फर्केर आउ तिमी¸
मुस्कुराउन विर्सिएको छु
बर्षिएका बाणहरूले
छातिभेदन गरिरहँदा
हराइरहेछु आफैंभित्र¸
आफैंलाई भेट्टाउन पनि
आज तिमीलाई खोज्दैछु
हिजो काँडाले घोचेन¸
तिमीले फूल दिएर काँडा समाइदियौ
तिमीलाई त घोचेकै थियो होला
मेरो मुस्कानमा रमाइदियौ
आज तिम्रो काखमा सिरानी राखेर
धित मरुञ्जेल रोऊँ भन्छु,
किन आमा......!
तिमीले मेरो हातमा फोटो थमाइदियौ।
प्रतिक्रिया दिनुहोस !