ढाड सेकिएको निर्माण क्षेत्र

ढाड सेकिएको निर्माण क्षेत्र

देशलाई चाहिएको छ, समृद्धि । समृद्धिलाई चाहिन्छ, पूर्वाधार विकास । ठूलाठूला पूर्वाधार निर्माण गर्दा नै रोजगारी सिर्जना हुन्छ, अर्थतन्त्र चलायमान हुन्छ । यतिबेला भने नेपालको निर्माण क्षेत्रकै ढाड सेकिएको छ । बल्लबल्ल मुलुकमा राजनीतिक स्थिरता देखिएको छ । झन्डै दुईतिहाइ बहुमतसहितको सरकार गठन भएको छ । जसले विकृतिको चाङ बढार्न खोज्दा निजी क्षेत्रका केही घागडानहरू पनि परेका छन् र लगानीकर्ता एवं उद्यमी, व्यवसायी सशंकित बनेका छन् । तर, खासमा नबिराएकाहरू डराउनुपर्ने स्थिति भने होइन । यहीबेला अन्तर्राष्ट्रिय परिस्थिति पनि प्रतिकूल छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि छ । मध्यपूर्वी युद्धको चपेटाले निम्त्याएको संकट भनेको इन्धनको मूल्यवृद्धिमात्रै होइन, कच्चापदार्थको अभाव र महँगी पनि हो । यी यावत् कारण अहिले देशभरका ८ खर्ब रुपैयाँभन्दा बढीका विकास आयोजनाहरू प्रभावित भएका छन् । 

मूल्यवृद्धि हुनु भनेको पहिलो कबोल गरेको लागतमा निर्माण व्यवसायीले काम गर्न नसक्ने परिस्थिति बन्नु हो । त्यही भएर व्यवसायीहरू ‘कन्स्ट्रक्सन होलिडे’ घोषणाको मनस्थितिमा छन् । नयाँ सरकारले मूल्य समायोजनको आश्वासन दिए पनि कार्यान्वयन गरेको छैन । निर्माण व्यवसायीहरूले ७५ प्रतिशतले आफ्ना काम कटौती गरिसकेका छन् । अर्थात् अब देशको निर्माणमा ७५ प्रतिशतले कमी आउन सक्छ । सडक, पुल, सिँचाइ, भवन र जलविद्युत् आयोजनाहरू ठप्प बन्ने क्रम रोकिँदैछ । राज्यको पुँजीगत खर्च गर्ने क्षमतामा समेत गम्भीर धक्का पुग्दैछ । बैंक ग्यारेन्टी र बिमासहितका दायित्व सरकारले बेहोरिदिनुपर्ने निर्माण व्यवसायीको मागमा पनि सरकारले कुनै कदम चाल्न सकेको छैन । मूल्य समायोजन पनि सार्वजनिक खरिद ऐन २०६३ अनुसार जायज नै माग हो । जसलाई सरकारले सम्बोधन गर्न सक्छ, गर्नुपर्छ । 

निर्माण अलपत्र पर्दा पहिलो दोषी करार व्यवसायी हुने गरेका छन् । तर, कतिपय निर्माणमा भने उल्टै व्यवसायीले भुक्तानी पाउन सकेका छैनन् । अनि, बैंकको ऋण तिर्न सकस परेको छ ।   श्रमिकलाई ज्याला दिन सकेका छैनन् । इन्धन र निर्माण सामग्रीको आपूर्ति सहज बनाउन सरकारले कूटनीतिक पहल गर्नुपर्छ । निर्माण क्षेत्र भनेको केवल व्यवसायीको टाउको दुखाइ होइन । यो राष्ट्रनिर्माणको विषय हो । राज्यले सोहीअनुसार सम्बोधन गर्न जरुरी छ । होइन भने न समृद्धिको सपना पूरा हुन्छ न सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीले भने झैं केही वर्ष मध्यमआयस्तर भएको मुलुकमा नेपाल उक्लन्छ । फेरि गरिबीको चक्रमा रुमलिनुपर्ने दिन आउन सक्छ ।

यो संवेदनशीलतालाई ख्याल गर्दै सरकारले उचित र संयमित कदम चाल्नुपर्छ । निर्माण क्षेत्रलाई उकास्दै अर्थतन्त्रलाई थप चलायमान बनाउने गर्नुपर्छ । पहिले जे गल्ती भयो, त्यो दोहोर्‍याउने छुट यो सरकारलाई कदापी छैन ।

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.