विश्वलाई बुद्ध ज्ञानको खाँचो
आजको विश्व अत्यन्त तेज गतिमा परिवर्तन हुँदैछ। यसमा पनि प्रविधिको विकासले हामीलाई जोडेको छ। तर मानसिक शान्ति खोसिएको छ। युद्ध, जलवायु परिवर्तन, आर्थिक असमानता, मानसिक स्वास्थ्य संकट र सामाजिक द्वन्द्वले मानव जातिलाई घेरेको छ। यस्तो अवस्थामा, २५ सय वर्षअघि गौतम बुद्धले दिएको ज्ञान अझ बढी प्रासंगिक बनेको छ। बुद्धको शिक्षाले दुःखको जड पहिचान गर्छ। त्यसको अन्त्यको मार्ग देखाउँछ र करुणा, माइन्डफुलनेस तथा बुद्धिमत्ताको आधारमा शान्तिपूर्ण जीवन निर्माण गर्न सिकाउँछ। यो अर्थमा हामी बुद्ध ज्ञानको आवश्यकता किन परेको छ। त्यसको आधारभूत शिक्षाहरू, आधुनिक चुनौतीसँगको सम्बन्ध र विश्वव्यापी प्रभावबारे चर्चा गर्नु आवश्यक छ।
मानव सभ्यताको विकाससँगै ज्ञान, विज्ञान र प्रविधिको तीव्र उन्नति भएको छ। आजको विश्व अत्याधुनिक उपकरण, कृत्रिम बुद्धिमत्ता, अन्तरिक्ष अनुसन्धान र डिजिटल क्रान्तिको युगमा प्रवेश गरिसकेको छ। तर यति धेरै भौतिक प्रगतिका बीच पनि मानव जीवनमा शान्ति, सन्तुलन र नैतिकताको अभाव झन् बढ्दो देखिन्छ। युद्ध, हिंसा, आतंकवाद, पर्यावरणीय संकट, असमानता, मानसिक तनाव र असन्तुष्टिजस्ता समस्या विश्वव्यापी चुनौती बनेका छन्। यस्तो जटिल अवस्थामा विश्वलाई भौतिक ज्ञानभन्दा बढी आवश्यक छ आध्यात्मिक, नैतिक र मानवीय ज्ञान पनि हो। यही सन्दर्भमा गौतम बुद्धका उपदेश र दर्शन आज पनि अत्यन्त सान्दर्भिक र अपरिहार्य देखिन्छन्।
सिद्धार्थ गौतम (बुद्ध)को जन्म नेपालको लुम्बिनीमा भएको थियो। राजकुमारको रूपमा सुखी जीवन बिताइरहेका उनी २९ वर्षको उमेरमा दुःख, बुढेसकाल, रोग र मृत्यु देखेर संसारको यथार्थ बुझ्न घर छाडे। यसर्थ छ वर्षको कठोर तपस्यापछि बोधगयामा बुद्धत्व प्राप्त गरे। उनीले सिकाएको मुख्य कुरा चार आर्य सत्य हो। जसमा पहिलो दुःख सत्य हो। तसर्थ जीवनमा दुःख छ जन्म, बुढेसकाल, रोग, मृत्यु, प्रियबाट अलग हुनु, अप्रियसँग जोडिनु आदि। त्यसरी दोस्रो दुःखको कारण सत्य हो। त्यसमा तृष्णा, अज्ञानता र अहंकार नै दुःखको जड हो। त्यसरी तेस्रो दुःखको निरोध सत्य पनि हो दुःखको पूर्ण अन्त्य सम्भव छ निर्वाण हो। र चौथो दुःख निरोधको मार्ग सत्य हो।
अष्टांगिक मार्गमा सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाक्, सम्यक कर्म, सम्यक आजीविका, सम्यक प्रयास, सम्यक स्मृति र सम्यक समाधि समावेश रहेका छन्। यो मार्ग नैतिकता (शील), एकाग्रता (समाधि) र बुद्धि (प्रज्ञा) मा आधारित छ। बुद्धले भन्नुभयो कि ‘मैले केवल दुःख र दुःखको अन्त्य सिकाएको छु।’ यो शिक्षाले जीवनलाई निराशावादी होइन, व्यावहारिक र आशावादी बनाउँछ। बुद्धको ज्ञान केवल धार्मिक होइन, यो जीवनशैली, मनोविज्ञान र दर्शन हो। उहाँले सबै कुरा विचारबाट नै बन्छ भन्नुभयो। विचार शुद्ध भएमा जीवन शान्त हुन्छ। आजको वैज्ञानिक युगमा पनि यो कुरा प्रमाणित भइरहेको छ।
आज विश्वले सामना गरिरहेका मुख्य समस्या मानसिक स्वास्थ्य संकट, द्वन्द्व, पर्यावरणीय विनाश र सामाजिक असमानता हुन्। यी सबैमा बुद्धको शिक्षाले समाधान दिन सक्छ। पहिले, मानसिक स्वास्थ्य। विश्व स्वास्थ्य संगठनका अनुसार, डिप्रेसन र चिन्ता विश्वव्यापी महामारी बनेको छ। सोसल मिडियाले तुलना र असन्तुष्टि बढाएको छ। बुद्धले सिकाउनुभएको माइन्डफुलनेस (स्मृति) ले वर्तमान क्षणमा बाँच्न सिकाउँछ। अतीतमा नबस, भविष्यको सपना नदेख, वर्तमानमा ध्यान देऊ भन्ने उहाँको वचन आजको थेरापी बनेको छ।
माइन्डफुलनेसले तनाव घटाउँछ, भावनात्मक नियन्त्रण बढाउँछ र खुसी बढाउँछ। पश्चिमी मनोविज्ञानले बुद्धको शिक्षालाई आत्मसात् गरेकामा विचारको प्रभावबारे बुद्धकै सिद्धान्त झल्किन्छ। दोस्रो, द्वन्द्व र हिंसा। युद्ध, आतंकवाद र साम्प्रदायिक विभेदले विश्वलाई अशान्त बनाएको छ। बुद्धले करुणा र अहिंसालाई जोड दिनुभयो। जसले अरूलाई पीडा दिन्छ, ऊ आफैं पीडित हुन्छ’ भन्ने उहाँको शिक्षाले शत्रुतालाई माया र समझदारीले बदल्न सिकाउँछ। दलाई लामा जस्ता बौद्ध नेताहरूले विश्व शान्तिका लागि यो ज्ञान प्रयोग गर्दै आएका छन्। बुद्धले भन्नुभयो शान्ति बाहिरबाट होइन, भित्रबाट आउँछ। राष्ट्रहरूबीचको द्वन्द्वमा पनि यो लागू हुन्छ—अन्तरिक शान्ति बिना बाह्य शान्ति सम्भव छैन। तेस्रो, जलवायु परिवर्तन र पर्यावरणीय संकट उत्पन्न हुन्छ।
उपभोगवाद र लोभले प्रकृतिलाई नष्ट गर्दै छ। बुद्धको शिक्षामा सबै प्राणीहरू एकअर्कासँग जोडिएका छन् अनित्यताले हामीलाई सम्झाउँछ कि सबै कुरा परिवर्तनशील छ। बौद्ध विद्वानहरूले जलवायु संकटलाई दुःखको कारणको रूपमा हेर्छन् र करुणापूर्ण जीवनशैली (सस्टेनेबल लिभिङ)लाई समाधान मान्छन्। थिच न्हाट हान्ह जस्ता शिक्षकले मार्फत पर्यावरण संरक्षणलाई बौद्ध अभ्याससँग जोडेका छन्।
बुद्धले सिकाएको मध्यम मार्गले अति उपभोग र अति त्याग दुवैबाट बचाउँछ। चौथो, आर्थिक असमानता र सामाजिक न्याय। धनी–गरिबको खाडल बढ्दो छ। बुद्धले लोभ, द्वेष र मोहलाई तीन विष मान्नुभयो। उहाँले समानता र नैतिक आजीविकालाई जोड दिनुभयो। सुख बाँड्दा घट्दैन भन्ने उहाँको वचनले सहकारिता र दानको महत्व देखाउँछ। आधुनिक बौद्ध आन्दोलनहरूले गरिबी निवारण, महिला सशक्तीकरण र न्यायपूर्ण अर्थव्यवस्थाका लागि काम गरिरहेका छन्।
अन्त्यमा, बुद्ध ज्ञान कुनै खास भूगोल, जाति वा धर्मका लागि मात्र सीमित छैन। यो त विश्वव्यापी सत्य हो। बुद्धले कहिल्यै पनि मैले भनेको कुरा आँखा चिम्लेर विश्वास गर भन्नु भएन। उहाँले भन्नुभयो अप्प दीपो भव अर्थात् आफ्नो प्रकाश आफैं बन। आजको विश्वलाई बम र बारुदको होइन, बुद्धको करुणा र प्रज्ञाको खाँचो छ।
घृणालाई घृणाले होइन, प्रेमले मात्र परास्त गर्न सकिन्छ भन्ने बुद्धको शाश्वत सत्यलाई आत्मसात् गर्न सके मात्र यो पृथ्वी आगामी पुस्ताका लागि बस्न योग्य रहनेछ। विश्वलाई बुद्ध ज्ञानको खाँचो छ किनकि यो दुःखको जडमा पुग्छ र व्यावहारिक समाधान दिन्छ। यो केवल व्यक्तिगत शान्तिका लागि मात्र नभएर, सामूहिक कल्याणका लागि हो। बुद्धले सिकाएको जस्तै, हामीले विचार शुद्ध गरेर, करुणा फैलाएर र मध्यम मार्ग अपनाएर विश्वलाई राम्रो बनाउन सक्छौं।
प्रतिक्रिया दिनुहोस !