किन मनाउने मजदुर दिवस ?

किन मनाउने मजदुर दिवस ?

मे १ विश्व मजदुर दिवस। संसारभरका श्रमिकहरूको अधिकार, सम्मान र योगदानलाई स्मरण गर्ने महत्वपूर्ण दिन। यो दिवस केवल उत्सवमात्र होइन, श्रमिक वर्गको इतिहासभरि गरेको संघर्ष, बलिदान र उपलब्धिहरूको प्रतीक पनि हो। आजको आधुनिक समाजको विकासमा मजदुरहरूको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि उनीहरूको समस्या अझै पूर्णरूपमा समाधान भएका छैनन्। त्यसैले विश्व मजदुर दिवस मनाउनुको औचित्य उत्तिकै छ।

यो दिवस श्रमिकहरूको अधिकारको संरक्षणका लागि आवश्यक छ। विगतमा मजदुरहरूले लामो समय, न्यून पारिश्रमिक, असुरक्षित वातावरणमा अत्यन्त कठिन परिस्थितिमा काम गर्नुपथ्र्यो। यस्ता समस्याहरूको आवाज उठाउँदै श्रमिकहरूले आन्दोलन गरे, जसको परिणामस्वरूप आज उचित ज्याला र श्रम अधिकार सुनिश्चित भएका छन्। यद्यपि अझै पनि धेरै स्थानमा श्रमिकहरू शोषणको सिकार भइरहेका छन्। त्यसैले यो दिवसले श्रमिक अधिकारप्रति सचेतना बढाउन मद्दत गर्छ। 

यो दिवसले समाजमा श्रमिकहरूको योगदानप्रति सम्मान व्यक्त गर्न प्रेरित गर्छ। कुनै पनि राष्ट्रको आर्थिक विकासमा मजदुरहरूको श्रम महत्वपूर्ण हुन्छ। चाहे निर्माण क्षेत्र होस् चाहे कृषि क्षेत्र होस् वा सेवा क्षेत्र सबै ठाउँमा श्रमिकहरूको सक्रिय भूमिका हुन्छ। उनिहरूको निरन्तर मेहनत बिना विकास सम्भव छैन। त्यसैले विश्व मजदुर दिवसले उनीहरूको श्रमको कदर गर्न र समाजमा समानता तथा न्यायको सन्देश फैलाउन मद्दत गर्छ।

मजदुर दिवसले श्रमिकहरूको अदृश्य श्रमलाई दृश्य बनाउँछ। दैनिक जीवनमा हामीले प्रयोग गर्ने वस्तुहरू सेवा तथा पूर्वाधार निर्माणमा श्रमिकहरूको ठूलो योगदान रहेको हुन्छ। तर धेरैजसो अवस्थामा उनीहरूको मेहनत ओझेलमा पर्छ। मजदुर दिवसले यिनै श्रमिकहरूको योगदानलाई उजागर गर्दै समाजलाई उनीहरूको महत्व बुझ्न प्रेरित गर्छ। यसले मानिसमा श्रमको सम्मान गरौं भन्ने भावनाको विकास गराउँछ। यस दिवसले समानता र न्यायको सन्देश प्रवाह गर्छ। कुनै पनि काम सानो वा ठूलो हुँदैन भन्ने सोचलाई मजदुर दिवसले सुदृढ बनाउँछ। जब समाजले श्रमिकहरूको कामलाई सम्मान गर्न सिक्छ, तब वर्गीय विभाजन कम हुँदै जान्छ र पारस्परिक सम्मानको भावना बढ्छ। यसले सामाजिक सद्भाव र समावेशी समाज निर्माणमा टेवा पुर्‍याउँछ। 

मजदुर दिवसले श्रमिकहरूको अधिकारप्रति सचेत गराउँछ। सम्मान केवल शब्दमा सीमित नभई व्यवहारमा पनि झल्किनुपर्छ। उचित पारिश्रमिक, सुरक्षित कार्य वातावरण, स्वास्थ्य सुविधा र विश्रामको अधिकारजस्ता विषयहरूमा ध्यान दिनु पनि सम्मानको अभिव्यक्ति हो। यस दिवसले सरकार, नियोत्ता र आमनागरिकलाई श्रमिकमैत्री नीतिहरू अपनाउन प्रेरित गर्छ। त्यसैले मजदुर दिवसले युवा पुस्तालाई श्रमप्रति सकारात्क दृष्टिकोण विकास गर्न मद्दत गर्छ। श्रमलाई हेप्ने होइन, सम्मान गर्ने संस्कार निर्माण गर्नु समाजका लागि आवश्यक हुन्छ। जब नयाँ पुस्ताले श्रमिकहरूको योगदानलाई मूल्यवान् ठान्छ, तब भविष्यमा अझ न्यायपूर्ण र समतामूलक समाज निर्माण हुन्छ। 

मजदुर दिवस केवल उत्सवको दिन मात्र होइन। यो आत्ममूल्यांकन र सुधारको गहिरो अवसर हो। यस दिनले श्रमिकहरूको वर्तमान अवस्थालाई नजिकबाट नियाल्ने, उनीहरूले भोगिरहेको समस्याहरू बुझने र तिनको समाधानका लागि ठोस कदम चाल्ने र प्रेरणा दिने अवसर हो। आज पनि धेरै ठाउँमा बालश्रम, काम गर्ने वातावरण असुरक्षित, न्यून पारिश्रमिकजस्ता समस्या विद्यमान छन्। यस्तो अवस्थामा मजदुर दिवसले सरकारले समाजलाई सचेत गराउँदै श्रमिक हितका लागि आवश्यक नीतिहरू निर्माण गर्न प्रेरित गर्नुपर्छ। यदि मजदुर दिवस केवल भाषण र औपचारिक कार्यक्रममै सीमित रह्यो भने यसको वास्तविक उद्देश्य पूरा हुँदैन। 

यस दिनले नीतिगत सुधारका लागि मार्गचित्र तयार पार्ने अवसर प्रदान गर्छ। श्रमिकमैत्री कानुनको प्रभावकारी कार्यान्वयन, न्यूनतम ज्यालाको सुनिश्चितता स्वास्थ्य बिमा, सामाजिक सुरक्षा कोष तथा सुरक्षित कार्यस्थलको व्यवस्थाजस्ता पक्षहरूमा स्पष्ट योजना आवश्यक हुन्छ। मजदुर दिवसका अवसरमा गरिने छलफल र अन्तरक्रियाले यस्ता योजनालाई व्यवहारमा उतार्न मद्दत गर्नुपर्छ। 

श्रमिक स्वयंलाई सशक्त बनाउने अवसर पनि यही दिनले दिन्छ। श्रमिकहरूलाई आफ्नो अधिकारबारे जानकारी हुनु अत्यन्त जरुरी छ। तालिम, शिक्षा र संगठनमार्फत उनीहरूको आवाज बलियो बनाउनपर्छ। मजदुर दिवसले श्रमिकहरूलाई एकजुट गराई आफ्नो हकका लागि सजग र सक्रिय बन्न प्रेरित गर्नुपर्छ। त्यसैगरी प्रविधि र बदलिँदो आर्थिक संरचनासँगै श्रमिकहरूलाई अनुकूल बनाउने सोच पनि आवश्यक छ। आजको युगमा सीपमूलक तालिम, डिजिटल ज्ञान र नयाँ अवसरहरूको खोजी महत्वपूर्ण बन्दै गएको छ। 

अन्त्यमा, मजदुर दिवस मनाउनुको औचित्य केवल एक दिनको औपचारिकता होइन, बरु श्रमको सम्मान, अधिकारको संरक्षण र सामाजिक न्यायको सुनिश्चिततासँग जोडिएको गहिरो विषय हो। यो दिवसले हामीलाई मजदुरको योगदानको कदर गर्न, उनीहरूको हकहितका लागि आवाज उठाउन र राज्य रोजगारदाता तथा स्वयं मजदुरलाई आआफ्नो जिम्मेवारीप्रति सचेत बनाउँछ। त्यसैले मजदुर दिवस मनाउनु भनेको समानता, मर्यादा र समृद्ध समाजतर्फ अघि बढ्ने साझा प्रतिबद्धता दोहोर्‍याउनु हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.