असफलताबीच उदाएका विजय

असफलताबीच उदाएका विजय

जिन्दगीका अनगिन्ती असफलता, हण्डर र दुःख भोगेर सफलताको सिँढी चढेका कलाकार हुन्– विजय बराल।

भनिन्छ, लोहारको सयौँ चोटले मात्र सुन कलात्मक आकृतिमा खारिन्छ। जिन्दगीका अनगिन्ती असफलता, हण्डर र दुःख भोगेर सफलताको सिँढी चढेका कलाकार हुन्– विजय बराल। उनी नेपाली कला क्षेत्रका त्यस्ता पात्र हुन्, जसको सफलता कुनै ओभरनाइट मिराकल होइन। यो त करिब दुई दशक लामो धैर्य, भोक र रंगमञ्चप्रतिको अगाध आशक्तिको परिणाम हो।

सर्लाहीको लालबन्दीमा जन्मिएका विजयलाई सानैदेखि अभिनयको रहर थियो। विद्यालयका नाटकहरूमा उनी सधैँ अगाडि हुन्थे। तर, मोफसलको एउटा मध्यमवर्गीय परिवारको छोराका लागि ‘कलाकार बन्छु’ भन्नु सजिलो थिएन। यसमाथि कलाकारितामा लाग्दा भोग्नुपर्ने दुःख र खानुपर्ने हण्डरको बाटो निकै लामो थियो।

उच्च शिक्षाका लागि काठमाडौँ छिरेपछि उनको वास्तविक संघर्ष सुरु भयो। सुरुका दिनमा उनीसँग न बस्ने निश्चित ठाउँ थियो, न त गोजीमा टन्न पैसा। तर, एउटा कुरा प्रस्ट थियो— उनलाई पर्दामा देखिनु थियो, कलाकार बन्नु थियो। आफूले देखेका र अनुभूति गरेका पात्रहरूको जीवन्त चरित्र चित्रण गर्नु थियो।

विजय बरालको पहिचानको जग मण्डला थिएटर हो। दयाहाङ राई, राजन खतिवडाजस्ता सारथिहरूसँग मिलेर उनले मण्डला थिएटर स्थापना गरेका थिए। नाटक गरेर बिहान–बेलुकाको छाक टार्न मुस्किल हुन्थ्यो। कहिलेकाहीँ भोकै त कहिले चाउचाउको भरमा दिन काटेका कथाहरू उनको जीवनमा प्रशस्त छन्।

कतिपय चलचित्रको अडिसनबाट उनी ‘लुक्स’कै कारण फालिएका थिए। कतिपयले विभेद पनि गरे। उनलाई राम्रोसँग थाहा थियो— अभिनयको आफ्नै ‘लुक्स’ हुन्छ, जुन अनुहारको बनावटमा मात्र सीमित हुँदैन। विजयको फिल्मी यात्रालाई ‘कबड्डी’ सिरिजले नयाँ मोड दियो। कबड्डी सिरिज, जहाँ उनी दयाहाङ राईका अभिन्न मित्रका रूपमा स्थापित भए।

विजय भन्छन्, ‘सफलता त भर्खर देखिन थालेको हो, असफलतासँग त मेरो पुरानो मितेरी छ।’ लामो समयसम्म काठमाडौँमा टिक्नका लागि उनले अनेक साना–तिना काम गरे। धेरै वर्षसम्म उनले साइड रोलमा मात्र काम पाए, जहाँ भूमिका र पारिश्रमिक निकै कम हुन्थ्यो। दर्शकको नजरमा खासै नपर्ने भूमिका मात्र।

मानिस उनलाई चिन्न त चिन्थे, तर नाम भन्दा पनि उनले निभाएको चरित्रका कारण। पात्रलाई न्याय गर्न बोलेका शब्दहरू चर्चित हुन्थे। पात्रको अभिनयले चर्चा कमाउँथ्यो, तर उनलाई बिर्सन्थे। विजय बरालको सबैभन्दा ठुलो शक्ति उनको नेचुरल एक्टिङ हो। उनी पात्रमा यसरी छिर्छन् कि दर्शकलाई उनी अभिनय गरिरहेका छन् भन्ने लाग्दैन। चाहे त्यो मधेसको लवज होस् वा पहाडी गाउँको ठेट बोली, उनले हरेक चरित्रमा प्राण भरेका छन्। उनी बेला बेला भन्ने गर्छन्— ‘मलाई स्टार बन्नु छैन, मलाई त केवल एउटा यस्तो कलाकार बन्नु छ जसलाई देखेर दर्शकले आफ्नो छिमेकी वा आफ्नै कथाको पात्र सम्झियोस्।’

आज विजय बरालको हातमा फिल्मका स्क्रिप्टको चाङ छ। उनी सफल छन्, व्यस्त छन् र सम्मानित छन्। तर, यो सफलताको पछाडि लालबन्दीका ती सडकहरू, मण्डलाको त्यो चिसो भुइँ र भोकै पेटमा रिहर्सल गरिएका ती रातहरूको ठूलो हिस्सा छ। उनी कलाकार मात्र होइनन्, नेपाली रंगमञ्च र सिने क्षेत्रका लागि एउटा ‘प्रेरणा’ हुन्।

लालबन्दीको सामान्य परिवारमा जन्मिएका विजयमा सानैदेखि अलि फरक स्वभाव थियो। अरू साथीहरू खेल्न वा पढ्नमा व्यस्त हुँदा उनी कसैको नक्कल गर्न वा ऐना हेरेर भावभंगी बनाउने गर्थे। विद्यालयका अतिरिक्त क्रियाकलापमा विजयको नाम पहिलो नम्बरमा हुन्थ्यो। गाउँमा हुने स–साना नाटक र सांगीतिक साँझहरूले उनलाई अभिनयको नशा लाग्यो। यही नशा पूरा गर्न उनी बिरानो सहर काठमाडौँ पसे, जहाँ उनका लागि सुनौलो ढोका खोलिदिने कोही थिएन। डिल्लीबजारको एउटा सानो कोठामा बसेर उनले अभिनयको अवसर खोजिरहे।

उनी ‘गुरुकुल’ थिएटरसँग जोडिए। सुनील पोखरेलको सामीप्यमा उनले अभिनयको कखरा सिके र जीवनलाई हेर्ने नयाँ दृष्टिकोण पनि पाए। यसपछि मण्डला थिएटरमा दयाहाङ राई, राजन खतिवडा र सिर्जना सुब्बाजस्ता सारथिहरूसँग मिलेर काम गरे।

विजयको अनुहार र शारीरिक बनावट आजको ‘चकलेटी हिरो’ को परिभाषामा अट्दैनथ्यो। यसैले पनि उनलाई अभिनेता बन्नका लागि निकै संघर्ष गर्नुपर्‍यो। रामबाबु गुरुङको निर्देशनमा बनेको ‘कबड्डी’ फिल्ममा उनले निर्वाह गरेको ‘बीके’ को भूमिकाबाट निकै चर्चा पाए। मुस्ताङको पृष्ठभूमिमा दयाहाङ राईको साथीका रूपमा उनले जुन स्वाभाविक र ठेट अभिनय गरे, त्यसले उनलाई रातारात चर्चाको शिखरमा पुर्‍यायो। ‘काजीको साथी’ भनेर चिनिएका विजयले बिस्तारै आफ्नो छुट्टै पहिचान बनाउन सफल भए।

यी भूमिकाहरूले उनलाई केवल कमेडियनमात्र होइन, एक सशक्त चरित्र अभिनेताका रूपमा स्थापित गर्न सहयोग गर्‍यो। उनी अहिले पनि मण्डला थिएटरमा उत्तिकै सक्रिय छन् र नयाँ पुस्तालाई अभिनय सिकाउँछन्। उनी भन्छन्, ‘म अझै पनि सिक्दै गरेको एउटा विद्यार्थी हुँ।’विजय बरालको कथा तमाम संघर्षशील युवाहरूको कथा हो, जो अभावका बीच पनि आफ्नो सपनाको दियो बाल्न खोजिरहेछन्। रंगमञ्चको चिसो भुइँबाट सुरु भएको उनको यो यात्राले सिकाउँछ कि— यदि तपाईँसँग कलाप्रति समर्पण छ र असफलतासँग नडराउने मुटु छ भने यो संसारले एक न एक दिन तपाईँको प्रतिभालाई सलाम गर्नेछ।

छक्का पन्जा ४, कबड्डी, जारी, डिग्री माइला, दिमाग खराब, पूर्ण बहादुरको सारंगी, छड्के, मिस्टर झोलेलगायतका एक दर्जनभन्दा बढी चलचित्रमा उनले अभिनय गरेका छन्। ‘पूर्ण बहादुरको सारंगी’ फिल्मको अभिनयबाट उनले गत वर्ष उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र अवार्डसमेत प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.