देउडा गीतमा दार्शनिक पक्ष

संस्कृति

देउडा गीतमा दार्शनिक पक्ष
सुन्नुहोस्

वाल्मीकिले रामायण लेख्या माभारत व्यासले।
डाँडो उक्ली बैझाऊ मान्दो पानीका प्यासले।।

देउडा गायन र रचनाका अब्बल व्यक्ति गुन्ट्या बुढा, मानबहादुर सिंह पहाडीलगायत ठाडी भाकाका सर्जक हरिश्चन्द्र कठायत हामी बीच हुनुहुन्न। यसैगरी गीतका मर्मज्ञ व्यक्तित्व अछामका मकरबहादुर स्वार, मथुराप्रसाद रेग्मी नेपालगन्जका पुराना सर्जक प्रेमप्रकाश मल्ल पनि स्वर्गलोकमा गइसक्नुभयो। बझाङका भीमबहादुर धामी, जयराज जोशी, अछामकै श्रीमती मोतीकला दमाई, बैतडीका ताराबहादुर चन्द, जुम्लाका गोरखबहादुर बुढा सम्पर्कमा न आएको पनि धेरै भयो। व्यस्तताका कारण सर्जकलाई नि खोलो तर्‍यो लौरो बिस्र्यो जस्तै भइरहेछ।

जुम्लाकै महाशंकर देवकोटा र शिवचन्द्र खत्रीका संकलित मौलिक भाकाहरूलाई पनि स्व. मधुबाबु थापाले संगीतमा न्याय दिएर आफ्नो र वरिष्ठ गायिका चन्द्रकला शाहले रेडियो नेपालको स्टुडियोसम्म पुर्‍याएको पनि हिजो जस्तै लाग्छ। गीतका सफल संकलनकर्ता एवं वरिष्ठ मादल बादक सुर्खेतका प्रेमदेव गिरीले केही कर्णाली प्रदेशका मौलिक र अजम्बरी भाकाहरूलाई रेडियो नेपाललाई उपहार दिएको कदापी भुल्न सकिँदैन। वर्तमानमा यी र यस्तै भाकाको न्याय गर्दै केही सर्जक समाजमा देखा परेका छन्। केहीले त पुराना सर्जकका भाकालाई हुबहु नक्कल गरी आफ्नो स्वरमा उतारी प्रतिलिपि अधिकारको ठाडो उल्लंघन गरेका छन्। कानुन हातमा लिई लाखौं दर्शक श्रोताको आँखामा छारो हाल्नु अवश्य पनि न्यायसंगत होइन। यस्ले वास्तविक सर्जक ओझेलमा पर्छ, छट्टु सर्जक समाजमा देखा पर्छन्।

माथि उल्लेखित विवरण पाठक समक्ष ल्याउनुको एउटै उद्देश्य हो पुराना सर्जकका कतिपय गीत र विचारहरू लिपिबद्ध र स्वरबद्ध छैनन्। बिनाप्रमाण लेख्दा पाठक न पत्याउन सक्छन्। देउडा गायन र संस्कृति उत्थानका लागि पंक्तिकारले कर्णाली प्रदेशको भूमिदेखि महाकालीसम्मका बस्तीमा पुगेर धेरै कालजयी देउडा भाका संकलन गरें। आफ्नै स्वरले साथ दिउन्जेल निकै गीत रेकर्ड गरें। अनुभवी पाका सर्जकसँग गीतका बारे विचारविमर्श गरें। धेरै सर्जकका धेरै मत मनमा राखें।

ती अजम्बरी सर्जक र समाजका सांस्कृतिक अगुवाहरूको एउटै मत पाइयो। त्यो मत र विचार हो देउडागीत आदिम संस्कृति हो, जुन रामायण महाभारत कालदेखि, मानव सभ्यताको सुरुवातदेखि नै कल्पनातीत भएर उत्पत्ति भएको हो। अझ महाशंकर देवकोटाको भनाइमा त ब्रह्माजीको मुखबाट निस्केको वेदको ऋचा नै देउडागीतको मुहान हो। ऋगवेद, यजुर्वेद, सामवेद र अथर्ववेदमध्ये सामवेदमा संगीतका विषयहरूको वर्णन गरिएको छ। संगीतमा धेरै ध्वनिहरू समाविष्ट छन्। देउडागीत पनि संगीतको प्राचीन रूप हो जस्को जरा सामवेदमा निहित छ। 

मोतीकला दमाई अछाम बयलपाटा नजिकै बस्ने अपठित गृहिणी हुन्। उनले स्कुलको आँगनीमा पाइला टेक्ने अवसर पाएकी छैनन्। सुनेको भरमा मोतीकलाले माथिको मुखडा गीत पंक्तिकारलाई २०४९ सालको जेठ महिनामा आफ्नै आँगनीमा सुनाइन्। कुनैबेला नेपाल टेलिभिजनका देउडा कार्यक्रमका सफल प्रस्तोता जयन्द्र स्वाँर पनि पंक्तिकारसँगै हुनुहुन्थ्यो। मायाप्रेम, प्राकृतिक सौन्दर्य, परदेशीका गीत अझ भनौं गरिबीमा आधारित देउडागीत त हजारौंले स्थानीय भूमिदेखि स्वदेश विदेशमा गाएका छन्। यो क्रम निरन्तर चलिरहनेछ। तर देउडामा दार्शनिक पक्षका गीत सबैले गाउन सक्दैनन्। अझ भन्ने हो भने कुनै बेला गीत गाउने भाका मिलाउने मानिसलाई हेलाँगरी भाण, वादी भन्ने पनि गरिन्थ्यो।

अब त्यस्तो समय छैन। मोतीकला दमाई, महाशंकर देवकोटा, गुन्टे बुढा आदिका भाकाहरू अहिले ऐतिहासिक र सांस्कृतिक दस्तावेज बने। जुन दार्शनिक पक्षसँग सम्बन्धित छन्। हुन पनि सत्य यही हो कि संस्कृतमा रामायणको रचना वाल्मीकिले गरे। महाभारतको रचना भगवान् वेदव्यासले गरे। जुन ग्रन्थ हिन्दु धर्मावलम्बीका लागि पवित्र र आदिम ग्रन्थहरू हुन। गृष्म ऋतुमा पानीका मुहान सुक्ने हुँदा पानी प्यास लोगेका बटुवाहरू अग्लाअग्ला डाँडाहरू पैदलै हिँडेर जहाँ नदी या जलाशय जमिन छ त्यही ठाउँमा पुगौं भन्छ। कल्पना गर्नुहोस्– रामायण, महाभारतका कथाहरू बुझ्न र पानीको प्यास मेट्न समानान्तर जस्तै लाग्छ कि लाग्दैन ?
शिवजी शिवका थान जोगी बस्या ध्यान 
एकै सूर्य घाम ताप्दा छौ भिट हुँदैन क्यान।

वरिष्ठ नियात्राकार प्रतीक ढकाल २०४८ सालमा राष्ट्रसेवकका रूपमा बझाङ जिल्लामा पुगेका थिए। राष्ट्रसेवकमात्र नभएर ढकाल रेडियो नेपालका राम्रा गायक पनि हुन्। कुनैबेला शम्भु राई, बुद्धवीर लामा, लंका गोले, प्रतीक ढकाल, सूर्य थुलुङको गायकी जोडी निकै चम्केको थियो। देउडा भूमि सदरमुकाम चैनपुरमा देउडा गीति क्यासेटको पहिलो उपस्थितिले शिलदेवी मेला देउडा गीतमय बनेको देखेर उनी छक्क परेका थिए। गीति क्यासेटमा भएका धेरै गीत प्रतीकले मन पराएछन्।

न जानेका शब्द कापीमा उतारी पंक्तिकारलाई सोधें पनि। जानेको सबै बताएँ। शब्दशब्द केलाएर व्याख्या गर्नमा सिपालु उनले देउडागीत त शास्त्रीय छन्द र दार्शनिक पक्षका गीत पो रहेछन् भनेको हिजो जस्तै लाग्छ। हुन पनि ‘एकै सूर्य घाम ताप्दाछौं भिट हँुदैन क्यान ?’ भनी आफैंले आफैंलाई प्रश्न गर्नु भेट न हुनु, पृथ्वी अप, तेज, वायु, आकाश यी पाँच वस्तुबाट निर्मित हाम्रो शरीरको गति र सूर्यको गतिमा तात्विक मात्र फरक देखिन्छ। 
भोट्यान वाज् पण्यो भन्छन् मेरा लेखी चिल
जाँ गयाँ बौलणी खेल्छन् बैरी वाजा डिल।

यो गीतको सान्दर्भिकता हिजो जति थियो। आज पनि त्यति नै छ। जीवन र जगत्, मृत्युपछिको संसार, भोटका मानिस, चराचुरुंगीलगायत जीवजन्तुको अवस्था मानिसको जिन्दगीमा देखापर्ने घटना दुर्घटनाहरू दार्शनिक पक्षबाट यो गीतमा व्याख्या गरिएको छ। दार्शनिक चिन्तक प्रा.डा. डीपी भण्डारीले देउडागीतलाई छोर्‍याट्टा, छोर्‍याट्टीका गीतमात्र नभनी जीवनका दार्शनिक गीत हुन भनी परिभाषा गरेका थिए।

कवि तथा लेखक मोतीराज बम, साहित्यकार मनोहर लामिछाने (सल्यान) गायक कीर्तिबहादुर सिंह (बाजुरा) लगायतका सर्जकले देउडागीतलाई समान्य रूपमा अथ्याउनु हुन्न भनी विचार दिएकालाई पनि सामान्य रूपमा हेरिनु हुन्न। देउडा गीतको दार्शनिक पक्ष निकै गहिरो छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.