पल्ली बने स्वास्थ्य क्षेत्रका भरोसा

पल्ली बने स्वास्थ्य क्षेत्रका भरोसा

कुनै बेला डाक्टर बन्ने सपना बोकेर संघर्ष सुरु गरेका पल्ली आज डाक्टर नबने पनि चिकित्सकहरूको व्यवस्थापन र बिरामीको सेवामार्फत समाजका लागि एक कुशल व्यवस्थापक र सच्चा सेवक प्रमाणित भएका छन्।

गुल्मीको एक सामान्य परिवारमा जन्मिएका होमबहादुर पल्ली थापा आज जिल्लाको स्वास्थ्य क्षेत्रमा एक भरोसायोग्य नाम बनेका छन्। घरका सात भाइ छोरामध्येका कान्छा पल्लीलाई नौ जनाको ठूलो परिवारको आर्थिक भार बुवाको काँधमा मात्र रहेको यथार्थ राम्रोसँग थाहा थियो। वि.सं. २०६२ मा गाउँकै सत्यवती माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनको सपना भविष्यमा डाक्टर बन्ने थियो। तर, उनका ६ दाजुभाइमध्ये कोही भारतीय सेना त कोही वैदेशिक रोजगारीका लागि खाडी मुलुकतिर लागे। सिंगो गाउँमा नै भर्ती हुने वा बिदेसिने लहर चलिरहँदा पल्लीले भने आफ्नै देशमा केही गर्ने फरक बाटो रोजे।

उच्च शिक्षाका लागि स्वास्थ्य क्षेत्र नै उनको पहिलो रोजाइ थियो। डाक्टर बनेर बिरामीको सेवा गर्ने तीव्र इच्छा भए तापनि आर्थिक अभाव उनको बाटोमा मुख्य तगारो बन्यो। परिवारले महँगो डाक्टरी पढाइका लागि लगानी गर्न नसक्ने भएपछि उनको त्यो सपना तत्कालका लागि अधुरै रह्यो। तर, उनले हिम्मत हारेनन् र आफ्नो क्षमताअनुसारको शैक्षिक यात्रा अघि बढाउने निधो गरे।

अभिभावक समान गाउँकै रामु सूर्यवंशी (जो हाल लिम्घा स्वास्थ्य चौकीका इन्चार्ज हुन्) को सल्लाह र मार्गदर्शनमा उनी अहेब (सीएमए) पढ्न सदरमुकाम तम्घास आए। वि.सं. २०६४ मा तम्घास प्राविधिक शिक्षालयबाट सीएमए उत्तीर्ण गरेपछि उनी खाली बस्नुको सट्टा काममा लागे। उनले तम्घासको भीमचोकस्थित महेश फर्मामा वि.सं. २०६४ देखि २०६६ सम्म काम गरे। उनको सरल स्वभाव र मिठासपूर्ण बोली नै बिरामीहरूका लागि पहिलो ओखती बन्थ्यो। बिरामीको मन जित्न सफल भएकै कारण धेरैले उनको सल्लाह र सुझावलाई विश्वास गर्न थाले। यसैबीच गुल्मी जिल्ला अस्पतालमा करारमा अहेब पदको विज्ञापन खुल्यो र पल्लीले प्रतिस्पर्धा गरी नाम निकाल्न सफल भए। यसरी उनको सरकारी सेवाको यात्रा सुरु भयो।

जिल्ला अस्पतालको अनुभवले उनमा थप उत्साह र निखार ल्यायो। अस्पतालका विशेषज्ञ चिकित्सकहरूसँगको सामीप्यताले उनलाई धेरै कुरा सिक्ने अवसर दियो। रात्रिकालीन ड्युटी हुने भएकाले उनले दिउँसोको समयलाई थप उपयोग गर्ने सोच बनाए। निजी मेडिकलमा काम गर्दा बनेको चिनजानका कारण उनलाई खोज्ने बिरामीहरूको संख्या उल्लेख्य थियो। अस्पताल बाहिर पनि उनले कतिपय बिरामीलाई घरमै पुगेर सेवा दिए। बिरामीहरूकै बारम्बारको आग्रह र ‘होम सर, तपाईंले आफ्नै क्लिनिक खोल्नुस्’ भन्ने सुझावपछि उनमा व्यावसायिक सोच पलायो।

पुँजीको अभाव भए तापनि उनले हिम्मत जुटाए र मासिक तीन हजार रुपैयाँ भाडामा एउटा सटर लिएर २०६७ सालदेखि ‘शुभलक्ष्मी क्लिनिक एन्ड फर्मा’ सञ्चालनमा ल्याए। दुई वर्ष काम गरेर जोगाएको दुई लाख रुपैयाँबाट सुरु भएको यो व्यावसायिक यात्रामा उनकी जीवनसंगिनी लक्ष्मी पल्लीको ठूलो साथ रह्यो, जो आफैँ पनि अहेब हुन्। क्लिनिक सुरु भएपछि उनलाई पछ्याउँदै आउने बिरामीहरूको भिड लाग्न थाल्यो। २०७५ सालदेखि उनले क्लिनिकलाई थप व्यवस्थित गर्दै लगानी विस्तार गरे। टिमवर्कमा विश्वास गर्ने पल्लीले आफ्ना सहकर्मी साथीहरू र नयाँ भाइबहिनीहरूलाई रोजगारी दिँदै सेवालाई प्रभावकारी बनाए।

सुरुमा दुई लाखबाट थालिएको व्यवसाय अहिले करिब ११ करोडको पुँजीमा पुगेको छ। तम्घासका विभिन्न चोकसहित बुटवलको सुक्खानगर र धनगढीसम्म उनले शाखा विस्तार गरिसकेका छन्। साथै बुटवल र तम्घासमा ‘सत्यवती ट्रेडिङ’ मार्फत स्वास्थ्य सामग्रीको व्यवसाय पनि गरिरहेका छन्। उनको नेतृत्वमा हाल एक सयभन्दा बढी युवाले प्रत्यक्ष रोजगारी पाएका छन्। ३६ वर्षीय पल्ली भन्छन्, ‘मैले जतिलाई रोजगारी दिएको छु, उहाँहरू सबैको लगानी र मेहनत यसमा मिसिएको छ। युवाहरूलाई रोजगारीमात्र होइन, आत्मनिर्भर पनि बनाउनुपर्छ भन्ने मेरो मान्यता हो।’

गुल्मीका अधिकांश गाउँपालिका र नगरपालिकाका बिरामीहरू विशेषज्ञ सेवाका लागि पल्लीको क्लिनिकमा भर पर्छन्। उनले साप्ताहिक रूपमा पाल्पा, बुटवल र काठमाडौँबाट विशेषज्ञ डाक्टरहरू ल्याएर सेवा दिइरहेका छन्। जिल्ला अस्पतालमा काम गर्दा डा. कासिम शाहले दिएको हौसला र प्रेरणालाई उनी आज पनि सम्मानका साथ सम्झन्छन्।

१४ वर्षको लामो अनुभवले खारिएका पल्लीले कोभिड–१९ को महामारीका बेला घरघरै पुगेर सेवा दिए। आर्थिक रूपमा विपन्न बिरामीहरूका लागि उनले क्लिनिकमा नि : शुल्क उपचारको व्यवस्थासमेत गरेका छन्। ‘म दिनमा एकपटक बिरामीको अवस्था देखेर भावुक नभएको दिन हुँदैन,’ उनी भन्छन्, ‘रोग भएर पनि पैसाको अभावमा उपचार गर्न नसकेका सयौँको हामीले नि : शुल्क सेवा गरेका छौँ। मैले आफ्नो विगतको दु : ख बिर्सेको छैन।’

पल्लीले आफ्नो जन्मगाउँ लिम्घालाई पनि उत्तिकै माया गर्छन्। स्वास्थ्यचौकी स्थापनाका लागि उनले करिब पाँच रोपनी जग्गा नि : शुल्क दान गरे भने त्यहाँ आधारभूत प्रयोगशालासमेत स्थापना गरिदिएका छन्। यसले गर्दा स्थानीय बासिन्दा उपचारका लागि घण्टौँ हिँडेर खैरेनी जानुपर्ने बाध्यताबाट मुक्त भएका छन्। स्वास्थ्यबाहेक उनले कृषि क्षेत्रमा पनि हात हालेका छन्। लिम्घामा ८० रोपनी जग्गामा ‘सत्यवती एग्रो प्रालि.’ मार्फत टिमुर खेती सुरु गरेका छन् भने पाल्पाको अर्गलीमा ‘हेरिटेज रिसोर्ट’ सञ्चालनमा ल्याएर थप युवालाई रोजगारी दिएका छन्।

पछिल्लो समय युवा पुस्ता लागुऔषधको दुव्र्यसनीमा फस्दै गएको देखेपछि पल्लीले गुल्मीका १२ वटै पालिकाका विद्यालय र समुदायमा पुगेर नि : शुल्क सचेतना अभियान चलाउने योजना बनाएका छन्। यस अभियानका लागि लाग्ने सम्पूर्ण खर्च उनी आफैँले बेहोरिरहेका छन्। कुनै बेला डाक्टर बन्ने सपना बोकेर संघर्ष सुरु गरेका पल्ली आज डाक्टर नबने पनि चिकित्सकहरूको व्यवस्थापन र बिरामीको सेवामार्फत समाजका लागि एक कुशल व्यवस्थापक र सच्चा सेवक प्रमाणित भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.