भेरिकोस भेन्समा होमियोप्याथी
भेरिकोस भेन्स एक दीर्घकालीन रक्तसञ्चारको विकार हो, जसले रोगीको जीवनस्तरमा गम्भीर प्रभाव पार्न सक्छ। यद्यपि, समयमै सही होमियोप्याथिक उपचार र जीवनशैली सुधारबाट यसलाई सुरक्षित, प्रभावकारी र पीडारहित रूपमा नियन्त्रण गर्न सकिन्छ।
आधुनिक जीवनशैलीसँगै तीव्र रूपमा बढ्दै गएको रक्तसञ्चारसम्बन्धी समस्यामध्ये भेरिकोस भेन्स एक प्रमुख समस्या हो । आजको समयमा लामो समय उभिएर काम गर्ने बानी, शारीरिक निष्क्रियता, मोटोपना, मानसिक तनाव तथा हार्मोनल असन्तुलनका कारण यो समस्या अत्यन्त सामान्य बन्दै गएको छ । विशेषगरी शिक्षक, स्वास्थ्यकर्मी, प्रहरी, व्यवसायी, गर्भवती महिला तथा वृद्ध व्यक्तिहरूमा यसको प्रभाव बढी देखिन्छ । भेरिकोस भेन्स केवल बाहिर देखिने फुलेका नसाहरू मात्र होइन, यो नसागत रक्तसञ्चार प्रणालीको गम्भीर असन्तुलनको संकेत हो ।
प्रारम्भमा सामान्य– थकान वा खुट्टा भारी हुने जस्ता लक्षण देखिए पनि समयमै उचित उपचार नगरेमा । दीर्घकालमा घाउ, रगत जम्ने अवस्था तथा नसागत अपर्याप्तता जस्ता जटिल समस्याहरू उत्पन्न हुन सक्छन् । शरीरको क्रियात्मक आधार हेर्ने हो भने मानव शरीरमा धमनीहरूले अक्सिजनयुक्त रगत अंगहरूमा पुर्याउँछन् भने नसाहरूले प्रयोग भइसकेको रगतलाई पुन : मुटुतर्फ फर्काउने काम गर्छन् । खुट्टाका नसाहरूमा विशेष प्रकारका भल्भहरू हुन्छन्, जसले रगतलाई माथितर्फ प्रवाह गराउन सहयोग पुर्याउँछन् र गुरुत्वाकर्षणविपरीत दिशामा पनि रक्तप्रवाह कायम राख्छन् । जब नसाको पर्खाल कमजोर हुन्छ, भल्भहरूले ठीकसँग काम गर्न सक्दैनन् र नसामा दबाब बढ्छ । त्यसपछि रगत तल जम्मा हुन थाल्छ, नसाहरू फुल्छन् र घुम्रिएका देखिन्छन् । यही अवस्थालाई भेरिकोस भेन्स भनिन्छ ।
रोगका प्रमुख कारणहरू
आनुवंशिकता – परिवारमा इतिहास भएमा नसाको संरचना कमजोर हुन सक्छ ।
पेसागत कारण – लामो समय उभिने वा बसिरहने काम (शिक्षक, सर्जन, गार्ड, व्यवसायी आदि) ।
गर्भावस्था – हार्मोनल परिवर्तन, श्रोणी क्षेत्रमा दबाब र रगतको मात्रा वृद्धि ।
मोटोपना– अत्यधिक तौलले नसामा अतिरिक्त दबाब पार्छ ।
कब्जियत – बारम्बार बल प्रयोग गर्दा नसामा दबाब बढ्छ ।
उमेर वृद्धि – नसाको लोचिलोपन घट्दै जान्छ ।
शारीरिक निष्क्रियता – मांसपेशीको पम्पगर्ने क्रिया कमजोर हुँदा रगत जम्न थाल्छ ।
भेरिकोसका लक्षणहरू
प्रारम्भिक अवस्था – खुट्टा भारी हुने थकान र पोल्ने अनुभूति लामो समय उभिँदा असहजता महसुस हुने गर्छ ।
मध्यम अवस्था – नीलो वा बैजनी रंगका नसाहरू देखिनु, खुट्टा सुन्निनु चिलाउने तथा ऐंठन (विशेषगरी राति) ।
उन्नत अवस्था – छाला कालो वा कडा हुनु, छालामा समस्या (एक्जिमा) दीर्घकालीन घाउ (भेरिकोस अल्सर) आफैं रगत बग्ने अवस्था ।
मनोदैहिक सम्बन्ध – होमियोप्याथीअनुसार रोग केवल शारीरिक कारणले मात्र उत्पन्न हुँदैन । मानसिक अवस्थाले पनि महŒवपूर्ण भूमिका खेल्छ ।
दीर्घकालीन तनाव – जिम्मेवारीको अत्यधिक बोझ, दबिएका भावनाहरू, निराशा ।
यी अवस्थाहरूले नसाको संकुचन–विस्तार क्षमतामा असर पारेर रक्तसञ्चारलाई कमजोर बनाउँछन् । आधुनिक उपचारको सीमितता – आधुनिक चिकित्सा पद्धतिमा प्रयोग हुने उपचारहरू जस्तै– दुखाइ कम गर्ने औषधि, दबाब उपचार, लेजर प्रविधि तथा शल्यक्रियाले अस्थायी राहत दिन सक्छन् । तर, यी विधिहरूले मूल कारणलाई सम्बोधन नगर्ने भएकाले समस्या पुन : दोहोरिन सक्छ ।
होमियोप्याथीको दृष्टिकोण – होमियोप्याथीको मूल सिद्धान्त ‘समानले समानलाई निको पार्छ’ हो । यस पद्धतिले रोगलाई केवल स्थानीय समस्या नभई सम्पूर्ण शरीर, मन र जीवनशक्तिको असन्तुलनको परिणामका रूपमा लिन्छ ।
उपचारका उद्देश्यहरू : नसाको शक्ति र कार्यक्षमता सुधार गर्ने, भल्भको सन्तुलन कायम गर्ने, रगत जम्ने अवस्थालाई हटाउने, पोषण सुधार गर्ने, शरीरको प्राकृतिक निको हुने क्षमतालाई सक्रिय बनाउने, यसैले होमियोप्याथीलाई पीडारहित र सुरक्षित
उपचार प्रणाली मानिन्छ ।
बिरामीको केसहिस्ट्री लिनुको महत्व – सही औषधि छनोट गर्न निम्न कुरा महŒवपूर्ण हुन्छन्, दुखाइको प्रकृति, तापक्रमप्रतिको प्रतिक्रिया उभिँदा वा हिँड्दा हुने परिवर्तन, मानसिक अवस्था, शारीरिक प्रकृति आदि । होमियोप्याथीमा रोगभन्दा रोगीलाई केन्द्रमा राखिन्छ । रोगीको लक्ष्णअनुसार यस रोगमा प्रयोग हुने केहि प्रमुख होमियोप्याथिक औषधि निम्नलिखित छन् : –
हेमामेलिस भर्जिनिया : नसामा रगत भरिने, दुखाइ तथा रगत बग्ने प्रवृत्तिमा उपयोगी छ ।
पल्साटिला : निलो नसाहरू, उभिँदा बिग्रने र हिँड्दा सुधार हुने अवस्थाहरूमा ।
कल्केरिया फ्लोरिका : नसाको संरचनात्मक कमजोरी तथा दीर्घकालीन अवस्थाहरूमा ।
वाइपेरा बिरस : खुट्टा तल राख्दा असह्य दुखाइ हुने ।
लेकेसिस : निलोपन, विशेषगरी बायाँतर्फ बढी असर गर्छ ।
फ्लोरिक एसिड : पुरानो र जटिल अवस्थामा ।
आर्निका मोन्टाना : चोटपटकपछि उत्पन्न अवस्थाहरूमा ।
ग्रेफाइटिस : छालासम्बन्धी समस्या र स्राव भएको अवस्थामा ।
साइलिसिया : घाउ ढिलो निको हुने अवस्थामा यसको प्रयोग लाभदायक हुन्छ ।
भेरिकोस घाउको व्यवस्थापन
– आन्तरिक औषधि तथा बाह्य हेरचाह गर्नुपर्छ ।
– क्यालेन्डुला–त्त लगाउने ।
– हमामेलिसको–त्त (अर्क) घोलले सफा गर्ने ।
सरसफाइमा विशेष ध्यान उचित हेरचाहबाट शल्यक्रियाबिना पनि घाउ निको पार्न सकिन्छ ।
सहायक उपायहरू – दबाब दिने मोजा प्रयोग गर्ने खुट्टा माथि उठाएर राख्ने, नियमित हिँडडुल गर्ने, लामो समय उभिनबाट जोगिने, तौल नियन्त्रणमा राख्ने ।
आहार तथा जीवनशैली उपयुक्त खानपान – रेशायुक्त खाना, हरियो सागसब्जी, अमिलो फलफूल र पर्याप्त पानीको सेवन गर्ने ।बच्नुपर्ने बानीहरू – धूम्रपान, कडा लुगा लगाउने, लामो समय एकै स्थानमा बसिरहने वा उभिरहने, व्यायाम तथा योग गर्ने, खुट्टा माथि उठाउने आसन, साइकल चलाउने जस्तो व्यायाम, खुट्टाको घुमाउने अभ्यास, नियमित हिँड्ने । यी अभ्यासहरूले मांसपेशीको पम्प क्रियालाई सक्रिय बनाउँछन् ।
रोकथाम – समयमै ध्यान दिनु नै सबैभन्दा राम्रो उपाय हो । दैनिक शारीरिक गतिविधि, तौल नियन्त्रण, सही बस्ने–उभिने तरिका अपनाउने ।
निष्कर्ष : भेरिकोस भेन्स एक दीर्घकालीन रक्तसञ्चारको विकार हो, जसले रोगीको जीवनस्तरमा गम्भीर प्रभाव पार्न सक्छ । यद्यपि, समयमै सही होमियोप्याथिक उपचार र जीवनशैली सुधारबाट यसलाई सुरक्षित, प्रभावकारी र पीडारहित रूपमा नियन्त्रण गर्न सकिन्छ ।
होमियोप्याथीको वास्तविक शक्ति केवल नसाको उपचारमा सीमित नभई सम्पूर्ण व्यक्तिको जीवनशक्तिलाई सन्तुलित गर्नुमा निहित छ । त्यसैले, दीर्घकालीन समाधानका लागि होमियोप्याथी चिकित्सा एक प्रभावकारी र विश्वसनीय विकल्प हो । उपरोक्त उल्लेखित औषधिहरूको प्रयोग योग्य तथा अनुभवि होमियोप्याथीक चिकित्सकसँग परामर्ष लिई सेवन गर्दा उपयुक्त हुन्छ । अस्तु ।
मिश्र वरिष्ठ होमियोप्याथिक कन्सलटेन्ट हुन् ।
प्रतिक्रिया दिनुहोस !