चम्किँदै सहर, धमिलिँदै रहर

चम्किँदै सहर, धमिलिँदै रहर
सुन्नुहोस्

सहरको चम्किलो अनुहारले लुकाएको एउटा कठोर सत्य छ– सुकुम्बासी विस्थापन । विकासका ठूला नारा, ‘स्मार्ट सिटी’, ‘सुन्दर सहर’, ‘आधुनिक पूर्वाधार’ यी सबै शब्दहरू सुन्न आकर्षक लाग्छन् । तर, जब ती शब्दहरू डोजरको आवाजसँग मिसिन्छन् तब त्यो विकास होइन, मानवीय संवेदनामाथिको आक्रमण बन्छ ।

सहरको सौन्दर्य र ‘विकास’को नाममा हुने सुकुम्बासी विस्थापन केवल भौतिक स्थानको सरुवा मात्र होइन– यो मानिसको पहिचान, जीवनयापन, शिक्षा, सुनिश्चित भविष्य र मानव अधिकारको गहिरो संकट हो । आधुनिक सहरहरू आफूलाई ‘स्मार्ट’ बनाउने होडमा छन् तर यही प्रक्रियामा सबैभन्दा कमजोर वर्ग (सुकुम्बासी)बारम्बार अदृश्य बनाइन्छन् ।

विस्थापनको प्रक्रिया  :  कानुनी आवरण, मानवीय पीडा के हो त ? सामान्यत :  सुकुम्बासी विस्थापनको प्रक्रिया ‘अवैध बसोबास हटाउने’ भन्ने भाषिक आवरणबाट सुरु हुन्छ । स्थानीय निकाय वा राज्यले सूचना जारी गर्छ, कहिलेकाहीँ वैकल्पिक व्यवस्था बिना नै डोजर चलाइन्छ । कागजमा प्रक्रिया वैधानिक देखिए पनि, व्यवहारमा परामर्शको अभाव, उचित पुनर्वासको कमी र मानवीय संवेदनशीलताको घोर अभाव देखिन्छ ।

यसरी हेर्दा, विकास परियोजनाहरू– सडक विस्तार, नदी किनार सौन्दर्यीकरण वा आवासीय योजना– मानिसभन्दा माथि राखिन्छन् । प्रश्न उठ्छ– विकास कसका लागि ? के मानिसको आवासको अधिकार केवल राज्यले संविधान र कानुनको सौन्दर्य बढाउन मात्र लेखेको हो ? घर केवल संरचना, केवल छानो र चार पर्खाल होइन, यो सम्मानजनक जीवनको आधार हो । जब सुकुम्बासीलाई विस्थापित गरिन्छ, उनीहरू केवल घरबाट होइन– समुदाय, सामाजिक सञ्जाल, र सुरक्षाबाट पनि टाढा पारिन्छन् ।

भारतीय सर्वोच्च अदालतको ऐतिहासिक मुद्दामा युनियन अफ इन्डियाले यही प्रश्न उठाएको थियो । अदालतले स्पष्ट भनेको थियो– विस्थापन गर्नु अघि राज्यले पुनर्वासको सुनिश्चितता गर्नुपर्छ र मानव अधिकारको सम्मान गर्नुपर्छ । यो निर्णयले देखाउँछ कि आवासको अधिकार केवल नीति होइन, न्यायिक रूपमा संरक्षित अधिकार पनि हो । सहरका सुकुम्बासीहरू प्राय :  अनौपचारिक अर्थतन्त्रसँग जोडिएका हुन्छन्– रिक्सा चलाउने, ठेला व्यवसाय, घरेलु काम, साना पसल आदि । विस्थापनपछि जब उनीहरूलाई सहरको किनार वा टाढा स्थानमा सारिन्छ, उनीहरूको रोजगारी स्वत :  समाप्त हुन्छ । टाढा स्थानमा सारिँदा उनीहरू काममा पुग्न सक्दैनन् । यसले ‘राइट अफ लाइभली हुड’ माथि प्रत्यक्ष प्रहार गर्छ । 

यो केवल आर्थिक समस्या होइन, यो गरिबलाई अझ गरिब बनाउने संरचनागत हिंसा हो । विस्थापनपछि मानिसहरू बेरोजगार, ऋणग्रस्त र सामाजिक रूपमा प्रताडित हुनेछन् । जसको प्रत्यक्ष प्रभाव बालबालिकाहरूको शिक्षामा पर्छ । सुकुम्बासी बस्तीका बालबालिकाहरू नजिकैका विद्यालयमा पढिरहेका हुन्छन् । विस्थापनसँगै उनीहरूको शिक्षा टुट्छ । नयाँ ठाउँमा विद्यालयको अभाव, दूरी, वा आर्थिक कठिनाइका कारण धेरै बालबालिका पढाइ छोड्न बाध्य हुन्छन् । यसरी हेर्दा, एउटा डोजरले केवल घर मात्र होइन– बालबालिकाको भविष्य पनि भत्काइरहेको हुन्छ ।

सुकुम्बासी विस्थापन केवल प्रशासनिक निर्णय होइन, यो राजनीतिक प्राथमिकताको प्रतिबिम्ब हो । सहरको ‘सौन्दर्य’ र ‘निवेश आकर्षण’लाई प्राथमिकता दिँदा गरिब समुदायलाई हटाउनु सजिलो समाधान मानिन्छ । तर, लोकतन्त्रमा राज्यको दायित्व केवल संरचना बनाउने होइन– मानिसको गरिमा जोगाउने पनि हो । जब राज्यले कमजोर वर्गलाई सुन्न छोड्छ तब विकास असमानताको अर्को नाम बन्छ । अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डहरू जस्तै ‘युएन बेसिक प्रिन्सिपल्स अन इभिक्सिन्स’ले स्पष्ट रूपमा भनेको छ कि जबरजस्ती विस्थापन अन्तिम विकल्प हुनुपर्छ । पुनर्वास बिना विस्थापन अवैध हो । प्रभावित समुदायसँग परामर्श पर्याप्त सूचना र वैकल्पिक व्यवस्था अनिवार्य हुनुपर्छ । पुनर्वासबिना विस्थापन मानव अधिकार उल्लंघन हो ।

तर, व्यवहारमा यी सिद्धान्तहरू अक्सर बेवास्ता गरिन्छन् । राज्यले जब पुँजी र सौन्दर्यलाई प्राथमिकता दिन्छ तब गरिबको अस्तित्व बोझजस्तो देखिन थाल्छ । तर, लोकतन्त्रको असली परीक्षा यही हो– के राज्यले कमजोरको अधिकार जोगाउन सक्छ ? सवाल केवल सुकुम्बासीको होइन, हाम्रो समाजको नैतिकताको हो । यदि, विकासको नाममा हामीले सबैभन्दा कमजोरलाई नै हटाइरहेका छौं भने त्यो विकास होइन– विस्थापनको संस्थागत रूप हो । सहर केवल भवन र सडकले होइन, मानिसले बन्छ । र, जब मानिसलाई नै हटाइन्छ, सहर खाली संरचना मात्र बाँकी रहन्छ । अन्तत : , सुकुम्बासी विस्थापनको समाधान डोजर होइन– न्याय, संवाद र समावेशी नीति हो । जबसम्म ‘राइट टु हाउजिङ’, ‘राइट टु लाइभली हुड’, ‘राइट टु एजुकेसन’लाई व्यवहारमा लागू गरिँदैन, तबसम्म कुनै पनि सहर साँच्चिकै विकसित भन्न मिल्दैन ।

निष्कर्ष  : विकासको चमकभित्र लुकेको सुकुम्बासी विस्थापन केवल भौतिक संरचनाको विनाश होइन, बरु यो मानवीय संवेदना र मौलिक हकमाथिको निर्मम प्रहार हो । ‘स्मार्ट सिटी’को नाममा चलाइने डोजरले आवास मात्र होइन, एउटा वर्गको पहिचान, बालबालिकाको शिक्षा र श्रमजीवीको जीविकोपार्जनसमेत भत्काइरहेको हुन्छ । राज्यको दायित्व भौतिक संरचना खडा गर्नु मात्र नभई नागरिकको आत्मसम्मान र गरिमाको रक्षा गर्नु पनि हो । तसर्थ, विस्थापनलाई विकासको अचुक कडी मान्नुको सट्टा समावेशी पुनर्वास, सामाजिक न्याय र संवादको मार्ग रोज्नु आवश्यक छ । जबसम्म समाजका कमजोर वर्गको अस्तित्व सुरक्षित हुँदैन, तबसम्म कुनै पनि सहर वास्तविक रूपमा विकसित र मानवीय बन्न सक्दैन ।

विस्थापनलाई विकासको अचुक कडी मान्नुसट्टा समावेशी पुनर्वास, सामाजिक न्याय र संवादको मार्ग रोज्नु आवश्यक छ। जबसम्म समाजका कमजोर वर्गको अस्तित्व सुरक्षित हुँदैन तबसम्म कुनै पनि सहर वास्तविक रूपमा विकसित र मानवीय बन्न सक्दैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.