व्यावसायिक विरासत थामिरहेका करण

युवा शक्ति

व्यावसायिक विरासत थामिरहेका करण

आफूले हासिल गरेको सफलता आफ्नै मिहिनेतले हो भनेर प्रमाणित गर्न करणले दोब्बर मिहिनेत गर्नु परेको छ।

नेपालको औद्योगिक र व्यावसायिक जगतमा एक स्थापित नाम हो— करण चौधरी। उनी नेपालको प्रतिष्ठित र बहुआयामिक व्यावसायिक घराना सीजी होल्डिंग्सका प्रबन्ध निर्देशक हुन्, जसको कार्यक्षेत्र अटोमोबाइल्स, मदिराजन्य पेय, शिक्षा, दैनिक उपभोग्य वस्तु, हस्पिटालिटी, पेट्रोलियम उत्पादन र घरजग्गा (रियल स्टेट)सम्म फैलिएको छ। यसका साथै उनी नेपाल ल्युब आयल लिमिटेडको प्रबन्ध निर्देशक र मुख्य कार्यकारी अधिकृतका रूपमा पनि कार्यरत छन्। 

नेपालको अटोमोबाइल्स क्षेत्रको साझा संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को निवर्तमान अध्यक्षका रूपमा उनले मार्च २०२६ सम्म अत्यन्तै प्रभावशाली र गरिमामय कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका छन्।

चौधरी ग्रुपको विरासत बोकेको परिवारमा जन्मिएका करण, सीजी होल्डिंग्सका अध्यक्ष अरुणकुमार चौधरीका सुपुत्र हुन्। उनको व्यावसायिक यात्रा कुनै सुखद कुर्सी वा आरामदायी कार्यकक्षबाट सुरु भएको होइन। १२ वर्षको कलिलो उमेरमा, कक्षा ७ मा पढ्दै गर्दा विद्यालय सकिएपछि उनी दिउँसो ३ः३० बजे सिधै सर्भिस सेन्टर पुग्थे र गाडीका एसेसोरिजहरू जडान गर्ने काम गर्थे। आफ्ना पिता अरुणकुमार चौधरी (जसले सुजुकी इन्डिया अस्तित्वमा आउनुअघि नै नेपालमा सुजुकी गाडी भिœयाएका थिए) लाई आफ्नो पहिलो र सर्वश्रेष्ठ शिक्षक मान्ने करणले व्यापारका सैद्धान्तिक कुराभन्दा पनि भुईंतहको वास्तविकता र श्रमको मूल्यलाई नजिकबाट बुझ्ने अवसर पाए। 

यही व्यावहारिक जगले उनलाई पछि गएर नेपाल ल्युब आयल जस्तो मध्यमस्तरको कम्पनीलाई वार्षिक ४५ सय किलोलिटर उत्पादन लक्ष्य राख्ने बजारकै अग्रणी संस्थामा रूपान्तरण गर्न ऊर्जा प्रदान गर्‍यो।

करण चौधरीको नेपालमै बसेर केही गर्ने प्रेरणा कुनै एउटा क्षणको उपज नभई उनको भोगाइ र बुझाइको संकलन हो। उनी भन्छन्, ‘जब हाम्रो जरा यहीँको माटोमा छ र नेपालले नै हामीलाई पहिलो अवसर प्रदान गर्‍यो भने हामीले किन बाहिर जाने सोच्ने ?’ नेपाललाई तीन करोड जनसंख्या भएको, जलविद्युत्मा आत्मनिर्भर हुँदै गरेको र विश्वका दुई ठूला अर्थतन्त्रको बीचमा रहेको एक रणनीतिक अवसरका रूपमा उनी देख्छन्। 

उनका अनुसार नेपाल अहिले दक्षिण एसियाकै सबैभन्दा सुनौलो आर्थिक विकासको मार्गमा अघि बढेको छ। केही क्षणको आनन्दका लागि विदेश जानुभन्दा यहीँ बसेर सही अवसरको पहिचान गर्नुपर्ने उनको धारणा छ। हरेक पटक बजारमा देखिने रिक्तता, युवाहरूको पलायन र नीतिगत अड्चनहरूले उनलाई हतोत्साहित बनाउनुको साटो झन् बढी प्रतिबद्ध र जिम्मेवार बनायो। उनी विश्वास गर्छन् कि देशलाई कस्तो बनाउने भन्ने कुरा अन्ततः यहीँ बसेर निर्माणमा जुट्नेहरूको हातमा हुन्छ।

नेतृत्वको यात्रामा उनले थुप्रै चुनौतीहरूको सामना गरे, जसमा पारिवारिक विरासतका कारण समाजले राख्ने उच्च अपेक्षाको भार सबैभन्दा ठूलो थियो। अरूले सोचेजस्तो सबै कुरा सजिलै प्राप्त भएको थिएन; आफूले हासिल गरेको सफलता आफ्नै मिहिनेतले हो भनेर प्रमाणित गर्न उनले दोब्बर मिहिनेत गर्नुपर्‍यो। नाडाको पहिलो निर्वाचनमा मात्र ३४ मतले पराजित हुँदाको क्षणलाई उनले जीवनको सबैभन्दा ठूलो पाठका रूपमा लिए।

उनी भन्छन्, ‘बाघ कहिल्यै भुईंमा लडिरहँदैन।’ हारबाट नभागेका उनले पछि अध्यक्ष चुनिएर अटोमोबाइल्स क्षेत्रको नीतिगत सुधार र नेपालमा विद्युतीय सवारी (ईभी) तर्फको रूपान्तरणमा बुलन्द आवाज उठाए। उनले सरकारी नीतिहरूलाई स्थिर र उद्योगमैत्री बनाउन सधैं पैरवी गरे, जसका कारण उनलाई नेपालको सबैभन्दा गतिशील युवा व्यावसायिक नेताका रूपमा हेरिन्छ।

विदेश जान चाहने युवाहरूलाई उनको सल्लाह स्पष्ट र मार्मिक छ, ‘तपाईं किन जाँदै हुनुहुन्छ र के छोडेर जाँदै हुनुहुन्छ, त्यसमा प्रस्ट हुनुहोस्।’ नेपालमा अवसर नै छैन भन्ने भाष्यलाई उनी ठाडै अस्वीकार गर्छन्। विकसित देशहरू पहिल्यै बनिसकेका छन्, तर नेपाल बन्दै गरेको देश हो। बन्दै गरेको कुरामा आफ्नो पसिना बगाउनु र त्यसको हिस्सा हुनुको गौरव छुट्टै हुन्छ। उनी युवाहरूलाई सीधै उद्यमी बन्नुभन्दा पहिले अरूको पुँजीमा काम गरेर अनुभव बटुल्न, बजारको चाप बुझ्न र व्यावसायिक अनुशासन सिक्न सुझाव दिन्छन्।

आगामी पाँच वर्षमा सीजी होल्डिंग्सलाई अझ परिष्कृत र प्रविधिमैत्री बनाउने उनको दृढ लक्ष्य छ। अटोमोबाइल्समा ‘इभिटारा’जस्ता विद्युतीय सवारीको प्रवद्र्धन, जलविद्युत्सँगै लुब्रिकेन्ट क्षेत्रको विस्तार र हस्पिटालिटी क्षेत्रमार्फत पर्यटनमा योगदान पुर्‍याउने उनको योजना छ। करण चौधरीका लागि व्यवसाय केवल नाफा कमाउने माध्यम होइन, बरु यो त गुणस्तरीय रोजगारी सिर्जना गर्ने, इमानदारीपूर्वक राज्यलाई कर तिर्ने र आफ्ना कर्मचारीहरूको भविष्य सुरक्षित गर्ने एक पवित्र मञ्च हो। उनी भन्छन्, ‘नेपालको आर्थिक रूपान्तरण कुनै एक नीतिले मात्र आउँदैन, यो त हजारौँ व्यवसायहरूले हरेक वर्ष गर्ने सही निर्णयहरूको योगफल हो।’ र, उनी सोही रूपान्तरणको एक सक्रिय सारथि बनेर नेपालको आगामी स्वर्णिम अध्यायको हिस्सा बन्न चाहन्छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.