अकुत सम्पत्तिको निष्पक्ष छानबिन

अकुत सम्पत्तिको निष्पक्ष छानबिन

सरकारले २०६२/६३ पछि राज्यको उच्च ओहोदामा बसेकाहरूको सम्पत्ति छानबिन गर्न गठन गरेको आयोगको क्षेत्राधिकार राजपत्रमा प्रकाशन भएर आएको छ । अब पूर्वन्यायाधीश राजेन्द्र भण्डारी अध्यक्षताको उक्त आयोगलाई काम गर्ने बाटो खुलेको छ । उच्च ओहोदामा बसेर अकुत कमाएका भनिएकाहरूले विदेशमा लुकाएको सम्पत्ति छ भने पनि त्यसको खोजी गर्नेछ आयोगले । अनि, सिर्फ पदाधिकारीको मात्रै नभई तिनका आफन्तसम्मको लहरो तान्ने छ ।

वास्तवमा हिजोका ती पदाधिकारीको जीवनशैली र देखिएकै सम्पत्ति अनि तिनको देखिने आम्दानीबीच आकाश जमिनको फरक छ । त्यसैले सर्वसाधारणकै नजरमा ती भ्रष्ट देखिए । १ लाख रुपैयाँ महिनामा आम्दानी गर्ने हो भने पनि सन्तान पढाउने र काठमाडौं वा ठूला सहरमा घरजग्गा जोड्न सम्भव छैन । तर, त्यति पनि पारि श्रमिक नभएका उच्चपदस्थ सरकारी अधिकारी र राजनीतिकर्मीको सम्पत्ति भने ठूलाठूला सहरमा छर्लंगै देखिएका पनि छन् । अझ लुकाएका कति होलान् भन्ने कौतहूल जनमानसमा छ । त्यसैले नै वालेन्द्र शाह नेतृत्व सरकारले शक्तिशाली आयोग गठन गरेको छ । 

कसको आम्दानी कति हो र खर्च कति हुन्छ भन्ने यकिन गर्ने राज्यको कुनै प्रणाली बसेन । त्यसैले स्रोत नभएको सम्पत्ति थुपार्ने होड चल्यो । त्यसले नै भ्रष्टाचार निम्त्यायो । सम्पत्तिको स्रोत खुलाउने कानुन नभएको पनि होइन तर शक्तिशालीहरूले कानुनका छिद्रबाट पसेर सबै आम्दानी वैध बनाउने वा राज्यका कानुनलाई नटेर्ने पनि गरे । तसर्थ, जनतामा ठूलाबडाबाट भ्रष्टाचार भएको धारणा बन्यो । त्यसलाई निराकरण गर्ने र साँच्चै भ्रष्टाचार भएको र स्रोत नखुल्ने सम्पत्ति फेला पर्दा कारबाही गर्ने हेतु सरकारले गठन गरेको आयोगले राखेको छ । उच्चपदस्थ सबै भ्रष्ट वा अकुल सम्पत्तिका मालिक पनि छैनन् । सरकारले गठन गरेको आयोगले छानबिन गरी दूधको दूध पानीको पानी बनाउँदा असल र निष्ठावान् तथा इमानदारहरूका लागि पनि हितकर हुन्छ । सबैलाई एउटै डालोमा राखेर हेर्ने प्रवृत्तिबाट मुक्त हुन्छन् । 

यस्तै, प्रकृतिको आयोग २०५९ सालमा भैरव लम्सालको अध्यक्षतामा गठन भएको थियो । त्यसको प्रतिवेदनकै आधारमा अख्तियार वा अरू निकायले भ्रष्टाचारको मुद्दा लगाएनन् । ६२/६३ सालको जनआन्दोलन दमनमाथि छानबिन गर्न गठन भएको कृष्णजंग रायमाझी नेतृत्व आयोगको सिफारिस पनि कार्यान्वयन हुन सकेन । त्यस्ता आयोगविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले आयोगकै छानबिन प्रमाण बन्न नसक्ने र सिफारिसका आधारमा कारबाही गर्न नमिल्नै नजिर बसालिदिएको छ । अझ जनआन्दोलन दबाउनेहरू संविधानसभा सदस्यको उम्मेदवार बन्न नपाउने सिफारिस र कानुन पनि सर्वाेच्चले खारेज गरेको सन्दर्भमा भण्डारी आयोगको खोजबिन र सिफारिस कसरी कार्यान्वयन होला भन्ने प्रश्नको उत्तर भविष्यकै गर्भमा छ । यो आयोगको छानबिन प्रक्रिया पूर्णरूपमा निष्पक्ष र पारदर्शी हुनुपर्छ । आयोगले संकलन गर्ने प्रमाण र तथ्यहरू अकाट्य भइदिए भने मुद्दा लैजाँदा पनि बलियो हुन्छ र दोषी उम्कन पाउँदैन । 

वास्तवमा सबै नागरिकको आम्दानी र खर्च राज्यबाट अडिट हुने र करको दायरामा पनि पर्ने संयन्त्र र प्रणाली बसाइनुपर्छ । त्यसो हुँदा उच्चपदस्थ पनि त्यसैमा पर्छन् र बेलाबेला यस्ता आयोग गठन गर्नुपर्ने दरकार पर्दैन । राज्यकै निकायबाट नियमित रूपमा अडिट र छानबिन भइरहने प्रणाली पनि चाहिन्छ । त्यो नै भ्रष्टाचार नियन्त्रणको दीर्घकालीन उपायसमेत हो ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.