बढ्दो तापक्रममा स्वास्थ्य जोखिम

temperature

बढ्दो तापक्रममा स्वास्थ्य जोखिम
फाइल तस्बिर।

स्वास्थ्य सुरक्षाका उपाय अपनाएर मात्र बढ्दो गर्मीको जोखिम न्यूनीकरण गर्न सकिन्छ। तसर्थ, वर्तमान प्रतिकूल मौसममा हामी सबैले आफ्नो आहारविहारमा सुधार गर्दै उच्च सतर्कता र सावधानी अपनाऔं।

नेपालमा पछिल्लो केही समययता बढ्दो गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित बन्दै गएको छ। विशेषगरी मधेस प्रदेश र पश्चिम तराईका जिल्लाहरूमा थर्मोमिटरको पारो एकाएक उकालो लाग्दा नागरिकको दैनिक क्रियाकलाप कष्टकर बनेको छ।

तातो हावा (लु) र उच्च तापक्रमका कारण सर्वसाधारणको हिँड्डुल, बजारको चहलपहल र दैनिक ज्याला–मजदुरी गरेर खाने वर्गको रोजीरोटीमा प्रत्यक्ष असर परेको छ। बढ्दो गर्मीलाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी र समाजका अगुवाहरूले बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म घरबाहिर ननिस्कन र विशेष सावधानी अपनाउन सामाजिक सञ्जालमार्फत सचेत गराइरहेका छन्।

जलवायु परिवर्तन र बढ्दो तापक्रमको प्रवृत्ति  :  विश्व स्वास्थ्य संगठनले नेपालमा तातो हावाको लहर र यसले निम्त्याउने स्वास्थ्य जोखिमबारे गरेको एक अध्ययनले चिन्ताजनक निष्कर्ष निकालेको छ। जलवायु परिवर्तन, तीव्र सहरीकरण र बढ्दो वायु प्रदूषणका कारण नेपालमा तापक्रम बढ्ने क्रम निरन्तर छ। यसले मानव स्वास्थ्यमा मात्र नभई कृषि र पारिस्थितिक प्रणालीमा समेत नकारात्मक असर पारिरहेको छ। देशभरका ३३ वटा मौसम मापन केन्द्रबाट सन् १९८७ देखि २०१६ सम्मको तथ्यांक विश्लेषण गर्दा नेपालमा गर्मी दिनहरूको संख्या बढ्दै गएको पाइएको छ। 

विशेषगरी देशको दक्षिणी भू–भागमा गर्मी रातहरू बढ्ने र मनसुनपूर्व तथा मनसुनको अवधिमा वर्षा हुने ढाँचामा परिवर्तन आएको छ। बढ्दो तापक्रमसँग जुध्न जनचेतना अभिवृद्धि, स्वास्थ्य सुरक्षा उपायको विस्तार र स्थानीय तहमा अनुकूलन रणनीति सुदृढ गर्नुपर्ने आवश्यकता आजको प्रमुख चुनौती बनेको छ।

तापक्रम र मानव शरीरको सम्बन्ध  :  गर्मी बढेसँगै अस्पतालहरूमा बिरामीको चाप पनि उल्लेख्य रूपमा बढेको छ। शरीरको आन्तरिक तापक्रम नियन्त्रण गर्ने मस्तिष्कको एक भाग हुन्छ, जसलाई ‘हाइपोथालामस’ भनिन्छ। वृद्धवृद्धा, बालबालिका र दीर्घ रोगीहरूमा यो प्रणालीले प्रभावकारी रूपमा काम गर्न नसक्दा बाह्य तापक्रमको सानो वृद्धिले पनि गम्भीर असर पार्न सक्छ। विशेषगरी, मुटुको समस्या, मानसिक रोग र उच्च रक्तचापका बिरामीहरू गर्मीमा उच्च जोखिममा हुन्छन्।

जब शरीरभित्रको तापक्रम बढ्छ, हाम्रो स्नायु प्रणालीले छालामा रक्तसञ्चार बढाउन र पसिना निकाल्न निर्देशन दिन्छ। पसिना वाष्पीकरण हुँदा शरीर शीतल हुन्छ। तर, यदि बाहिरको तापक्रम शरीरको भन्दा धेरै बढी छ र आद्र्रता उच्च छ भने शरीरले पसिनामार्फत तापक्रम फाल्न सक्दैन। यस्तो अवस्थामा शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा माथि पुग्छ, जसलाई चिकित्सा विज्ञानमा ’हिट स्ट्रोक’ (लु लाग्नु) भनिन्छ।

हिट स्ट्रोक, एक प्राणघातक अवस्था  :  हिट स्ट्रोक हुँदा शरीरका महत्वपूर्ण इन्जाइमहरूले काम गर्न छाड्छन्। रगतमा विषाक्त तत्वहरू जम्मा हुन थाल्छन् र शरीरका अंगहरू बिस्तारै निष्क्रिय हुन थाल्छन्।

वैज्ञानिक अध्ययन अनुसार हिट स्ट्रोक भएका बिरामीमध्ये करिब २१.६३ प्रतिशतको मृत्यु हुने गरेको पाइएको छ। यसका मुख्य लक्षणहरूमा उच्च ज्वरो आउनु, पसिना नआउनु, श्वासप्रश्वास र मुटुको धड्कन तीव्र हुनु, टाउको दुख्नु, रिंगटा लाग्नु र अन्तत :  बेहोस हुनुहुन्। यस्तो अवस्थामा बिरामीको तत्काल उपचार नभए मृत्युसमेत हुन सक्छ। मांसपेशीहरू कडा हुनु, कलेजोमा असर परी रक्त ग्लुकोज कम हुनु र फोक्सोमा तरल पदार्थ जम्नु हिट स्ट्रोकका जटिल लक्षणहरू हुन्।

गर्मीमा निम्तिने अन्य स्वास्थ्य समस्या  :  गर्मी बढ्दा केवल हिट स्ट्रोक मात्र होइन, अन्य संक्रामक र सरुवा रोगहरूको जोखिम पनि उत्तिकै रहन्छ। ती समस्यालाई निम्न बुँदामा बुझ्न सकिन्छ  : –
जलवियोजन र पाचन प्रणाली  :  धेरै पसिना आउँदा शरीरमा पानीको मात्रा कम भई डिहाइड्रेसन (जलवियोजन) हुन्छ। यसले मिर्गाैलामा समेत समस्या निम्त्याउन सक्छ। साथै, गर्मीमा खाना छिटो बिग्रने भएकाले हैजा, टाइफाइड, झाडापखाला र खाद्य विषाक्तता जस्ता समस्या देखिन्छन्।
कीटजन्य रोगहरू  :  गर्मी र वर्षाको मौसम लामखुट्टे तथा अन्य किराहरूको प्रजननका लागि अनुकूल मानिन्छ। यसले गर्दा डेंगु, औलो (मलेरिया), कालाज्वर, हात्तीपाइले र इन्सेफलाइटिस जस्ता रोगहरूको प्रकोप बढ्छ।
छालासम्बन्धी समस्या  :  चर्को घामका कारण सनबर्न (क्गलदगचल), घमौरा, एलर्जी र फंगल इन्फेक्सन हुने सम्भावना रहन्छ। व्यक्तिगत सरसफाइको कमीले छालामा विभिन्न प्रकारका दाबरहरू र चिलाउने समस्या देखिन्छन्।

आँखाको समस्या  :  धुलो र कडा घामले गर्दा आँखा सुक्खा हुने, चिलाउने र कन्जक्टिभाइटिस (आँखा पाक्ने रोग) को जोखिम बढ्छ।
बच्ने उपाय र प्राथमिक उपचार  :  गर्मीबाट बच्न र स्वस्थ रहनका लागि खानपान र जीवनशैलीमा ध्यान दिनु अनिवार्य छ। यदि कसैलाई हिट स्ट्रोकको लक्षण देखिएमा तत्काल निम्न प्राथमिक उपचार गर्नुपर्छ  : –
१.    बिरामीलाई तुरुन्त शीतल वा छाया भएको ठाउँमा लैजाने।
२.    शरीरको कपडा खुकुलो बनाइदिने र चिसो पानीले शरीर पुछिदिने।
३.    काखी, घाँटी र काछ जस्ता ठूला धमनी भएका ठाउँमा बरफको थैली राख्ने, जसले गर्दा रगत चाँडै चिसो हुन्छ।
४.    होसमा भए प्रशस्त पानी वा जीवनजल दिने तर बेहोस भएमा केही पनि नखुवाइ तुरुन्त अस्पताल पुर्‍याउने।
दैनिक जीवनमा अपनाउनुपर्ने सावधानीहरू
—    दिउँसोको चर्को घाममा सकेसम्म बाहिर ननिस्कने।
—    निस्कनै परे छाता, चस्मा, टोपी र सनस्क्रिनको प्रयोग गर्ने।
—    सुतीको हल्का र खुकुलो कपडा लगाउने।
—    प्रशस्त मात्रामा पानी, झोलिलो पदार्थ, ताजा फलफूलको रस, कागती पानी र नरिवलको पानी पिउने।
—    रक्सी, क्याफिन (चिया, कफी) र धेरै गुलियो पेय पदार्थको सेवन नगर्ने, किनकि यसले शरीरबाट पानी थप 
बाहिर निकाल्छ।
—    बासी र सडेगलेको खानेकुरा नखाने, शाकाहारी र सुपाच्य भोजनमा जोड दिने।

निष्कर्ष  :  रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हो। गर्मीका कारण हुने स्वास्थ्य क्षतिले व्यक्तिको स्वास्थ्यमा मात्र नभई आर्थिक र सामाजिक जीवनमा पनि ठूलो धक्का पुर्‍याउँछ। स्वस्थ रहनु भनेको केवल रोग नलाग्नु मात्र होइन, बरु उत्पादनशील बन्नु र परिवार तथा राष्ट्रका लागि योगदान दिन सक्ने हुनु पनि हो। त्यसैले, बदलिँदो मौसम र बढ्दो तापक्रमलाई बेवास्ता नगरी स्वास्थ्य सतर्कता अपनाउनु नै आजको बुद्धिमानी हुनेछ। व्यक्तिगत सरसफाइ, उचित खानपान र सचेतना अपनाएर हामी गर्मीको जोखिमबाट सुरक्षित रहन सक्छौं।

नेपालमा जलवायु परिवर्तनले गर्दा गर्मी र तातो हावाको लहर (लू) बढ्दो क्रममा छ। यसले विशेषगरी तराईको जनजीवन कष्टकर बनाएको छ। बढ्दो तापक्रमले हिट स्ट्रोक जस्ता ज्यान नै जाने गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ। हैजा, डेंगु, टाइफाइड र छालाजन्य रोगहरूको जोखिम पनि उत्तिकै रहन्छ। शरीरलाई हाइड्रेटेड राख्न प्रशस्त पानी, कागती पानी र ताजा फलफूलको रस पिउनुपर्छ। मदिरा, क्याफिन र बढी गुलियो पेय पदार्थले शरीरमा पानीको कमी गराउँछन्।

बासी र सडेगलेको खाना नखाई ताजा र सुपाच्य भोजनमा जोड दिनुपर्छ। कसैलाई हिट स्ट्रोक भएमा तुरुन्त शीतल ठाउँमा लैजाने र प्राथमिक उपचार गर्नुपर्छ। जलवायु अनुकूलन रणनीति र जनचेतना नै यो चुनौती सामना गर्ने मुख्य हतियार र आवश्यकता हुन्। स्वास्थ्य सुरक्षाका उपाय अपनाएर मात्र बढ्दो गर्मीको जोखिम न्यूनीकरण गर्न सकिन्छ। तसर्थ, वर्तमान प्रतिकूल मौसममा हामी सबैले आफ्नो आहारविहारमा सुधार गर्दै उच्च सतर्कता र 
सावधानी अपनाऔं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.