विश्वमै दुर्लभ पुरानो न्यारोगेज रेलको कोइला इन्जिनको अवमूल्यन

विश्वमै दुर्लभ पुरानो न्यारोगेज रेलको कोइला इन्जिनको अवमूल्यन
फाइल तस्बिर।

जनकपुरधाम : भंगहा–जनकपुरधाम–जयनगर रेल्वे नियमित चलेको ४ वर्ष हुन लाग्यो। नेपाल–भारत सहयोगमा नेपाल सरकारले आफ्नै दुईवटा रेल किनेर जनकपुर–जयनगर रेलसेवालाई निरन्तरता दिइरहेको छ। जसले नेपालमा एकमात्र रेल्वे सेवा जनकपुर–जयनगर रेल भनेर देशको गौरव बढाएको छ। तर, नेपालमा सञ्चालनको पुरानो इतिहास बोकेको न्यारोगेज रेलका कोइला इन्जिनलाई वर्षौंदेखि अवमूल्यन गर्दा खिया लागेर कबाडीका रूपमा परिवर्तन हुँदैछ।

पछिल्लो समय नेपालको एक मात्र जनकपुरधाम–जयनगर ब्रोडगेज रेल्वे सेवा बन्द भएको ११ वर्षे अवधिमा पुरानो बहुमूल्य इन्जिन, बोगी र अन्य उपकरणको बेवास्ता गरिँदा जीर्ण हुँदै कबाडी बन्दैछ। विश्वमै दुर्लभ मानिएको न्यारोगेज रेलका इन्जिनहरू नेपालमा मात्र बाँकी रहे पनि यस्ता बहुमूल्य सामग्रीको अवमूल्य हुँदै कतिपय सामग्री चोरीसमेत भएका छन्।

जनकपुरधाम–जयनगर रेल्वे ट्रयाक खण्डको जनकनन्दिनी गाउँपालिका–४ स्थित खजुरी खुला स्टेसनमा थन्काइएको ब्रह्ममा, विष्णु, रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीर र सीता, चन्द्र, गृहेश्वरी नामक इन्जिन संरक्षण अभावमा कुहिरहेका छन्। नेपाल रेल्वेको स्टेसन कारखानामा थन्क्याइएका दुर्लभ न्यारोगेज इन्जिनहरूलाई सांस्कृति संग्राहलय बनाएर विश्वको ध्यान केन्द्रित गर्नुपर्नेमा बेवास्ता गरिएको जनकनन्दिनी गाउँपालिकाका पालिका अध्यक्ष विपिनदेव यादवको यादवको आरोप छ।

‘म आउनुअघिको अध्यक्ष अब्दुल वारिस शेषको पालामा नै न्यारोगेज रेलको इन्जिन म्युजियम बनाउन चिठी लेखेरै संघीय सरकारसँग माग गर्‍यो तर अहिले ९ वर्ष बित्दासमेत चिठीको जवाफ आएन। संघीय सरकारको भौतिक पूर्वाधार संरचनामा हामीले स्वीकृतिबिना हस्तक्षेप पनि गर्न मिलेन, त्यसैले हाम्रो म्युजियम बनाउने र इन्जिन संरक्षणको काम हुन सकेन’ उनले भने, ‘सीमित स्रोतसाधन भएको हाम्रो पालिकामा संग्राहलय बनाउनका निम्ति संघीय र प्रदेश सरकारले समेत चासो दिएन। समन्वयसमेत गरेन। हामीसँग त्यत्रो बजेट छैन।’

nullजनकपुर–जयनगर रेल सेवा बन्दपछि नेपाल रेल्वेको विघटन भएसँगै रेल सम्पत्तिको संरक्षण नुहँदा कतिपय पार्टपुर्जासमेत बिक्री भएको जनकनन्दिनी गाउँपालिकाका स्थानीय धनिकलाल दास बताउँछन्। संसारमै कतै नभएका इन्जिन नेपालसँग हुनु गौरवको विषय हो। ‘हाम्रो जस्तो रेलमा पुरानो इतिहास बोकेको कुनै देश छैन तर हामीले यसको महत्त्व बुझ्न सकेको छैन, न्यारोगेज अरू देशमा छैन, त्यहाँ कति महत्व छ तर हाम्रो देशमा छ, यहाँ महत्त्व छैन। यसलाई अन्य ठाउँमा भए हीराझैं सजाएर राख्थे, हाम्रो देशमा न्यारोगेज रेल्वेको कोइला इन्जिन छोप्ने छत पनि छैन,’ उनले भने।

नेपालमा रेल सेवाको इतिहास सन् १९२७ देखि सुरुवात भएको थियो। नेपाल सरकार रेलवे (एनजीआर) मातहतमा पहिलो रेल रेल ७६२ एमएम न्यारोगेज हो। तत्कालीन बेलायती सरकारले भारतको रक्सोल–अमलेखगन्ज ३९ किलोमिटर रेलमार्ग निर्माण गरेको थियो। र दोस्रो चरणमा अहिलेको जयनगर–जनकपुर रेल हो।

सन् १९३७ मा सञ्चालित भारतको जयनगरदेखि महोत्तरीको विजलपुरासम्म तत्कालीन बेलायत सरकारले नेपालबाट जडीबुटी, काठ तथा खनिज पदार्थ लैजानका लागि रेल सञ्चालन गरेको थियो। उक्त रेल पनि न्यारोगेजकै थियो। सोही कोइला रेलका इन्जिनहरूको हाल अवमूल्यन हुँदै कबाडीजस्तो फैलाएर राखिएको संस्कृतिविद् डा. राभरोष कापडी ‘भम्रर’ को भनाइ छ। नेपाल सरकारले नयाँ रेल ल्याएको छ, यहाँको मानिसहरूका लागि गौरवको विषय हो। त्यसका लागि हामीले स्वागत पनि गर्‍यौं र बधाई पनि दियौं। तर, पुरानो बहुमूल्य वस्तुको अवमूल्यन संस्कृतिमाथिको प्रहार हो। कापडीले भने, ‘विश्वको अनौठो कल्पनाका चिजहरू हेर्न हामी भौंतारिन्छौं। तर, हामीकहाँ भएको रेलका इन्जिनदेखि पार्टपुर्जा र कारखानाको सामग्रीलाई समेत संरक्षण गर्न सकिरहेका छैनौं, विश्वका पर्यटक भिœयाउने ठूलो माध्यम हुने रेलको इन्जिनिनलाई अवमूल्यन गरेर सांस्कृतिक धरोहार मेटाउँदैछौं।’

जनकपुरधाम–विजलपुरा २२ किलोमिटरको रेल्वे ट्रयाक र दुई पुल बाढीले बगाएपछि सन् २००१ बाट रेल सञ्चालन ठप्प भएको थियो। यसको लम्बाइ र रेल लिंकको स्तरोन्नति गरेर ब्रोडगेजमा विस्तार गर्ने नीतिअनुसार रेलमार्गलाई जयनगर–जनकपुर–भंगहा विस्तार भइसकेको छ भने जयनगर–बर्दिबाससम्म ६९ किमिमा विस्तार भइरहेको छ।

जयनगर, जनकपुर–भंगहासम्म भने रेल सञ्चालन भइरहेको छ भने भारत सरकारको सहयोगमा निर्माण गरिरहेको ६९ किमि रेलमार्गमध्ये तीन किमि भारतीय भूमिमा पर्छ। यातायातका साधनमा सबैभन्दा सस्तो पानी जहाजलाई मानिन्छ भने पानीजहाजपछि रेल यायायात, त्यसपछि सडक यातायात तथा हवाई यातायात पर्छन्।

९ दशक पुरानो छुकछुक ....रेल
जनकपुरमा नौ दशकअघि छुकछुके रेल सेवा सञ्चालन भइसकेको थियो। तत्कालीन समयमा भारतमा सखुवा काठलगायत सामग्री ढुवानी गर्न सञ्चालन गरिएको रेलपछि यात्रु ओसार्न प्रयोग गरियो। कोइलाबाट चल्ने रेललाई समयानुकूल डिजेल इन्जिनमा रूपान्तरण गरियो तर न्यारोगेजमै। सो सेवा पनि करिब ११ वर्षअघि बन्द भयो। विगत चार वर्षयता भने जनकपुरमा ब्रोडगेजमा रेल सेवा सञ्चालन भइरहेको छ।

नेपालमा छुकछुके.... रेल इतिहासमा सीमित हुँदा भारतको दार्जिलिंगमा भने अहिले पनि सो रेल चलिरहेकै छ। त्यहाँ यात्रु ओसार्न वा मालवाहकका रूपमा प्रयोग नभए पनि पर्यटकलाई लोभ्याउने उद्देश्यले रेल सञ्चालनमा रहेको भन्ने गरिएको छ। धनुषाको खजुरीमा थन्क्याइएर राखिएको ९० वर्ष पुरानो रेललाई भने किन नचलाइएको होला भनी धेरैले प्रश्न गर्ने गर्छन्। कोइलाबाट सञ्चालन हुने त्यसबेलाको रेलका इन्जिन र बोगी थन्क्याएर खिया लागेको देख्दा त धेरैको मन खिन्न हुन्छ।

नेपालको एकमात्र रेल सेवा दोस्रो चरणमा न्यारोगेजबाट ब्रोडगेजमा परिणत भई सुचारु भइरहेको छ। तर, तत्कालीन समयमा जयनगर–जनकपुरधाम–बिजलपुरासम्म कोइलाबाट चल्ने निकै दुर्लभ मानिएको बहुमूल्य स्टिम इन्जिनहरू भने अलपत्र छन्। ‘विश्वका अन्य देशमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यस्ता ऐतिहासिक वस्तुलाई जोगाउन सरकार अग्रसर भइरहेका हुन्छन्। दार्जिलिंगको त्यो कोइला रेल पनि यसकै उदाहरण हो। त्यहाँ अहिले पनि कोइलाबाट चल्ने ‘इन्जिन टोइट्रेन’ नामक रेलसेवा सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकबाट राम्रै आम्दानी गरिरहेको बुझ्न सकिन्छ’, स्थानीय रामकिशोर महतोले भने, ‘नेपालमा भने लामो इतिहास बोकेका कोइलाबाट चल्ने इन्जिन संरक्षणको अभावमा जीर्ण हुँदै गएको छ। इन्जिन बिग्रिने र बहुमूल्य पार्टपुर्जाहरू चोरी पनि भइरहेको छ। यसको संरक्षण र संवर्धन गर्न न स्थानीय तह न त प्रदेश र संघीय सरकारको चासो देखिन्छ। यो दुःखद हो।’ रेलको कारखाना क्षेत्रभरि घेराबेरा गर्न तत्कालीन रेल्वेका महाप्रबन्धक निरञ्जन झाले केही निर्माण कार्यको थालनी गरेपनि त्यो अधुरै छ।

सरोकार भएकाहरूको बेवास्ताका कारण खजुरीमा रहेको रेलको मुख्य कारखाना खण्डहरमा र इन्जिन खिया लागेर माटोमा बिलिन भइरहेको बेला प्रतिनिधिसभा सदस्य रामविनोद यादवले रेल्वेको पुराना इन्जिन एउटा इतिहास भएकोले संरक्षण र संवर्धनमा संघीय सरकारको ध्यानाकर्षण गराउने बताए। उनले भने, ‘रेलका पुराना इन्जिनलाई संग्रहालय बनाएर राखियो भने यो ठाउँ पर्यटकका लागि आकर्षणको केन्द्र बन्छ। साथै यी बहुमूल्य वस्तुको संरक्षण पनि हुने थियो।’ सिलिन्डरको कोइलाबाट चल्ने रेलका इन्जिन नेपालमा मात्र उपलब्ध रहेकाले पनि दुलर्भ चिजलाई संरक्षण गर्नुपर्ने मत छ। ‘नेपालको छुकछुके रेलका इन्जिन नेपालका इतिहास हुन्। यसलाई जागाउनु मेरो पहलकदमी हुन्छ,’ उनले भने। यसलाई संग्रहालय बनाएर राख्न र संरक्षण गर्न अब स्थानीय, प्रदेश र संघ सरकार गम्भीर बन्नुपर्छ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खजुरीस्थित कारखानाको निरीक्षण गरी चालु आर्थिक वर्षमै संग्रहालय बनाउन पहल गर्ने घोषणा गरे पनि हालसम्म त्यससम्बन्धी कुनै काम अगाडि बढ्न नसकेको स्थानीय पत्रकार अवधेश कामतको भनाइ छ। जनकपुरधाम खजुरी पर्यटनको रेल्वे करिडोर बन्न सक्ने सम्भावना रहेको कामतले बताए।

रेल्वे स्रोतले भन्यो, ‘हामीले रेल सञ्चालनको काम मात्रै गर्छौं, निर्माण कार्य रेल विभागले हेर्ने हो। यद्यपि, हामीले खजुरीमा रेल संग्राहालय बनाउन प्रत्येक आर्थिक वर्षमा लिखित रूपमै आग्रह गरिरहेका छौं तर अर्थ मन्त्रालयबाट बजेट प्राप्त नभएपछि पुराना रेलका इन्जिनमा खिया लाग्दैछ।’ यहाँ रहेको रेल्वेको १० बिघाभन्दा बढी जग्गा सदुपयोग र रेल्वेको संरक्षण गरी पर्यटन प्रवर्धन पनि गर्न सकिने छ।

रेल्वेको पुराना इन्जिन एउटा इतिहास भएकाले संरक्षण र संवर्धनमा संघीय सरकारको ध्यानाकर्षण गराउँछु। रेलका पुराना इन्जिनलाई संग्राहलय बनाएर राखियो भने यो ठाउँ पर्यटकका लागि आकर्षणको केन्द्र बन्छ। साथै यी बहुमूल्य वस्तुको संरक्षण पनि हुन्छ। कोइलाबाट चल्ने रेलका इन्जिन नेपालमा मात्र उपलब्ध रहेकाले पनि दुलर्भ चिजलाई संरक्षण गर्नुपर्ने हुन्छ। छुक्छुके रेलका इन्जिन नेपालका इतिहास हुन्। यसलाई जोगाउन मेरो पहल हुन्छ। 
रामविनोद यादव - प्रतिनिधिसभा सदस्य, धनुषा क्षेत्र नं. २

नेपाल सरकारले नयाँ ल्याएको रेलको पनि ४ वर्ष हुन लाग्यो। यो जनकपुरधाम र नेपालकै लागि गौरवको विषय हो। पुरानो बहुमूल्य वस्तुको अवमूल्यन संस्कृतिमाथिको प्रहार हो। विश्वको अनौठो कल्पनाका चिजहरू हेर्न हामी भौंतारिन्छौं। तर, हामीकहाँ भएको रेलका इन्जिनदेखि पार्टपुर्जा र कारखानाका सामग्रीलाई समेत संरक्षण गर्न सकिरहेका छैनौं। पर्यटक भिœयाउने ठूलो माध्यम हुने रेलको इन्जिनलाई अवमूल्यन गरेर सांस्कृतिक धरोहर मेटाउँदैछौं।
रामभरोष कापडी ‘भ्रमर’ - अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठान, जनकपुरधाम

म आउनुअघि नै न्यारोगेज रेलको इन्जिन म्युजियम बनाउन चिठी लेखेरै संघीय सरकारसँग माग गरेको थियो। तर, अहिले ९ वर्ष बित्दासमेत चिठीको जवाफ अहिलेसम्म आएन। संघीय सरकारको भौतिक पूर्वाधार संरचनामा हामीले स्वीकृतिबिना हस्तक्षेप पनि गर्न मिल्दैन। पालिकाको सीमित स्रोतसाधन भएको हाम्रो पालिकाले संग्राहलय बनाउन संघीय र प्रदेश सरकारले चासो राखेन पनि उनीहरूले मतलवै गर्दैनन्। हामीसँग संग्राहलय बनाउन त्यत्रो बजेट छैन।
विपिनदेव यादव - अध्यक्ष, जनकनन्दिनी गाउँपालिका


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.