नवलपरासीमा पुँजीगत खर्च : दुई महिना बाँकी हुँदा २५ प्रतिशत मात्रै
परासी : नवलपरासी जिल्लाका स्थानीय तहहरूको पुँजीगत खर्च निराशाजनक देखिएको छ। आर्थिक वर्ष सकिन अब दुई महिना बाँकी रहँदा जिल्लामा रहेका सात पालिकाको हालसम्मको कुल खर्च ४२.९ प्रतिशत रहेको छ। यसमा पुँजीगत खर्च जम्मा २५.२३ प्रतिशत भएको छ।
चालु खर्च भने ५५.८७ प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक कमल सापकोटाले जानकारी दिए। सबैभन्दा बढी पुँजीगत खर्च गर्नेमा बर्दघाट नगरपालिका रहेको छ भने सबैभन्दा कम खर्च गर्नेमा प्रतापपुर गाउँपालिका रहेको छ। पुँजीगततर्फ विकास निर्माणलगायत पर्छन् भने चालुतर्फ तलब भत्ता, सञ्चालन खर्च पर्दछन्।
जिल्लामा रहेका सात पालिकाको आर्थिक वर्ष २०८२/०८३ को कुल बजेट ५ अर्ब ८२ करोड ८९ लाख रुपैयाँ रहेको छ। जसमा कुल खर्च २ अर्ब ५० करोड ७ लाख रहेको पुँजीगततर्फ अर्ब ४६ करोड ८७ लाख बजेट रहेकामा हालसम्म ६२ करोड ३० लाख २७ हजार रुपैयाँ खर्च भएको छ। चालुतर्फ ३ अर्ब ३६ करोड १ लाख बजेट रहेकोमा १ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल कमल महतले बताए।
कुन पालिकाको कति खर्च ?
रामग्राम : यो रामग्राम नगरपालिकाको कुल बजेट १ अर्ब ३४ करोड ४६ लाख २७ हजार रुपैयाँ रहेको छ। कुल बजेटमध्ये हालसम्म ५२ करोड ३५ लाख ७५ हजार रुपैयाँ (३८.९३ प्रतिशत) खर्च भएको छ।
सुनवल : यो नगरपालिकाको कुल बजेट ९९ करोड २२ लाख ६३ हजार रुपैयाँ रहेको छ। कुल बजेटमध्ये हालसम्म ४६ करोड ६० लाख २८ हजार रुपैयाँ (४६.९६ प्रतिशत) खर्च भएको छ।
बर्दघाट : यो नगरपालिकाको कुल बजेट ९६ करोड ५० लाख रुपैयाँ रहेको छ। कुल बजेटमध्ये ४८ करोड ६९ लाख १६ हजार रुपैयाँ (५०.४५ प्रतिशत) खर्च भएको छ।
पाल्हीनन्दन : यो गाउँपालिकाको कुल बजेट ६० करोड ९९ लाख ६७ हजार रुपैयाँ रहेको छ। कुल बजेटमा २८ करोड ९ लाख ५१ हजार रुपैयाँ (४६.०६ प्रतिशत) खर्च भएको छ।
सरावल : यो गाउँपालिकाको कुल बजेट ५३ करोड ७९ लाख ६४ हजार रुपैयाँ रहेको छ। कुल बजेटमा २४ करोड ९० लाख ९७ हजार रुपैयाँ (४६.०३ प्रतिशत) खर्च भएको छ।
प्रतापपुर : यो गाउँपालिकाको कुल बजेट ७६ करोड ४५ लाख ९३ हजार रुपैयाँ रहेको छ। कुल बजेटमा २६ करोड ३५ लाख ४० हजार रुपैयाँ (३४.४६ प्रतिशत) खर्च भएको छ।
सुस्ता : यो गाउँपालिकाको कुल बजेट ६१ करोड ४५ लाख ३ हजार रुपैयाँ रहेको छ। कुल बजेटमा २३ करोड ५ लाख १३ हजार रुपैयाँ (३७.५१ प्रतिशत) खर्च भएको छ।
संघ र प्रदेशतर्फको विकास खर्च ३४ प्रतिशत
नवलपरासी जिल्लामा संघ र प्रदेश मातहत रहेका कार्यालयको विकास खर्च ३४.१४ प्रतिशत रहेको छ। यसमा संघतर्फका कार्यालयको विकास खर्च ३२.८८ प्रतिशत र चालुतर्फ ७५.५३ प्रतिशत रहेको छ। प्रदेश तर्फको विकास खर्च ३७. ९९ प्रतिशत र चालुतर्फ ४७.२० प्रतिशत रहेको छ। यी दुई तहको कुल बजेट १० अर्ब २४ करोड २४ लाख ९५ हजार रुपैयाँ रहेको छ। जसमध्ये संघको कुल ८ अर्ब ८२ करोड ६१ लाख २५ हजार र प्रदेशको कुल बजेट १ अर्ब ४१ करोड ६३ लाख ६९ हजार रुपैयाँ बजेट रहेको छ। जसमा कुल खर्चको ६०.२७ प्रतिशत खर्च भएको छ।
संघको पुँजीगततर्फ २ अर्ब ५४ करोड ३६ लाख ४ हजारमा ८३ करोड ६४ लाख ४ हजार रुपैयाँ खर्च भएको छ। प्रदेशको पुँजीगततर्फ ८३ करोड ३ हजार लाख ३ हजारमा ३१ करोड ५३ लाख ६० हजार रुपैयाँ खर्च भएको छ। संघअन्तर्गतको उक्त बजेटमा बुटवल नारायणगढ सडक, नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयको पनि समावेश गरिएको छ।
प्रतिक्रिया दिनुहोस !