गोक्यो क्षेत्र र अन्तर्राष्ट्रिय ध्यानाकर्षणको प्रश्न
जलवायु परिवर्तनको समस्या निराकरणमा हाम्रो देशको भूमिका र योगदान कम होला र हाम्रा लागि यो महत्त्वपूर्ण मुद्दा हो भन्ने सरकार बिर्सनु हुँदैन।
हिमालहरू केवल हिउँका थुप्रो होइनन्। पृथ्वीमा जे जति प्राणी र वनस्पतिको अस्तित्व छ, त्यो हिमालसँग जोडिन्छ। मानिसको त झनै हुने नै भयो किनभने हिमाल नै पृथ्वीमा पानीको मुख्य स्रोत हो।
हिमालबाटै बगेर गएका नदीहरूले पहाडलाई सिञ्चन गर्छन्, तराईका फाँटहरूलाई चिसा बनाउँछन् र समुद्र पनि भर्छन्। करोडौं वर्ष पहिले नै सही हिमालबाट बगेका नदीले नै नेपालका टार र तराईको फाँट बनाएका हुन्। आज नेपालीको खानेपानी र सिँचाइको स्रोतमात्रै नभई ऊर्जाको मुख्य दाता नै हिमाली नदीहरू हुन्। तर, हिमाल अचेल हिउँ पग्लिरहेको छ। हिमनदीहरू सुक्दैछन्। सगरमाथा क्षेत्रमा पर्ने र नेपालकै सबैभन्दा लामो हिमनदी ङ्गोजुम्पासहितको अवस्था अहिले चर्चामा छ। यही हिमनदी दूधकोशी नदीको स्रोत हो। यो हिमनदी पग्लिएर दूधकोशीमा पानी आउँछ।
तर, हिउँ नै सकिने गरी पग्लिनु र नदीको तल्लो भाग ग्रेगानपूर्ण हुनु खतराको संकेत हो। अर्थात्, ङ्गोजुम्पाको विषयमा थप अनुसन्धान तत्काल गर्नुपर्नेछ।
दुई दशकमा ङ्गोजुम्पा हिमनदीमा नाटकीय परिवर्तन आएको छ। हिमनदी पग्लिएर पानीको सतहमा व्यापक फेरबदल आएको छ र जमिनमाथि दुई दर्जनभन्दा बढी नयाँ तालहरू उब्जिएका छन्। ङ्गोजुम्पाको जोखिम र खतरा कतिसम्म भने दुई वर्षअघि नजिकै थामेमा हिमपहिरो चलेको थियो। त्यो नै आफैंमा भविष्यमा ठूलो जोखिम निम्तने संकेत थियो। तर, न नेपाल सरकार न अन्तर्राष्ट्रिय संस्थाहरू यसमा संवेदनशील छन्। उनीहरू कसैको चासो त्यतापट्टि नजानु जोखिमको प्रतीक्षा गर्नु वा विपद् पर्खनु हो। विश्वव्यापी तापक्रम वृद्धिको असर नै हो हाम्रा हिमाल पग्लनु। हिमनदी विस्फोटको खतरा बढ्दै छ।
विकसित र धनी राष्ट्रहरूले गरिरहेको व्यापक कार्बन उत्सर्जनको असर नेपालका हिमालमा परेको छ। हामी कार्बन उत्सर्जन खासै गर्दैनौं तर असर हामीलाई पर्नु भनेको नखाएको विष लाग्नु हो। नेपालको ध्यान गोक्यो क्षेत्र, जहाँ ङ्गोजुम्पा हिमनदी छ, त्यहाँको पर्यटन प्रवर्धनमा सीमित हुनुहुँदैन। त्योभन्दा महत्त्वपूर्ण र प्राथमिकता दिनुपर्ने भनेको हिमनदी संरक्षणको विषय हो। हुनुपर्छ। हामीलाई नखाएको विष लागिरहेछ भने अन्तर्राष्ट्रिय मञ्चहरूमा न्याय माग्नुपर्छ। त्यसका लागि आवाज उठाउनुपर्छ।
ङ्गोजुम्पामात्रै नभई सम्पूर्ण हिमाल र हिमताल नै विश्वतापमान वृद्धिबाट प्रत्यक्ष प्रभावित छन् र नांगा डाँडामा रूपान्तरण हुने जोखिम बढेको बढ्यै छ। ङ्गोजुम्पा हिमनदीसँगै सम्पूर्ण हिमताल र हिमालको आज जुन रोदन छ, त्यसको उचित सम्बोधन भएन भने नेपालीको मात्रै होइन, मानव सभ्यतामै संकट आउन सक्छ भन्ने हामीले विश्व समुदायलाई बुझाउनुपर्छ। जलवायु परिवर्तनको समस्या निराकरणमा हाम्रो देशको भूमिका र योगदान कम होला र हाम्रा लागि यो महत्त्वपूर्ण मुद्दा हो भन्ने सरकार बिर्सनु हुँदैन।
प्रतिक्रिया दिनुहोस !