३४ वर्षमै एसिया विश्वविद्यालयको डिन
फि तिर्न नसक्दा स्कुल छोडेका डा. किशन भण्डारीको उकालो यात्रा
स्कुलमा फि तिर्न नसक्दा बीचमै पढाइ छोड्नु परेको पीडा धेरैका लागि उज्ज्वल भविष्यको अन्त्य झैं लाग्न सक्छ। तर त्यही पीडालाई ऊर्जा बनाएर प्रगतिपथमा उक्लिएका व्यक्ति हुन्, डा. किशन भण्डारी। जसले ३४ वर्षकै उमेरमा दुर्लभ उपलब्धि हासिल गरेका छन्।
उनलाई अझै सम्झना छ– बोर्डिङ स्कुलले अचानक फि तिर्न आदेश दिएको दिन। अभिभावकको कमजोर आर्थिक अवस्थाका कारण स्कुल नै छोड्नु परेको त्यो क्षणले उनको बालमस्तिष्कमा गहिरो प्रभाव पार्यो। पछि अभिभावकले उनलाई कैलाशबोधी सेकेन्डरी स्कुल काठमाडौंमा भर्ना गरे। त्यहीँ स्कुलकी प्रिन्सिपल कार्मा छोजङ उनको जीवनको दिशा बदल्ने पात्र बनिन्। ‘बाबु, म डाक्टर हुन सकिनँ। तिमीलाई डाक्टर बनाउँछु,’ उनले बालक किशनको पाखुरा समाउँदै भनेकी थिइन्। यही वाक्य उनका लागि प्रेरणामात्र थिएन जीवनकै सुखद मोड बनिदियो।
सकसपूर्ण संघर्ष
उत्कृष्ट विद्यार्थीदेखि छात्रवृत्तिसम्म
एसएलसीमा ८७ प्रतिशत अंकसहित डिस्टिङसन ल्याए। स्कुलबाट ‘बेस्ट स्टुडेन्ट’ अवार्ड पाए। त्यसपछि न्यु मिलेनियम हाइयर सेकेन्डरी स्कुलमा छात्रवृत्तिमा प्लस टु अध्ययन गरे। पढ्दै गर्दा पढाउने त उनको दिनचर्या नै बन्यो। प्लस टुमा ७४ दशमलव २० प्रतिशत ल्याएर कलेज टपर बने। उनको लक्ष्य स्पष्ट थियो– डाक्टर बन्ने।
छात्रवृत्तिको खोजीले उनलाई रुस पुर्यायो। रुसियन कल्चर सेन्टरमार्फत छात्रवृत्ति पाएर उनी पिपुल्स फ्रेन्डसिप युनिभर्सिटी अफ मस्कोमा एमबीबीएस अध्ययनका लागि भर्ना भए। तर छात्रवृत्तिले सबै समस्या समाधान गरेन। पकेट खर्चका लागि उनले राति–राति क्लबमा वेटरको काम गरे। वेटरदेखि बारमेन र अन्ततः म्यानेजरसम्मको अनुभव सँगाले। एमबीबीएस गर्दाकी नेपाली सहपाठीसँग लगनगाँठो कसे। उनकी पत्नी कीर्गिस्तानमा रेडियोलोजीमा पोस्ट ग्र्याजुएट गर्दै छिन्।
उकालो उन्नति
उनको कथा संघर्षबाट सम्भावना निर्माण गर्ने कथा हो। शिक्षाले जीवन बदल्न सक्छ भन्ने जीवित प्रमाण हो। एमबीबीएसपछि उनले कीर्गिस्तानमा न्युरो सर्जरी (एमएस) पूरा गरे। त्यसपछि जनस्वास्थ्यमा एमपीएच। अहिले उनी न्युरो सर्जरीमै पीएचडी गर्दैछन्। उनको यात्रामा संघर्ष कहिल्यै रोकिएन। तर लक्ष्य पनि कहिल्यै टुटेन।
‘पाएपछि दिने’ संस्कार
उनको कथा व्यक्तिगत सफलतामा मात्र सीमित छैन। आफूले पाएको अवसर अरूलाई पनि अवसर दिने संस्कारका अनुयायी हुन्, उनी। अहिले उनी एसिया इन्टरनेसनल युनिभर्सिटीका डिन छन्। तर उनको सबैभन्दा ठूलो उपलब्धि पद होइन— अवसर बाँड्ने संस्कार हो। आफूले छात्रवृत्तिमा पढेको सम्झना गर्दै उनले दुई नेपाली विद्यार्थीलाई निःशुल्क एमबीबीएस पढ्ने अवसर दिलाएका छन्।
अहिले कपिलवस्तुको शुद्धोदन गाउँपालिका–६ का २१ वर्षीय सचिनकुमार प्रजापति र चितवनको भरतपुर महानगरपालिका–१८ की २१ वर्षीया भावना रेग्मीलाई निःशुल्क पढिरहेका छन्। डा. भण्डारीका अनुसार, एमबीबीएस छात्रवृत्तिअन्तर्गत शैक्षिकदेखि होस्टल भोजन, भिसा, बिमा शुल्क तथा नेपालबाट उज्बेकिस्तान प्रारम्भिक यात्रा र अध्ययन सम्पन्नपछि नेपाल फर्किने हवाईजहाजको भाडा –एक पटकका लागि) एसिया युनिभर्सिटीले व्यहोर्नेछ। ‘जन्मभूमिसँगको सम्बन्ध कहिल्यै टुट्दैन,’ उनी भन्छन्, ‘जहाँ गए पनि मन त नेपाली नै हो नि ।’ उनी गैरआवासीय नेपाली संघ कीर्गिस्तानका पूर्वअध्यक्ष पनि हुन्। हाल अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य छन्।
अबको सपना
उनको नेतृत्वमा विश्वविद्यालयमा नेपाल महोत्सव र अन्तर्राष्ट्रिय सांस्कृतिक दिवस आयोजना भएका छन्। १४ देशका ३३ हजार विद्यार्थी अध्ययन गर्ने संस्थामा नेपाली उपस्थिति बढाउन उनी सक्रिय छन्। एसिया युनिभर्सिटीमा नेपालसहित १४ राष्ट्रका झन्डै ३३ हजार विद्यार्थी अध्ययनरत छन्। ७६ जना नेपाली अध्ययनरत रहेको उनले बताए। त्यस्तै आठ जना नेपाली प्राध्यापक तथा शैक्षिक कर्मचारी कार्यरत छन्। भविष्यबारे सोध्दा उनी हाँस्छन्। भन्छन्, ‘यहीँ रोकिने बानी छैन। गन्तव्य थाहा छैन। तै पनि पाँच वर्षपछि सायद भाइस चान्सलर !’
प्रतिक्रिया दिनुहोस !