कर्णालीको देउडा संरक्षणमा विपना सिंह

युवा शक्ति

कर्णालीको देउडा संरक्षणमा विपना सिंह

कर्णालीको यो अमूल्य सभ्यतालाई जीवन्त राख्ने अभियानमा विपनाको सक्रियता र लगावले यतिबेला धेरैको मन जितेको छ।

कर्णालीको माटोमा गुञ्जिने मौलिक देउडा गीत पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ। देउडा लोक संस्कृतिमा आधारित गीतमात्र नभई कर्णालीको मौलिक लोकसंस्कृतिको एउटा अभिन्न पहिचान पनि हो।

तर, बढ्दो आधुनिकता र पश्चिमी सभ्यताको प्रभावका कारण यसको मौलिकता संकटमा परिरहेका बेला कालीकोटकी युवा गायिका विपना सिंह यसको संरक्षणमा एक सशक्त पात्रका रूपमा उदाएकी छिन्।

null

कर्णालीको यो अमूल्य सभ्यतालाई जीवन्त राख्ने अभियानमा विपनाको सक्रियता र लगावले यतिबेला धेरैको मन जितेको छ। वि.सं. २०६२ फागुन २८ गते कालीकोटको डिल्लीकोटमा जन्मिएकी विपना सानैदेखि संगीतप्रति विशेष रुचि राख्थिन्। उनका बुवा चित्रसिंह गाउँले आफैँमा एक स्थापित देउडा गायक भएकाले विपनामा पनि वंशानुगत गुणकै रूपमा देउडा गायनको प्रतिभा प्रस्फुटन भयो। 

कक्षा ५ मा अध्ययनरत रहँदा करिब ११ वर्षको उमेरमा जनप्रभात माध्यमिक विद्यालय, शेरावाडाबाट विद्यालयस्तरीय देउडा प्रतियोगितामा सहभागी हुँदै उनले आफ्नो सांगीतिक यात्रा सुरु गरेकी थिइन्। त्यही सानो मञ्च र सीमित दर्शक नै आज उनको बृहत्तर सफलताको आधारशिला बनेको छ।
बाल्यकालमै देखिएको अद्भुत कला र आत्मविश्वासले उनलाई निरन्तर अगाडि बढ्न प्रेरित गर्‍यो। १४ वर्षको उमेरदेखि औपचारिक रूपमा देउडा खेल्न थालेकी विपनाले गाउँका विवाह र मेलापर्वदेखि कर्णालीको राजधानी सुर्खेतस्थित घण्टाघरको खुला मञ्चमा आयोजना हुने पाक्षिक देउडा खेलसम्म आफ्नो प्रतिभा देखाइसकेकी छिन्। 

कालीकोटको महावै गाउँपालिका–६, कुनी गाउँबाट सुरु भएको उनको यो यात्रा क्रमशः जिल्ला र प्रदेश हुँदै राष्ट्रियस्तरसम्म विस्तार भएको छ। हालसम्म उनले तीन सयभन्दा बढी देउडा कार्यक्रममा सहभागिता जनाइसकेकी छिन्। कर्णाली र सुदूरपश्चिम प्रदेशस्तरीय लोकदोहोरी तथा देउडा प्रतियोगिताहरूमा उनले पटक–पटक प्रथम र द्वितीय स्थान हासिल गरेर आफ्नो क्षमता प्रमाणित गरिसकेकी छिन्।

विपनाको प्रतिभा स्थानीय मञ्चहरूमा मात्र सीमित रहेन। साढे दुई वर्षअघि उनले चर्चित टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’ मा सहभागी हुने अवसर पाइन्। उक्त कार्यक्रममा उनले प्रस्तुत गरेको देउडा कलालाई देशभरका दर्शकले अत्यधिक रुचाए। यही एउटा अवसरले उनको जीवनमा ठूलो मोड ल्यायो। त्यसपछि राजधानीका स्थापित कलाकारहरूको नजरमा परेकी उनी अहिले काठमाडौँमै बसेर निरन्तर देउडा र दोहोरी गायनमा सक्रिय छिन्। राजधानीको बसाइले उनको कलालाई अझ परिष्कृत बनाउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चका ढोकाहरू समेत खोलिदिएको छ। उनले हालसम्म २६ वटा आधिकारिक गीतमा स्वर दिइसकेकी छिन् भने तीन सयभन्दा बढी गीतहरूको रेकर्डिङ सम्पन्न भइसकेको छ।

आफ्नो सफलताका बारेमा उनी भन्छिन्, ‘मैले देउडा गाउन सुरु गर्दा यसैमा आफ्नो भविष्य होला भन्ने सोचेकी पनि थिइनँ। तर अहिले मेरो जीवनको जग नै देउडा बनेको छ। कर्णाली र सुदूरपश्चिमका दुर्गम गाउँबस्तीमा देउडा गाउँदागाउँदै अहिले वैदेशिक कार्यक्रमहरूमा समेत पुग्ने अवसर पाएकी छु। मेरा लागि आमाबुवा पछिको भविष्य निर्माण गर्ने विद्या नै यही देउडा हो।’ उनको स्वर र गायन शैलीमा पाइने मौलिकताले दर्शकलाई आफ्नो संस्कृतिसँग पुनः जोड्ने काम गर्छ, जसका कारण उनी सहभागी हुने कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति हुने गरेको छ।null

उनले नेपाली लोकदोहोरी क्षेत्रका प्रख्यात गायकहरू राजु परियार, बद्री पंगेनी, प्रकाश पराजुली र रामजी खाँणसँग मञ्च साझा गरिसकेकी छिन्। त्यसैगरी, देउडा क्षेत्रका हस्तीहरू नेत्रराज शाही, प्रकाश शाह, पुष्पराज आचार्य र शंकर मल्लजस्ता कलाकारहरूसँग पनि उनले देउडा खेलेर आफ्नो पहिचानलाई थप मजबुत बनाएकी छिन्। ‘कर्णाली र सुदूरपश्चिमको भाषा–संस्कृति ओझेलमा परिरहेका बेला महिलालाई अग्रपंक्तिमा ल्याएर देउडा खेल्नु आफैंमा चुनौतीपूर्ण थियो,’ उनी सुनाउँछिन्, ‘समाजमा अझै पनि महिलाको भूमिकालाई सीमित रूपमा हेर्ने सोच छ। रातको समयमा देउडा खेल्न जाँदा सामाजिक आलोचना र जोखिम पनि उत्तिकै हुन्थ्यो। तर, मेरा आमाबुवाको पूर्ण साथले गर्दा नै म आज यो स्थानमा पुग्न सफल भएँ।’

विपनाले देउडालाई केवल मनोरञ्जनको साधनमात्र नभई सन्देश प्रवाहको माध्यमसमेत बनाएकी छिन्। उनका कार्यक्रमहरूमा युवा र विद्यार्थीको आकर्षण बढी हुने भएकाले उनी गीतमार्फत सामाजिक चेतना फैलाउने गर्छिन्। ‘शिक्षामा लगानी गरौं, जाँड खाएर पैसा नमासौँ’ जस्ता सन्देशमूलक गीतले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुर्‍याएका छन्। देउडा र लोकदोहोरीका साथै उनको ‘ठाडी भाका’ पनि उत्तिकै लोकप्रिय छ। ग्रामीण परिवेशबाट संघर्ष गर्दै राष्ट्रियस्तरमा स्थापित हुनु र सामाजिक अवरोधहरू तोडेर अघि बढ्नु विपनाको साहस र समर्पणको उपज हो।

उनी एउटा कलाकारमात्र नभई देउडा संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि सक्रिय अभियन्ता पनि हुन्। देउडालाई ‘कर्णालीको आत्मा’ मान्ने विपना यसको संरक्षणका लागि तीनै तहका सरकारले ठोस नीति ल्याउनुपर्नेमा जोड दिन्छिन्। null

कर्णाली प्रदेश सरकारले साउन १ गतेलाई ‘देउडा दिवस’ घोषणा गरी सार्वजनिक बिदा दिएको कदमलाई उनी सकारात्मक मान्छिन्, तर यसको प्रभावकारी कार्यान्वयन अझै आवश्यक रहेको उनको ठम्याइँ छ। सुदूरपश्चिम प्रदेशले पनि देउडालाई गौरा पर्वमा मात्र सीमित नगरी वर्षभरि प्रवद्र्धन गर्नुपर्ने र स्थानीय तहले विद्यालय तहदेखि नै प्रतियोगिता तथा प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उनको सुझाव छ।

आफ्नो बाँकी जीवन देउडा गायनमै समर्पित गर्ने विपनाको अठोट छ। ‘म देउडाकै लागि जन्मिएकी हुँ जस्तो लाग्छ। बुवाकै प्रेरणाले यो यात्रा सुरु गरेकी हुँ र यसैलाई अन्तिमसम्म निरन्तरता दिनेछु,’ उनी भन्छिन्, ‘नयाँ पुस्तालाई पनि यो क्षेत्रमा भविष्य छ भनेर देखाउनु छ। हरेक मञ्चमा उभिएर गाउँदा मलाई मेरो आवाज मात्र नभई कर्णाली र सुदूरपश्चिमको माटो बोलेको महसुस हुन्छ। पुर्खाले देखाएको यो बाटोलाई न्याय गर्दै भविष्यका युवतीहरूका लागि प्रेरणाको स्रोत बन्ने मेरो लक्ष्य छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.