नेपाली कम्युनिस्ट आन्दोलनको गवेषण

नेपाली कम्युनिस्ट आन्दोलनको गवेषण
सुन्नुहोस्

जनताको विश्वास पुन:  प्राप्त गर्ने एकमात्र उपाय भनेको स्पष्ट विचार, जिम्मेवार व्यवहार र परिणाममुखी शासन हो।

नेपालको कम्युनिस्ट आन्दोलनले विगत सात दशकमा उल्लेखनीय उतारचढावको अनुभव गरेको छ । जनआन्दोलन, सशस्त्र संघर्ष, शान्ति प्रक्रिया, संविधान निर्माण र संसदीय प्रतिस्पर्धा हुँदै आजको अवस्थामा आइपुग्दा यस आन्दोलनले एकातिर ऐतिहासिक उपलब्धिहरू हासिल गरेको छ भने अर्कोतिर गम्भीर अन्तर्विरोध, विखण्डन र जनविश्वासको ह्रास पनि बेहोरेको छ ।

पछिल्लो समयमा देखिएको ‘दुरावस्था’लाई बुझ्न घटनाहरूको शृंखला मात्र पढ्नु पर्याप्त हुँदैन । त्यसका पछाडि रहेका सैद्धान्तिक विचलन, संगठनात्मक कमजोरी र व्यवहारिक राजनीतिका प्रवृत्तिहरूलाई समेत विश्लेषण गर्नुपर्छ । यो लेखमा नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवृत्ति नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित २०७४ को गठबन्धन, पार्टी एकतापछि उत्पन्न अन्तरविरोध पार्टी विभाजन, संसद् विघटन र २०८२ को निर्वाचनपछिको स्थितिसम्मको विश्लेषण छ । 

१. जनादेश र अपेक्षाको द्वन्द्व :  २०७४ को वाम गठबन्धनमार्फत प्राप्त दुईतिहाइ नजिकको जनादेश नेपाली कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक अवसर थियो । यसले स्थिर सरकार, नीतिगत निरन्तरता र समाजवाद उन्मुख रूपान्तरणको सम्भावना खोलिदिएको थियो ।

जनताको अपेक्षा र विश्वास ह्वातै बढेको थियो । सैद्धान्तिक रूपमा हेर्दा जनादेश आफैंमा परिवर्तनको बाटो होइन रहेछ । त्यो केवल सम्भावना हो र जनविश्वास हो । त्यसलाई टिकाउनु र राष्ट्र जनताको पक्षमा काम गर्नु महत्त्वपूर्ण थियो । त्यो विश्वासलाई लत्याउँदै जब राजनीतिक नेतृत्वले ‘ऐतिहासिक अवसर’लाई ‘स्वत:  सिद्ध अधिकार’को रूपमा बुझ्न थाले । एकपटकको जनादेश सधैंका लागि र मेरा लागि भन्ने ग्रन्थीबाट चल्न थाल्यो । त्यहाँबाट समस्याको सुरुवात हुन्छ । यही विन्दुमा जनताको अपेक्षा र नेतृत्वको व्यवहारबीच अन्तर बढ्न थाल्यो । समस्या त्यहीँबाट सुरुवात भएको थियो ।

२. एकताको रूप र सारबीचको अन्तर :  २०७५ जेठ ३ को नेकपा एकतालाई औपचारिक रूपमा ऐतिहासिक एकता भनिए पनि यसको वैचारिक र सांगठानिक आधार कमजोर थियो । माक्र्सवादी परम्परामा एकता केवल संगठनात्मक संरचना होइन, विचार, कार्यक्रम र कार्यदिशाको एकरूपता हो । तर, यहाँ एकता मुख्यत:  नेतृत्वबीचको शक्ति सन्तुलन र सत्ताको बाँडफाँटमा केन्द्रित भयो ।

परिणामत:  ‘रूप’मा एकता देखियो तर ‘सार’मा विभाजन कायम रह्यो । यही अन्तर्विरोधले पछि तीव्र किचलो, गुटबन्दी र अन्तत:  अदलतको फैसलाको जगमा पार्टी पुन:  विभाजनलाई जन्म दियो । पुन:  कम्युनिस्ट आन्दोलनका पक्षपाति जनसमुदाय निराश भए । बिस्तारै जनमत कम्युनिस्ट आन्दोलनको विपक्षमा गयो । आन्दोलनको क्षयिकरणको विन्दु यही शृंखलाबाट सुरु भयो ।

३. सत्ताकेन्द्रीकरण वर्गीय एजेन्डाको क्षय :  कम्युनिस्ट आन्दोलनको मूल आधार वर्गीय राजनीति हो । श्रमजीवी वर्गको पक्षमा नीतिगत हस्तक्षेप भएन । पछिल्लो अवधिमा आन्दोलन क्रमश:  सत्ताकेन्द्रित हुँदै गयो । दलाल, नोकरशाही र बिचौलियामा समर्पित भयो । नेतृत्वको राज्यसत्तामा पहुँचलाई नै राजनीतिक र पार्टीगत उपलब्धि मान्ने प्रवृत्तिले वर्गीय एजेन्डा ओझेलमा पर्‍यो । कम्युनिस्ट पार्टीका मूल एजेन्डा भूमि सुधार, उत्पादन वृद्धि, श्रम अधिकार, सार्वजनिक सेवा, भ्रष्टचार अन्त्य, सुशासन र सामजिक न्यायजस्ता एजेन्डा नारामा सीमित भए । जब सिद्धान्त र व्यवहारबीच खाडल हुन्छ तब आन्दोलनको वैधता कमजोर हुन्छ । जनताहरू आधारभूत रूपमा पार्टीसँग टाढिन्छन् । हामीले अहिले त्यही नतिजा भोग्दैछौं ।

वस्तुनिष्ठ रूपमा हेर्दा नेपाली कम्युनिस्ट पार्टीका लागि मुख्य समस्या सत्तााकेन्द्रितता, वैचारिक अस्पष्टता र संगठनात्मक कमजोरी हो।

४. आन्तरिक लोकतन्त्रको अभाव :  कम्युनिस्ट पार्टीहरूमा ‘जनवादी केन्द्रीयता’ सिद्धान्तको अभ्यास हुन्छ । जसमा खुला बहसपछि एकीकृत निर्णय लागू गरिन्छ । तर, व्यवहारमा बहस सीमित र निर्णय केन्द्रीकृत हुँदा गयो, पार्टीभित्र यो सिद्धान्त दस्ताबेजमा सीमित भयो । नेतृत्व केन्द्रित निर्णय, गुटीय धुवीकरण र असहमतिप्रति असहिष्णुता बढ्दा संगठनभित्रै अविश्वास पैदा हुन्छ । यही कारणले एकतापछि बनेको संरचना टिकाउ हुन सकेन ।

५. संवैधानिक अभ्यासमा संकट :  प्रतिनिधिसभा विघटन २०७७–२०७८ का घटनाहरूले कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिक प्रतिबद्धतामाथि प्रश्न उठायो । संसद् विघटन जस्तो कदमले राजनीतिक संकट समाधान गर्नुको सट्टा झन् गहिरो बनायो । सैद्धान्तिक रूपमा, कम्युनिस्ट आन्दोलनले जनताबाट प्राप्त म्यान्डेटलाई संस्थागत प्रक्रियामार्फत प्रयोग गर्नुपर्छ । तर, जब शक्ति संघर्षले संवैधानिक प्रक्रियालाई ओझेलमा पार्छ, त्यसले जनविश्वासमा प्रत्यक्ष आघात पुर्‍याउँछ । कम्युनिस्ट पार्टीहरू बिशेषत एमालेका यी व्यवहारप्रति पार्टी र नेतृत्वप्रति प्रहार भयो । यो प्रहारलाई नेतृत्वले बेवास्ता गर्‍यो । स्वयं वामपन्थीहरूले यो प्रहार एमालेविरुद्ध हो भनेर बल लगाएर एमालेबिरुद्ध नै जाइलाग्यो । परिणाम सबै वामपन्थी अहिले कर्नरमा परेका छन् । मुलुकले एकपछि अर्को संवैधानिक संकट बेहोर्नुपरेको छ । असंवैधानिक यात्रासँगै पुन:  संविधान लिकमा छ । वर्तमान सरकारको संविधानप्रतिक विश्वासमा राजनीतिक दलले शंकाको दृष्टिले हेरेका छन् । तथापि निर्वाचित सरकार छ ।

६. गठबन्धन राजनीति र वैचारिक अस्पष्टता : नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीचको सहकार्य वा प्रतिस्पर्धा, दुवै अवस्थामा स्पष्ट वैचारिक र नीतिगत ध्रुवीकरण छ । संसदीय अभ्यासमा सत्ता पक्ष र विपक्षबीच सीमा र परिभाषा छन् । त्यो सीमा बाहिर गएर गठबन्धन भयो । संसदीय व्यवस्थामा गठबन्धन अस्वाभाविक होइन । जब गठबन्धन सत्ता स्वार्थ र सत्ताका लागि हुन्छ र साझा कार्यक्रम अस्पष्ट हुन्छ । त्यसले मतदातामा भ्रम पैदा गर्छ । कम्युनिस्ट आन्दोलनको पहिचान नै अस्पष्ट बन्ने खतरा यहीँबाट सुरु हुन्छ । ठूला दलबीच भएको गठबन्धनले जन्माएको अपेक्ष १५ महिनामै धुलिसाथ भयो । भाद्र २३/२४ को विध्वंसमा परिणत भयो । संविधान अपहरण भयो ।

७. जनविश्वासको क्षय र वैकल्पिक खोज : राजनीतिक दलहरूको मूल्यांकन अन्तत:  जनताले गर्ने हो । जब जनताले निरन्तर अस्थिरता, आन्तरिक विवाद र कमजोर शासन देख्छन्, उनीहरूमा पराम्परागत दलप्रति निराश पैदा हुन्छ । जनताले वैकल्पिक शक्ति खोज्न थाल्छन् । पछिल्लो समय देखिएको असन्तोष, वितृष्णा र नयाँ शक्तिप्रति आकर्षण यही प्रक्रियाको परिणाम हो । यो केवल भावनात्मक प्रतिक्रिया होइन; यो राजनीतिक प्रणालीप्रतिको आलोचनात्मक प्रतिक्रिया हो । अब सरकार शासन व्यवस्था कसरी अघि जान्छ ? त्यसैमा जनताको प्रतिक्रिया जाँचिनुपर्छ । यस्तो भाष्य तयार हुँदैछ । अहिले दलहरूले जनताको मुद्दा उठाउँदा वा खबरदारी गरिँदा पूर्वाग्रह हो भनिन्छ । यस्तो भाष्य संविधान र लोकतन्त्रका लागि सुखद नहुन सक्छ । जनतामा अर्को विद्रोह नहोस् भनी कामना गरिनुपर्छ ।

कम्युनिस्ट आन्दोलनको भविष्य यसले आफ्ना सिद्धान्त र व्यवहारबीचको दूरी कति घटाउन सक्छ भन्नेमा निर्भर हुनेछ ।

८. निर्वाचन परिणाम र संगठनात्मक यथार्थ :  २०८२ को निर्वाचनमा कम्युनिस्ट पार्टीप्रति देखिएको कमजोर प्रदर्शन (जस्तो पराजय वा अपेक्षाभन्दा कम सफलता)लाई केवल चुनावी रणनीतिमा सीमित गरेर बुझ्न सकिँदैन । यसको जड संगठनात्मक विखण्डन, वैचारिक अस्पष्टता र जनआधारको क्षयमा खेजिनुपर्छ । आफ्नो आत्मागत स्थितिको मूल्यांकन गरेर अहिलेको निर्वाचन समीक्षा हुँदैन । चुनाव परिणाममात्र लक्षण हो । तर, पार्टीभित्रको रोग गहिरो छ । रोग निको पार्न सामान्य मेडिसिनले पुग्दैन, गम्भीर सल्यक्रिया आवश्यक छ ।

९. सैद्धान्तिक विचलनको प्रश्न : माक्र्सवाद–लेनिनवाद वा अन्य वामपन्थी धाराहरूको मूल उद्देश्य राष्ट्रिय हित, सामाजिक–आर्थिक समानता र शोषणमुक्त समाज समृद्धि निर्माण हो । जब आन्दोलन स्वयंभित्र शक्ति, पद र स्वार्थको द्वन्द्व हावी हुन्छ । त्यसले सैद्धान्तिक विचलनको संकेत गर्छ । विचारधारा केवल घोषणापत्रमा सीमित हुँदा व्यवहारमा त्यसको प्रभाव हराउँछ । आज कम्युनिस्टहरूले सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न चुकेका छन् । कम्युनिस्ट पार्टीप्रतिको जनताको अपेक्षा र विश्वास कमजोर भएको छ । आन्दोलनप्रति भरोसा हुँदाहुँदै मत परिवर्तन गरेर कम्युनिस्ट पारिटीलाई सबक सिकाएका छन् । सच्चिन अनुरोध गरेका छन् । खुलमखुला भन्दैछन्, नीति, नेतृत्व र संगठनमा पुनर्गठन गर तर ढिला नगर ।

१०. पुनरुत्थानको सैद्धान्तिक आधार :  वर्तमान अवस्थाबाट बाहिर निस्कन कम्युनिस्ट आन्दोलनले केही आधारभूत प्रश्नहरूको सामना गर्नुपर्छ– के आन्दोलन अझै वर्गीय राजनीतिमा केन्द्रित छ ? कि केवल सत्तामा सीमित छ ? के संगठनभित्र वास्तविक लोकतन्त्र छ ? के नेतृत्व परिवर्तन र पुस्तान्तरण सम्भव छ ? के जनजीविकाका मुद्दामा ठोस कार्यक्रम छ ? पुनरुत्थानका लागि आवश्यक छ– सैद्धान्तिक स्पष्टता, संगठनात्मक अनुशासन, आन्तरिक लोकतन्त्र र जनतासँग प्रत्यक्ष सम्बन्ध । यसले मात्र आन्दोलनलाई पुन:  विश्वसनीय बनाउन सक्छ ।

निचोडमा, नेपाली कम्युनिस्ट आन्दोलनको पछिल्लो दुरावस्था कुनै एक घटना वा व्यक्तिको परिणाम होइन । यो दीर्घकालीन प्रवृत्तिहरूको सञ्चित परिणाम हो । २०७४ सालको जनादेशले दिएको अवसर, २०७५ को एकताले सिर्जना गरेको सम्भावना र त्यसपछिका विभाजन तथा अस्थिरताले उत्पन्न गरेको निराशा यी सबै एकअर्कासँग जोडिएका छन् । वस्तुनिष्ठ रूपमा हेर्दा, मुख्य समस्या सत्ताकेन्द्रित, वैचारिक अस्पष्टता र संगठनात्मक कमजोरी हो ।

जबसम्म यी आधारभूत समस्याहरू समाधान हुँदैनन्, कुनै पनि चुनावी सफलता वा गठबन्धनले दीर्घकालीन परिवर्तन ल्याउन सक्दैन । अन्तत:  कम्युनिस्ट आन्दोलनको भविष्य यसले आफ्ना सिद्धान्त र व्यवहारबीचको दूरी कति घटाउन सक्छ भन्ने कुरामा निर्भर हुनेछ । जनताको विश्वास पुन:  प्राप्त गर्ने एकमात्र उपाय भनेको स्पष्ट विचार, जिम्मेवार व्यवहार र परिणाममुखी शासन हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.